News Desk
रुकुम पूर्व — कडा चट्टानसहितको पहरा नहुँदो हो त देउखोला–जामाबागर पैदलयात्रा गर्नेले यतिबेलासम्म गाडीको सुविधा पाइसक्थे । कडा पहराले गर्दा सडक निर्माण हुन नसक्दा सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकाका बासिन्दाले दुःख पाइरहेका छन् । पुथाउत्तरगंगा गाउँपालिका–१४ को देउखोलादेखि कडा चट्टान भएकै कारण सडक निर्माणले गति लिन सकेको छैन । चार वर्षअघि देउखोलासम्म गाडी पुगेको थियो । देउखोलाभन्दा अघि निर्माण थालिए पनि प्रगति हुन सकेको छैन । पहरा भएकै कारण सडक निर्माण अघि नबढ्दा सर्वसाधारण पैदलै हिँड्न बाध्य छन् भने अरू सरसामग्री पनि पिठ्युँमा बोकेर ओसार्नु परिरहेको छ । ‘देउखोलासम्म सडक पुगेको पनि चार वर्ष पुग्यो । यतिबेला जामा बगरसम्मै सडक पुग्नुपर्ने हो,’ स्थानीय व्यापारी प्रेमबहादुर बुढाले भने, ‘तर, सडक निर्माणले गति लिएकै छैन ।’
सडक कालोपत्र गर्ने गरी ठेक्का पनि लागेको हो तर कडा चट्टान भएकै कारण सडक निर्माण अघि बढेको छैन । सडक निर्माणको जिम्मा लिएको पीएच/शंकरमाली निर्माण सेवा पनि लामो समयदेखि सम्पर्कविहीन छ । केही समय सडक निर्माणका लागि प्रयास गरेको ठेकेदार कम्पनी एक वर्षदेखि सम्पर्कविहीन छ । पहरा फोड्न केही ठाउँमा ब्लास्टिङ पनि गरियो । तर, त्यतिले सडक निर्माणले गति लिएन । ११.६ किलोमिटर सडक निर्माणमा खासै प्रगति भएको छैन । मुख्य कारण चट्टान नै भएको भनाइ बुढाको छ । सडक बनेपछि सिस्ने गाउँपालिकाका–१ र २ तथा पुथाउत्तरगंगा गाउँपालिकाका–६ का सर्वसाधारण लाभान्वित हुन्थे । सडक निर्माणका लागि माटो भएका क्षेत्रमा खनिसकिएको छ । पहरा र चट्टान भएको ठाउँ बाँकी छ । काम सुरु हुने बित्तिकै उत्साहित भएका सर्वसाधारण अब निराश छन् ।
सिस्ने गाउँपालिका–२ का काशीराम खड्काले सडक निर्माण हुन नसक्दा समस्या भएको बताए । सुरुमा सडक बन्ने भयो भनेर उत्साहित बने पनि सडक निर्माणमा खासै प्रगति नभएपछि अब थप काम हुन्छ भन्ने आशा मारिसकेको खड्काको भनाइ छ । सडक निर्माण नभएपछि सर्वसाधारण सानो र साँघुरो बाटोमा हिँड्न बाध्य छन् । बाटोमा दैनिक मान्छेका साथै घोडा, खच्चड पनि आवतजावत गर्छन् । बालुवा–नायगाड–जामाबगर–त्रिवेणी सडकअन्तर्गत देउखोला–नायगाड–जामा खण्डको ११.६ किलोमिटरमध्ये झन्डै तीन किलोमिटर क्षेत्रमा विस्फोटमार्फत सडक निर्माण गर्नुपर्ने थियो । तर, त्यो सम्भव भएको छैन ।
सडक निर्माणको सुरुवात खण्डमै चट्टान परेपछि समस्या भएको हो । सम्झौता अनुसार पहिलो वर्षमा ट्र्याक खोल्ने र ग्राबेल गर्ने तथा अर्को वर्ष कालोपत्र गर्ने भनिएको छ । आस्फाल्ट कंक्रिट अर्थात् ३० एमएम बाक्लो पिच गर्ने गरी सम्झौता भएको छ । २०७५ सालको असोज पहिलो साताबाट सडक निर्माणका आधारभूत काम थालिएको थियो । नियमित काम भएको भए यो सडक यतिबेलासम्म निर्माण भइसक्नुपर्ने थियो । तर, कामको प्रगति भने निकै कम छ । पटक–पटक जिल्ला प्रशासन कार्यालयले पनि कामको अनुगमन गर्ने गरेको छ तर कामको प्रगति भइरहेको छैन । सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र बुढा क्षत्रीले केही समयदेखि त्यो साइडमा काम नभइरहेको पाइएको जानकारी दिए ।
( कान्तिपुर दैनिक )