News Desk
चितवन — ३० कात्तिक २०७८
चितवन , भारतको सिक्किममा अंग्रेजी पढाउने एसोसिएट प्रोफेसर डा. शोभा शर्मा साहित्यकार नीलम कार्की निहारिकाका कृतिहरू किन्न निकै इच्छुक थिइन् । ‘अनलाइनहरूमा उहाँका रचनाको समीक्षा पढ्दा नै कृतिहरू, रचनाहरू पढूँपढूँ लागेको हो । तर सिक्किमका बुक स्टलमा मात्रै नभएर किताब बेच्ने अनलाइन प्लेटफर्ममा पनि किन्न पाइएन,’ शर्माले भनिन् । कविडाँडा साहित्य समाजले आयोजना गरेको नेपाल–भारत साहित्य उत्सवमा भाग लिन उनी सिक्किम, दार्जिलिङ र असमका नेपालभाषी साहित्यकारहरूसँगै चितवनको सौराहा आइन् । कार्यक्रम स्थलमा किताबहरू बिक्रीका लागि राखिएका थिए । किताब बेच्न बसेका लेखाराम सापकोटासँग हत्त न पत्त नीलमका कृतिहरू भए नभएको उनले सोधीखोजी गरिन् । लेखारामले ‘छ’ भनेपछि उनी निकै हर्षित देखिइन् । संयोगवश साहित्यकार नीलम पनि सोही कार्यक्रममा सहभागी हुन आएकी थिइन् । लेखारामले किताब मात्रै हैन लेखकको हस्ताक्षर नै पाइने बताएपछि डा. शर्मा झनै खुसी भइन् । ‘योगमाया’, ‘चीरहरण’, ‘४३ कथा’ र ‘द्रौपदी अवशेष’ किनेकी डा. शोभाका अगाडि उभिएर लेखक नीलमले पुस्तकहरूमा धमाधम हस्ताक्षर गर्न थालिन् । पढ्नका लागि खोजी रहेको कृतिसँगै लेखक नै भेट्न पाउँदा उनी दंग थिइन् ।
‘यी किताबहरू उता सिक्किममा कहाँ कहाँ खोजिन् ? बुक स्टलमा भेट्न नसकेपछि अमेजन, फ्लिपकार्टजस्ता अनलाइन प्लेटफर्ममा पनि हेरें । भारतीय र अंग्रेजी भाषाका किताब त्यहाँबाट किन्न पाइन्छ तर नेपाली किताब राखेको रहेनछ । आज नेपालमा नै आएका बेला बल्ल किन्न पाइयो,’ शर्माले सुनाइन् । नेपालमा प्रकाशित साहित्यिक कृतिहरू सजिलै उत्तर भारतमा नजाने विषय दुई दिन चलेको ‘साहित्य उत्सव’ मा पनि चर्चाको विषय बन्यो ।उद्घाटन कार्यक्रमका की नोट स्पिकर साहित्यकार महेश पौड्यालले नै यो विषय उठान गरे । भारतबाट किताबहरू सजिलै आउने गरेको तर नेपालबाट भारत जान गाह्रो हुने गरेको उनले बताए । ‘यसका लागि के कसरी हुन्छ सरकारी निकाय र नीति निर्मातासम्म आवाज पुर्याउन आवश्यक छ । प्रज्ञा प्रतिष्ठानले नै पहल गर्नुपर्छ । नभए हामी लेखक, साहित्यकारहरू नै जुटौं । अभियान नै चलाउँ,’ पौड्यालले भनेका थिए । नेपालबाट किताब भारत जाँदा अन्य वस्तुसरह भन्सार तिर्नुपर्छ । ‘त्यसरी भन्सार तिरेर लैजाँदा महँगो पर्ने भएका कारण उता बिक्री हुन नसक्ने भएपछि प्रकाशकहरूले नपठाएका हुन् कि,’ उनले भने । दार्जिलिङकी स्रष्टा रेमिका थापाले नेपालबाट किताबहरू भारत लैजान कानुनी असुविधाहरू रहेको बताउँछिन् । व्यक्तिगत अभिरुचिले मात्र किताब जाने गरेको उनले बताइन् ।
भारत सिलिगुडीका युवा सर्जक राजा पुनियानी र नेपालका युवा साहित्यकार भूपिन नजिकका साथी हुन् । ‘भूपिनको किताब मैदारो किन्न म यही नेपालमा यो कार्यक्रममा आउनुपर्यो । भन्सार तिरेर लैजान नपाइने हैन । तर किताब लैजान सहज छैन,’ पुनियानीले भने । यो समस्या हटाउन नेपाल र भारतका ठूला प्रकाशकहरू मिलेर नीतिगत सुधारका लागि पहल गर्नुपर्ने उनले बताए । भारत असमकी डा.सरिता शर्मा पनि अनलाइन न्युजहरूमा आएको समीक्षा पढ्दा नेपाली साहित्य राम्रो हुँदै गएको अनुभव हुने गरे पनि पुस्तकहरू पढ्न नेपाल नै आउनुपर्ने अवस्था रहेको बताउँछिन् । सिक्किमको नेपाली साहित्य परिषद्का प्रचार सचिव रहेका बियाड युवा साहित्य संस्थानका अध्यक्ष युवा बराल नेपाली साहित्यले नै नेपालका नेपाली र भारतका नेपालीभाषीहरूलाई एउटै धारमा बगाएको बताउँछन् । ‘तर किताबहरू सजिलै जान सकेका छैनन् । पुराना साहित्यकारहरूको रचनाहरू त पाठ्यक्रममा पनि छन् । तर नयाँ साहित्यकारहरूका कृतिहरू पाउन गाह्रो छ । यो अवस्था दुःखद हो । भन्सार नीति सहज भए धेरैभन्दा धेरै कृति भारत पुग्थे । त्यहाँ नेपाली बोल्नेहरू थुप्रै छन् । उनीहरूले पढ्थे,’ बरालले भने । नेपालको प्रज्ञा प्रतिष्ठानले र भारतको साहित्य अकादमीले पहल गरे नीतिगत सुधार हुन सक्ने उनको धारणा छ ।
( कान्तिपुर दैनिक )