News Desk
पोखरा/म्याग्दी — २९ कात्तिक २०७८
पोखरा/म्याग्दी, विद्यार्थीलाई माटोबाट विभिन्न आकृति बनाउन सिकाइरहेकी शिक्षक मनदेवी गौचनको फोन एक्कासि बज्यो । उताबाट श्रीमान्ले ‘भाग, भाग’ भनिरहे । कहाँ भाग्ने, किन भाग्ने केही मेसो पाइनन् । तलपट्टि चौरमा विद्यार्थी चिच्याएर भाग्दै गरेको देखिन् । ठूलो गडगडाहट सुनेपछि उनी कक्षा ४ का विद्यार्थीलाई लिएर दौडिन् । भाग्दाभाग्दै एकपल्ट पछाडि फर्किएर हेरिन्, डाँडाबाट विशाल हिमपहिरो विद्यालयतिरै आउँदै थियो । मुस्ताङको थासाङ गाउँपालिकास्थित कोवाङभन्दा आधा घण्टाको दूरीमा छ, नाउरीकोट गाउँ । नाउरीकोटको शिरमा ६ हजार ९ सय २० मिटर उचाइको टुकुचे पिक (मानापाथी हिमाल) छ । हिमालमुनि छिर्लुङ लेकबाट आइतबार हिमपहिरो खसेको हो । हिमपहिरो खस्दा कोवाङको जनआदर्श अमरसिंह माविमा दोस्रो कक्षा चल्दै थियो । कृषिको समेत पढाइ हुने यो विद्यालय ११ कक्षाका विद्यार्थी माटो विज्ञान पढ्दै थिए । ११ः४० बजेतिर बेतोडले हावाहुरी चल्नुका साथै पहाड खसेजस्तै आवाज आएपछि हेर्दा स्थानीयले हिमपहिरो झर्दै गरेको देखेका थिए । त्यसपछि उनीहरूले कोवाङतिरै सोझिएको हिमपहिरो देखेपछि विद्यालयका शिक्षकलाई खबर गरे । शिक्षकले सबै विद्यार्थीलाई कक्षाबाट बाहिर निस्किएर भाग्न भने । शिक्षक र विद्यार्थीको रुवावासी र भागदौडले केही क्षण कोलाहल मच्चिएको थियो ।
मनदेवीले आफ्नै टाउकोमाथि हिमपहिरो आइसकेको जस्तो लागेपछि काँडाघारीको आड लाएर थुचुक्क बसेको सुनाइन् । ‘बम विस्फोट भएजस्तो एकदमै ठूलो आवाज आएको थियो,’ उनले भनिन्, ‘फिल्मतिर मात्रै त्यस्तो देखेकी थिएँ । अब यत्ति नै हो जिन्दगी जस्तो लाग्यो । आजसम्म मात्रै रहेछ बाँच्ने भनेर थचक्क बसें ।’ एकछिनपछि मुखैभरि माटो लिएर एक विद्यार्थी आइन् । उनको आफ्नै छोरी पनि आमा खोज्दै आइपुगिन् । ‘एकछिन बसेको अर्को सर (वीरेन्द्र लामिछाने) आएर झन् मरेजस्तै गरेर लम्पसार परेर पल्टिनुभयो,’ कामेको स्वरमा उनले भनिन्, ‘माथिल्लो कान्लाबाट तल्लो गह्रामा हामफाल्दा उहाँको खुट्टा भाँचिएछ ।’ हिमपहिरो विद्यालयसम्म नआइपुगे पनि माटो मिसिएको पानीको छिटा आइपुगेको उनले बताइन् । कोवाङका ६२ वर्षीय अमृत तुलाचनले यत्तिको ठूलो हिमपहिरो अहिलेसम्म देखेका थिएनन् । धौलागिरि आइसफलमा फाट्टफुट्ट हिमपहिरो खसिरहे पनि आइतबारको भने अहिलेसम्मकै ठूलो भएको उनले सुनाए । भने, ‘ज्वालामुखी निस्किएजस्तो थियो । डाँडै पो खस्यो कि जस्तो लाग्यो ।’ कोवाङकै बबी थकालीको घरको छत हिमपहिरोले ल्याएको माटोले हिलैहिलो भएको छ । हिमपहिरो आएको देखेपछि उनी पनि घरबाट भागिन् । ‘डाँडाकाँडा हिउँमा माटो मिसिएर आयो,’ उनले भनिन्, ‘पहिरो पछिपछि, मान्छे अघिअघि भइयो ।’
हिमपहिरोको बाछिटा मात्रै बस्तीसम्म आएकाले मानवीय क्षति हुन भने पाएन । विद्यालयमा भागदौड मच्चिँदा शिक्षक अनु देशार, वीरेन्द्र लामिछाने र विद्यार्थी अनुशा खत्रीको खुट्टा भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख एवं डीएसपी रामकुमार दानीका अनुसार विद्यार्थी संगम बरुवाल, मिलन पुन, अमृता रोका मगर, सुजिना केसी, अनुस्का विक, स्नेहा किसान, कर्मचारी कोरिसा विक र शिक्षिका सुशीला थापा मगर सामान्य घाइते छन् । उनीहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । हिमपहिरोले कोवाङकी रत्नकुमारी शेरचनको घर भत्काएको छ । हिमपहिरोमा चरन खर्कमा रहेका ४ सय ४६ वटा चौंरी परेको स्थानीयले बताएका छन् । तीमध्ये कति जीवित छन्, कति मरे भन्ने यकिन हुन सकेको छैन । स्थानीय चौंरीपालक कृषक गौतम शेरचनका अनुसार मानापाथी हिमालको फेदीमा पर्ने पड्के, हेपिम, सरे र मूलखर्क चरन खर्कमा कोवाङ निवासी महेन्द्र शेरचनका ४७ वटा, गौतम शेरचनका ४७ वटा, राजेन्द्र तुलाचनका ७० वटा, श्याम तामाङका ४५ वटा, जयराम पुनका २१ वटा र रमेश मगरका ४५ वटा चौंरी र नाउरीकोटका भीमप्रसाद थकालीका ६५ र सकेन्द्र गौचनका ६६ वटा गरी ४ सय ४६ वटा चौंरी छाडिएका थिए ।
