अमेरिका र अस्ट्रेलियाका राजदूत रारा भ्रमणमा
News Desk
Nov-15 , 2021 तारिख 10:45 बिहान

मुगु — २९ कात्तिक २०७८  

मुगु , नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा आएका छन् । बेलायती राजदूत निकोला पोलिट सोमबार रारा आउँदैछन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो । आइतबार काठमाडौंदेखि नेपालगञ्ज हुँदै तारा एयरमा दुबै मुलुकका राजदूत रारा भ्रमणमा आएका हुन् । जिल्लामा जलवायु परिर्वतनले पारेको प्रभावसम्बन्धी अध्ययन गर्न र मुगुमा संचालित गैरसरकारी संस्थामार्फत आफ्नो देशको परियोजना अवलोकन गर्न अमेरिकन र अस्ट्रेलियन राजदूत रारा भ्रमणमा आएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । तीनै मुलुकका राजदूतको यो निजी भ्रमण रहेको प्रजिअ महतले बताए । रारा पुगेका राजदूतद्वयले मुर्मा गाउँमा गएर स्थानीयसँग जलवायु परिवर्तनले पारेको असरबारे सोधपुछ, गुनासा र गैरसरकारी निकायले गरेको कामकाज र प्रभावबारे जानकारी लिनेछन् ।

मुगुका बासिन्दाको दुखेसो जलवायु परिवर्तनको असरबारे बुझ्न र यहाँका रमणीय स्थान रारा र हिमालको अवलोकन गर्न आएको अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्कले बताइन् । सोमबार दोस्रो दिन रारा तालको किनारमा रारा निकुञ्जका कर्मचारी, होटल व्यवसायी, पत्रकार, नागरिक समाजसित जलवायु् परिर्वतनले पारेको असरबारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ । मंगलबार रारा विमानस्थलमा जिल्ला समन्वय समिति संयोजक पूर्णबहादुर रोकाया, छायानाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही र प्रमुख जिल्ला अधिकारी महतसंग जिल्लाको विकास र जलवायु परिवर्तनको असरबारे अन्तरक्रिया गर्ने योजना तय गरिएको छ । सन् २०११ मा ६ देशका राजदूत रारा भ्रमणमा आएका थिए । त्यसपछि यो पटक अमेरिका, बेलायत र अस्ट्रेलियाका राजदूत रारा भ्रमणमा आएको पर्यटन व्यवसायी राजु कार्कीले बताए । राजदूतहरुको यो भ्रमणले पर्यटन क्षेत्रमा टेवा पुग्ने र लगानी भित्रिने आशा पलाएको कार्कीको भनाइ छ ।    

( कान्तिपुर दैनिक )