News Desk
प्रोक, गोरखा — २९ कात्तिक २०७८
प्रोक, गोरखा, उत्तरी गोरखामा उत्पादित स्याउ बिक्रीका लागि हेलिकोप्टरमार्फत बजार पुर्याइएको छ । गत वर्षबाट चुमनुब्री गाउँपालिका–४ प्रोकस्थित पोरमा व्यावसायिक स्याउ खेती सुरु गरिएको थियो । बिरुवा रोपेको एक वर्षमै स्याउ उत्पादन भएपछि स्थानीय उत्साहित छन् । ४ हजार ३ सय ७० बिरुवाबाट यस वर्ष झन्डै १० हजार किलो स्याउ उत्पादन भएको चुमनुब्री स्याउ ब्लक समूहका अध्यक्ष लाक्पाडुन्डुप लामाले बताए । ‘हेलिकोप्टरमार्फत चार टिपमा दुई हजार किलो स्याउ बिक्रीका लागि काठमाडौं पठायौं,’ उनले भने, ‘ढुवानीमा मात्र प्रतिकिलो ५० देखि ६० रुपैयाँ खर्च भएको छ ।’ काठमाडौंका व्यापारीलाई प्रतिकिलो ३ सय ५० रुपैयाँमा स्याउ विक्री गरिएको उनले जानकारी दिए ।
पर्यटक, स्थानीय वा अन्य कामविशेषले आएका हेलिकोप्टरलाई अनुरोध गरी स्याउ काठमाडौं पुर्याइएको लामाले बताए । ‘नजिक बजार छैन, उत्पादन सुरु भएपछि विक्री गर्नैपर्यो,’ उनले भने । सदरमुकामबाट झन्डै चार दिनको पैदल यात्रापछि प्रोक गाउँ पुगिन्छ । सडक यातायातको पहुँच नरहेको उक्त क्षेत्रमा उत्पादित स्याउ खच्चडमार्फत बजार झार्दा बिग्रने चिन्ता भएपछि हेलिकोप्टरबाट बजार पुर्याइएको लामाले जानकारी दिए । उत्पादित स्याउ ढुवानीमै समस्या थापिएको लामा बताउँछन् । बजारीकरण सजिलो भए स्याउ खेती गर्नेको संख्या अझै बढ्ने उनको भनाइ छ । ढुवानी समस्याले बजार नपुगेको स्याउको सुकुटी बनाइएको लामाले जानकारी दिए । ‘गाउँमै मेसिन ल्याएर तीन हजार किलो स्याउको सुकुटी बनाएका छौं । प्याकिङ गरेर राखेपछि जहिले बिक्री गर्दा पनि भयो,’ उनले भने । सुकाएर राखेको स्याउको ५० र एक सय ग्रामको छुट्टाछुट्टै प्याकिङ गरेर मूल्य तोकिएको लामाले बताए ।
एक सय ग्रामको ७ सय र ५० ग्रामको तीन सयका दरले सुकाएर राखेको स्याउ बिक्री भएको छ । मनास्लु पदमार्गमा आएका विदेशी र स्वदेशी पर्यटकलाई पनि लामाले उत्तरी गोरखाको स्याउको स्वाद चखाएका छन् । ‘खुद्रा प्रतिकिलो ३५० र होलसेल प्रतिकिलो २५० रुपैयाँका दरले गाउँमै पनि स्याउ बिक्री भएको छ,’ उनले भने । पोरमा इटालीबाट ल्याइएको उन्नत जातको स्याउका बिरुवा लगाइएको हो । ‘पाँच प्रजातिका स्याउ लगाएका थियौं,’ लामाले भने । गोल्डेन, फुजी, घाला, रेड डेलिसियस र किङ रेड डेलिसियस जातको स्याउ खेती गरेको उनले बताए । लामाको स्याउ ब्लकमा आठ जनाले रोजगारी पनि पाएका छन् । ‘स्याउको स्वाद मीठो छ, खरिद गर्नेले पनि स्याउ मन पराएका छन्,’ स्याउ फर्ममा कार्यरत कर्मा लामाले भने । यस क्षेत्रमा यसअघि पनि फाटफुट स्याउ उत्पादन हुन्थ्यो । केही वर्षयता स्थानीयको घरमा उत्पादित स्याउ मनास्लु पदमार्गमा यात्रा गर्ने पर्यटकलाई बिक्री गर्न थालिएको स्यो गाउँका मिङ्मा लामाले बताए ।
( कान्तिपुर दैनिक )