News Desk
जनकपुर — पटक–पटक मिति तोकिँदै सर्दै आएको कांग्रेसको वडा अधिवेशनमा प्रदेश २ मा अझै किचलो देखिएको छ । विवादकै कारण सर्लाही, बारा र पर्साको अधिवेशन रोकिएको छ । अन्य जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट र पर्सामा भने अधिवेशन थालिए पनि धेरैजसो वडामा विवादकै कारण नेतृत्व चयन हुन सकेको छैन । प्रदेश २ मा वडा अधिवेशन सक्न शनिबार र आइतबार समय तोकिए पनि किचलोकै कारण धेरैजसो वडाको अधिवेशन लम्बिएको हो । वडा अधिवेशन सकिएका वडाहरूमा भने देउवा र निधि पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
गुटगत राजनीतिको प्रभावका कारण सहमति नहुँदा प्रदेशका अधिकांश वडामा अधिवेशनको समय लम्बिएको छ । प्रदेशका धेरैजसो वडामा देउवा, निधि र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा देखिएको छ । क्रियाशील सदस्यता विवाद टुंगिए पनि एउटै वडामा सबैजसो गुटका उम्मेदवार हुँदा सहमतिभन्दा पनि मतदान प्रक्रियाबाटै वडा अधिवेशन टुंग्याउनुपर्ने स्थिति छ । धनुषाको केही वडामा सहमति नहुँदा सोमबार मतदान गरिने भएको छ । धनुषाको १ सय ६९ वडामध्ये अधिकांश वडामा आइतबार नै अधिवेशन सुरु भएको निर्वाचन समितिका सचिवालय सदस्य रामगुलास कर्णले जानकारी दिए । उनका अनुसार विवादका कारण रोकिएको वडाको अधिवेशन पनि सोमबार नै सकिने छ ।
बारामा आइतबार हुने भनिएको कांग्रेस वडा अधिवेशन स्थगित भएको छ । अधिवेशनमा एक पक्षले सम्बिन्धत वडाकै शिक्षकलाई मतदान अधिकृत बनाउनुपर्ने र अर्को पक्षले जिल्लाको कुनै पनि ठाउँको मतदान अधिकृत बनाउन सकिने अडानमा विवाद छ । त्यसकै कारण वडा अधिवेशन एक दिनपछि सारिएको छ । बारामा २९ गते सोमबार वडा अधिवेशन गरिने छ । सप्तरीका भने अधिकांश वडामा कांग्रेसको वडा अधिवेशन सकिएको छ । सप्तरीमा कुल १ सय ६४ वटा वडा छ । तीमध्ये आइतबार दिउँसोसम्म दुई दर्जनबाहेक अन्य सबैमा नेतृत्व चयन भएको र अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको सप्तरी कांग्रेसका जिल्ला निर्वाचन अधिकृत डा. रुद्र शर्माले बताए । ‘केही वडामा प्राविधिक समस्याका कारण नेतृत्व चयन हुन सकेको छैन । समस्या समाधान गर्ने प्रयासमा छौं,’ शर्माले भने ।
हालसम्म चयन भएका वडाको नेतृत्व र क्षेत्रीय प्रतिनिधिमा देउवा–निधि समूहको वर्चस्व देखिएको छ । तर एक्लाएक्लै कुन समूहको स्थिति बलियो छ भनेर छुट्याउन कठिन रहेको कांग्रेसका नेताले बताए । शनिबारसम्म सक्नुपर्ने कांग्रेसको वडा अधिवेशन महोत्तरीमा पनि विवादकै कारण लम्बिएको छ । नेतृत्व चयनमा विवाद भएपछि आइतबार पनि कांग्रेसको वडा अधिवेशन सकिएन । महोत्तरीका १ सय ३८ वडामध्ये २० वटा वडामा विवाद कायमै रहेको कांग्रेस महोत्तरीले जनाएको छ । कडा प्रतिस्पर्धाबीच नेतृत्व चयनमा कुरा नमिलेपछि शनिबार नै सबै वडाको अधिवेशन नसकिएको कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले बताए ।
शनिबार विवाद टुंगिन नसकेका वडामा आइतबार विवाद सुल्झाउन नेताहरूले हरसम्भव प्रयास गरे पनि केही वडामा विवाद कायमै रहेको कांग्रेस महोत्तरीले जनाएको छ । छलफल र सहमतिबाट विवाद नसल्टिने भएपछि ५ वटा वडामा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अवस्था आएको सभापति यादवले बताए । महोत्तरीमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र विमलेन्द्र निधि गरी कांग्रेस ३ पक्षमा देखिएका छन् । देउवा र पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । निधि पक्षको पनि महोत्तरीमा राम्रै प्रभाव देखिएको छ ।पर्सामा भने शनिबारका लागि तोकिएको वडा अधिवेशन प्राविधिक कारणले अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ । पर्साका निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जारी गरेको सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित गरिएको जनाइएको छ । रौतहटका १८ वटा स्थानीय तहको सबै वडामा आइतबार नै अधिवेशन सकिएको छ ।
सर्लाहीमा निर्वाचन अधिकृत बस्ने विषयमै विवाद
सर्लाही– सर्लाहीमा कांग्रेसको निर्वाचन अधिकृत राख्ने विषयमा विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले निर्वाचन अधिकृत र सचिवालय चलाउनका लागि व्यवस्थापन गरेको स्थानप्रति इतर समूहले विरोध जनाएको हो । निर्वाचन अधिकृतले बोलाएको दुईपक्षीय भेलामा समेत इतर पक्ष सहभागी भएनन् । सभापति नागेन्द्र रायले सदरमुकाम मलंगवास्थित कुसुम पार्टी प्यालेसमा निर्वाचन अधिकृतसहित सचिवालय चलाउन व्यवस्थापन मिलाएका थिए ।
तर इतर पक्षका लक्ष्मण रायले सभापति निकट होटेल भएकाले त्यसमा निर्वाचन अधिकृत बस्न नहुने भन्दै निर्वाचन प्रक्रियामै सहभागी नहुने बताए । उनीहरूले सभापति निकट होटेलबाहेक अन्य स्थानमा बसे सम्पूर्ण सहयोग रहने जनाएका छन् । कांग्रेसको वडा, पालिका र जिल्ला निर्वाचनका लागि शनिबारका लागि तोकेको निर्वाचन तत्कालीन निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिएपछि आइतबार पुनः निर्वाचन गराउनका लागि दिवाकर पाण्डेलाई जिम्मेवारी दिइएको छ ।
( कान्तिपुर दैनिक )