३९ वर्षदेखि अलैंची बगान सम्हालेका दाखान्डु
News Desk
Nov-14 , 2021 तारिख 12:52 बेलुका

ताप्लेजुङ — २८ कात्तिक २०७८  

ताप्लेजुङ , जान्ने हुँदादेखि भारी बोक्न थालेका फक्ताङलुङ गाउँपालिका–१ का ६८ वर्षीय दाखान्डु शेर्पालाई आफ्नो समुदायको भाग्य, कर्म भनेकै भारी बोकेर खाने हो भनेर अभिभावकले सुनाउँथे । पढ्ने स्कुल, यात्रा गर्ने गाडी नभएको त्यो बेला उनीजस्ता हरेक शेर्पा ढाकर र नाम्लो लिएर भारी बोक्न हिँड्थे । यही क्रममा उनी चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङगोला, याङमादेखि भारतको सीमावर्ती क्षेत्र चिवा भज्याङसम्म पनि पुगे । त्योबेला काम खोज्न भारतको सिक्किम जाने लहर नै थियो । सिक्किम गएर पैसा लिएर फर्कनेलाई अहिले विदेश गएर फर्कने जस्तै मानिन्थ्यो । भारी पाउन समस्या भइरहेको बेला २०३९ सालमा दाखान्डु पनि सिक्किम हानिए । केही समय अलैंची बगानमा काम गरेका उनले त्यहाँका लेप्चाको बगान ठेक्कामा लिन खोजे । लेप्चाले नेपालबाट गएकालाई काम गर्न ठेक्कामा दिन्थे र बाली अधियाँ गरेर लिन्थे । ठेक्कामा लिएपछि नेपालीले गाउँघरमा आएर कामदार लिएर जान पाउँथे । गाउँघरबाट कामदार लानु भनेको गाउँमा सरदार हुनु हो । सरदार हुने उनको सपना पैसाका कारण पूरा हुन सकेन । लेप्चाले १५ हजार सिरानी दिएमात्रै बगान दिने भए । उनीसँग त्यतिका पैसा थिएन । दाखान्डु अलैंचीको बिरुवा बोकेर गाउँ फर्किए ।

बाबुआमाको प्रशस्त जमिन नभएका र आफूले पनि अंश पाइनसकेकाले गाउँका एकजना सुब्बा र कार्की थरका व्यक्तिसँग अलैंची लगाउन प्रस्ताव गरे । जंगल अधियाँमा मागे । सिक्किमबाट बिरुवा नै बोकेर आएकाले उनीहरूले पनि पत्याए र बिरुवा लगाउन अनुमति दिए । शेर्पाले सुब्बाकोमा ५० र कार्कीकोमा ६० झाँग अलैंची लगाए । तत्काल आम्दानी नदिने भएकाले विरुवा स्याहार्दै पुरानै पेसा भारी बोक्न थाले । एउटै बोटले २०/२५ वटासम्म बिरुवा हालेर हुर्कंदै गएपछि जंगल भरिँदै गयो । त्यसपछि भने उनले ढाकर सधैंका लागि बिसाइदिए । अलैंचीको आम्दानीले खान पुग्न थालेपछि गाउँमा एकपछि अर्को बगान लिए र सिक्किममा बन्न नसकेको सरदार गाउँमै बने । गाउँका युवालाई अलैंची टिप्ने, छोडाउने, सुकाउने, सदरमुकामसम्म बोकेर पुर्‍याउने काम दिन थाले । तीन छोरा र दुई छोरीका पिता उनी २०५० सालदेखि छोराछोरीको राम्रो शिक्षाका लागि सदरमुकाम आउजाउ गर्न थाले । सदरमुकाम आउँदा र फर्कंदा नजिकैका अलैंची बगानमा आँखा लगाउँथे ।  

२०५३ सालमा बिर्खबहादुर र कृष्ण गुरुङको बगान तीनमध्ये दुई भाग साहुलाई दिएर एकभाग राख्नुपर्ने (तिंहा) गरी कमाउन दिने भए । त्यही सर्तमा उनले अलैंची बगानमा पानी लगाउन थाले । ५४ सालमा छोराछोरीलाई बोर्डिङ भर्ना गरे । त्यो दिनलाई जीवनको सबैभन्दा खुसीको दिन ठान्ने उनले अहिले पनि अलैंची बगान कमाइरहेका छन् । यतिसम्म कि अहिले अधियाँमै प्रशस्त बगान पाइन्छ तर छोराछोरी पढाउने रहरले गर्दा पाएको बगान पनि तिंहामै कमाइरहेका छन् । उनले आफ्ना पाँचैजना छोराछोरीलाई १२ कक्षासम्म पढाइसकेका छन् । दाखान्डुले भने, ‘अब उनीहरू सबै गरिखान सक्ने भएका छन्, बाबुआमाले पढाएन भन्ने मौका कसैले पाउनेवाला भएन ।’ उनलाई हरेक कदममा श्रीमती ङिमाखान्डु शेर्पाले साथ दिएकी छन् । सदरमुकामको बगानमा वार्षिक ३७ र गाउँमा ३१ मनसम्म अलैंची फलाउने उनले जतिसुकै कम फल्दा पनि २५ र १५ मनभन्दा कम हुन दिएका छैनन् । ३५ जनालाई वर्षमा तीन महिना काम दिएका छन् । बाह्रै महिना सक्रिय हुनुपर्ने बगानमा असोज कात्तिकमा अलैंची टिपेपछि पानी लगाउनुपर्ने उनको अनुभव छ । योबेला मलपानी लगाएपछि चैत वैशाखको खडेरीमा सावधानी अपनाउनुपर्छ । यो बेलाको खडेरीले धेरै बिरुवा मार्ने भएको हुँदा पातले नल छोप्ने, सिँचाइ गर्ने गर्नुपर्छ । मरेको ठाउँमा जेठदेखि साउनसम्म नयाँ बिरुवा रोप्नुपर्छ । पुरानो बोट हटाउँदै नयाँ बिरुवा बढाउँदै लैजानुपर्ने दाखान्डु बताउँछन् ।   

( कान्तिपुर दैनिक )