एकै बस्तीबाट २४ डाक्टर
News Desk
Nov-14 , 2021 तारिख 12:42 बेलुका

विराटनगर — २८ कात्तिक २०७८   

विराटनगर , मुलुकमा चिकित्सा शिक्षा लिन सस्तो र सजिलो छैन । सामान्य आम्दानी भएका कृषक परिवारले खर्चको हिसाब केलाउँदा छोराछोरीलाई चिकित्सक बनाउने कल्पना कमै गर्छन् । छात्रवृत्ति र अन्य सहयोगले पछिल्लो समय दुर्गम क्षेत्रका गाउँबाट पनि फाट्टफुट्ट एमबीबीएस पढ्नेको संख्या बढेको छ । तर, मोरङको बूढीगंगा गाउँपालिकामा एकै बस्तीमा २४ जना चिकित्सक छन् । विराटनगरसँग सिमाना जोडिएको बूढीगंगा–१ को यादव बस्ती पछिल्लो समय ‘डाक्टर टोल’ ले नै चिनिन्छ । गंगाचोकदेखि ठीक पूर्वको यो बस्तीमा करिब एक सय घर यादव समुदायका छन् । गाउँमा यादव समुदायका २३ र अन्य समुदायका १ गरी २४ जना डाक्टर बनेका छन् । तीमध्ये पनि दुई परिवारका सबै जना डाक्टर छन् । धनाढ्य परिवारका छोराछोरी मात्र डाक्टर पढ्छन् भन्ने भनाइलाई यो बस्तीले गलत सावित गरिदिएको छ । यो बस्तीमा चिकित्सा शिक्षा लिएका सबै खेतीकिसानी गर्ने परिवारका हुन् । डाक्टर बनेका चार जनाले त चिकित्सा शिक्षा पढेकैसँग बिहे गरेका छन् । बुहारीसहित बस्तीभरि डाक्टर पढेका २८ जना छन् ।

बस्तीका बाबुप्रसाद यादवका तीन छोरा राजेश, रमेश र अनिल डाक्टर छन् । उनका भाइ शीतल यादव विराटनगरका परिचित फिजिसियन हुन् । शीतलका दुवै छोरा सुशील र सुनिल पनि डाक्टर नै छन् । सुशील–सुनिलकी पत्नी भानुप्रिया र नीतु यादव पनि चिकित्सा पेसामै आबद्ध छन् । यीबाहेक बस्तीमा मुकेश यादव, प्रभाकर यादव, सुमन यादव, विनिता यादव, सुदर्शन यादव, भवेश यादव, सरोज यादव, कुन्दन यादव, रोहित यादव, सुबोध यादव, राजा यादव, अविशेष यादव, नन्दलाल यादवसहित डाक्टर बनिसकेका छन् । बस्तीमा यादव समुदायबाहिर आरती ठाकुर शर्मा चिकित्सक छिन् । यादव बस्तीका पछिल्लो पुस्ता प्रायः सबै शिक्षित र चिकित्सक भएकै कारण पछिल्लो समय पूरै बस्तीको वातावरण नै सुध्रिएको स्थानीय सुबोध कोइरालाको भनाइ छ । ‘यादव परिवारमा छोरालाई डाक्टर बनाउने प्रतिस्पर्धा चल्दा बस्तीमा २४ जना चिकित्सक उत्पादन भए,’ कोइरालाले भने, ‘अहिले यहाँको वातावरण नै फेरिएको छ ।’ उनका अनुसार अहिले पनि उक्त बस्तीका आधा दर्जन बढी युवा चिकित्सा शिक्षा लिइरहेका छन् ।

बाबुप्रसादले एउटा भाइ चिकित्सक बनाएपछि आफ्ना तीन छोरालाई डाक्टर बनाउन साढे ६ बिघा जमिन बिक्री गरेको सुनाए । उनले तिनै जनालाई ‘डोनेसन’ मा पढाएको बताए । तीन छोरामध्ये दुईले बंगलादेश र एकले पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमडी गरेका छन् । उनीहरू यहाँको नोबेल र विराट शिक्षण अस्पतालमा कार्यरत छन् । उनका दुई छोरी छन् । जेठी रेखाको दुवै छोरा विकास र आकाश पनि चिकित्सक छन् । कान्छी छोरी निना यादव वाणिज्य बैंकका कार्यरत छिन् । ‘कान्छो भाइ शीतललाई डाक्टर पढाएपछि वास्ता नै गरेन । त्यसपछि आफ्ना तीन छोरालाई पनि डाक्टर नै बनाउछु भन्ने संकल्प लिएको थिए,’ बाबुप्रसादले भने, ‘अहिले संकल्प पूरा भएको छ ।’ उनले भाइलाई आफ्ना तीन छोरालाई डाक्टर बनाउन नसके जुंगा काटेर हातमा राखिदिन्छु भनेको पनि उनले सुनाए । बाबुप्रसादका भाइ डा. शीतलको परिवारै चिकित्सा पेसामा छ । जेठो छोरा सुशील र कान्छो सुनिलसहित उनीहरूका परिवार पनि चिकित्सक हुन् । उनीहरू आफैले सञ्चालन गरेको विराटनगरको सिटी अस्पतालमा कार्यरत छन् । त्यही टोलका योगेन्द्र यादवले पनि छोरा सरोज यादवलाई १० कट्ठा खेत बिक्री गरेर भए पनि डाक्टर बनाएका छन् ।    

( कान्तिपुर दैनिक )