शेरचनले भने, ‘सोमबार बिहानै चौंरीको खोजीमा जाने तयारीमा छौं ।’ उनका अनुसार बस्तीमा खास क्षति नगरे पनि बस्तीमाथिको जंगलका बोटबिरुवा भने हिमपहिरोको हावाहुरीले ढलाएको छ । कस्तूरीलगायत वन्यजन्तुलाई असर पुगेको अनुमान छ । नाउरीकोटको माथिल्लो लेकबाट हिमपहिरो खस्दैखस्दै तल आउँदा पहाडको धारमा ठोक्कियो । हिमपहिरो दुईतिर बाँडियो । ठूलो भाग ल्हाङक्यु खोला हुँदै कोवाङतिर सोझियो । अर्को भाग नाउरीकोटपट्टि बोक्सी खोलातिर झर्यो । थासाङ–२ का वडाध्यक्ष नरप्रसाद हिराचनका अनुसार हिमपहिरो बीचबाट विभाजित नभई सोझै आएको भए ठूलो मानवीय क्षति हुन सक्थ्यो । ‘माथिबाट दुईतिर नगएको भए नाउरीकोट, कोवाङ, लार्जुङका बस्तीमा ठूलो क्षति हुने रहेछ,’ उनले भने, ‘भाग्यवश बाँचियो ।’ शिक्षक सन्तोषराज पोखरेलका अनुसार विद्यालयमा १ सय २० विद्यार्थी र २७ कर्मचारी छन् । कृषिको अध्यापन हुने भएकाले छात्रावास पनि छ ।
हिमपहिरोपछि भने विद्यार्थी त्रसित छन् । ‘फेरि पहिरो खस्ने डरले विद्यार्थी राख्न सकिएको छैन,’ उनले भने, ‘केही दिनका लागि अर्को बासस्थानको खोजी भइरहेको छ ।’ नाउरीकोट र कोवाङका बासिन्दा पनि डरले समूह बनाएर बसिरहेको वडाध्यक्ष हिराचनले सुनाए । ल्हाङक्यु र बोक्सी खोलाको मुहानमा हिउँ थुप्रिएकाले खोला केही थुनिएको स्थानीयले बताएका छन् । ‘ल्हाङक्यु र बोक्सी खोलामा पानीको सतह घटेको छ । बगेको पानी पनि बाक्लो लेदो जस्तो छ,’ नाउरीकोटका सकेन्द्र गौचनले भने, ‘हिउँले थुनिएका खोलामा एक्कासि बाढी आए तल बस्तीमा पस्ला कि भन्ने डर छ ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख राजकुमार गुरुङका अनुसार २०५३/५४ मा समेत धौलागिरि आइसफल र टुकुचे पिकको बीचमा हिमपहिरो खसेको थियो । उनी त्यति बेला रेञ्जरका रूपमा मुस्ताङमा कार्यरत थिए । हिमपहिरोमा परी दुई जना स्थानीयले ज्यान गुमाएको उनले बताए । ‘अहिलेको जति ठूलो होइन होला तर त्यतिबेला हिमपहिरोले बोक्सी खोला धेरै लामो समय थुनिएको थियो,’ उनले भने, ‘पशु, चौपायालाई पनि क्षति पुर्याएको थियो ।’
‘प्राकृतिक घटना मात्रै हो’
– रिजनभक्त कायस्थ, हिमनदी विज्ञ, त्रिभुवन विश्वविद्यालय
यस वर्ष मनसुनमा पहाडमा धेरै पानी पर्यो । हिमपात धेरै भयो । हिमाली भेगमा धेरै हिउँ थुप्रियो । अहिले पारिलो घाम लागेर न्यानो हुन थालेपछि जमेको हिउँको माथिल्लो भाग पग्लिँदै गयो । माथिल्लो तहको पानी पग्लिएर हिउँको भित्रभित्रै पस्छ । भित्र पसेको पानी कतैबाट बाहिर निस्कन्छ । त्यही पानी निस्किएको भन्दा माथिल्लो भाग चोइटिएर पहिरोका रूपमा खस्छ । पानी पग्लेर फेदसम्म पुग्यो भने कत्ति पनि हिउँ नरहने गरी पत्थर नै देखिएर हिमपहिरो खस्छ । ३० डिग्रीभन्दा बढी भिरालो जमिनले हिउँको भार थेग्न सक्दैन । हिमाली भेगमा यस्तो धेरै भइरहन्छ । यो प्राकृतिक घटना हो । यसलाई जलवायु परिवर्तनसँग जोड्न मिल्दैन । सन् १९९६ नोभेम्बरमै खुम्बुको गोक्यो क्षेत्रमा हिमपहिरो जाँदा ४२ जनाले ज्यान गुमाएका थिए । बरु हिमपात धेरै भएपछि हिमाली क्षेत्रको नजिकका बस्ती चनाखो रहनुपर्छ ।
( कान्तिपुर दैनिक )