News Desk
दोलखा — सडक विस्तार अलपत्र पारेको भन्दै दोलखाका अगुवा तथा यात्रुले मन्त्री, सचिव र महानिर्देशकको तस्बिरसहितको ब्यानर सवारीसाधनमा टाँसेर विरोध गरेका छन् । दोलखालाई राजधानीसँग जोड्ने मुख्य लामोसाँघु–जिरी सडकअन्तर्गत मुडे–चरीकोट खण्ड विस्तार ६ वर्षदेखि अलपत्र पारेको भन्दै उनीहरूले विरोध गरेका हुन् । सडक विस्तारका लागि दबाब दिन सार्वजनिक यातायातमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको फोटोसहितको ब्यानर दोलखा–काठमाडौं आउजाउ गर्ने सार्वजनिक यातायातमा टाँस्ने अभियान सुरु गरेको संघर्ष समितिका संयोजक चिरञ्जीवी मास्केले बताए । ‘संघीय राजधानीमा जिम्मेवारी सम्हालेर बसेकाहरूको आँखा र कान खुलोस् भनेर झक्झक्याउन आन्दोलन थालेका हौं,’ मास्केले भने, ‘हाम्रो मागको सुनुवाइ नभए सरकारी सवारीसाधन गुड्न नदिएर अवरोध गर्छौं ।’ सडक विस्तार नभइन्जेल चरणबद्ध आन्दोलन गर्ने उनको चेतावनी छ ।
दुई वर्षमा काम सक्ने गरी जिम्मा लिएको भारतीय निर्माण कम्पनी सकिल हैदर र नेपालको शंकरमाली–सुनौलो खिम्ती जेभीले सडक विस्तार अलपत्र पारेको भन्दै स्थानीय आक्रोशित छन् । निर्माण कम्पनी पटकपटक बेपत्ता भएपछि सडक झनै बिग्रिएको उनीहरूको भनाइ छ । लामोसाँघु जिरी सडकअन्तर्गत दोस्रो खण्डको मुडेदेखि चरीकोटसम्म ३० किलोमिटर सडक २०७२ सालबाट विस्तार सुरु भएको थियो । ठेकेदार कम्पनीले ७९ करोड रुपैयाँमा सडक विस्तारको जिम्मा लिएको थियो । आयोजनामा ६ वर्षमा ६ जना प्रमुख फेरिएका छन् । तर पनि सडकको अवस्था उस्तै छ । पहिलो खण्डको खाडीचौरदेखि मुडेसम्मको २५ किलोमिटर सडक संघर्ष समितीको लगातारको दबाबपछि एक वर्षअघि पूरा भएको थियो । ४ दशकअघि स्विस सरकारको सहयोगमा लामोसाँघु—जिरी सडकको ११० किलोमिटर सडक बनेको हो । सवारी चाप बढ्दै गएपछि भारतीय एक्जिम बैंकको सहयोगमा ७ वर्षअघि सडक सुधार गरी दुई लेन बनाउन सुरु भएको हो ।
( कान्तिपुर दैनिक )