News Desk
छिन्ताङ,धनकुटा — १ मंसिर २०७८
छिन्ताङ,धनकुटा, छिन्ताङमा मंगलबार आयोजित सहिद स्मृतिसभामा प्रमुख अतिथि थिए, पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली । आयोजक एमालेका जिल्लाभरका नेता–कार्यकर्ता रहेको सभामा आकर्षणको केन्द्रमा थिए, विवादित मेडिकल व्यवसायी दुर्गा प्रसार्इं । पोसाक र दौडधुपमा मात्र होइन उनको भाषणमा पनि सहभागीले उत्तिकै चासो राखेका थिए । एमाले धनकुटा जिल्ला कमिटीले गरेको कार्यक्रममा निर्धारित समयभन्दा दुई घण्टा ढिला आइपुगेका ओलीलाई हेलिकोप्टरबाट झर्नेबित्तिकै स्वागत गर्ने व्यक्ति तिनै झापा निवासी प्रसाईं थिए । उनले ओलीको प्रतीक्षामा १ घण्टा बढी समय हेलिप्याड नजिक बिताएका थिए । काठमाडौंबाट आएका ओलीसँगै एमाले नेताहरू सुवास नेम्वाङ, रामबहादुर थापा र शंकर पोखरेल ओर्लिएका थिए । प्रसाईं भने अघिल्लो दिन धनकुटाको हिले बसेर मंगलबार बिहान छिन्ताङ पुगेका थिए ।
कार्यक्रम स्थल हेलिप्याडबाट झन्डै दुई किलोमिटर टाढा थियो । कार्यक्रमस्थलसम्म ओलीलाई ल्याउन प्रसाईंले आफू चढ्ने गाडीको व्यवस्था गरेका थिए । अन्य नेताका लागि पनि उनैले गाडीको प्रबन्ध मिलाएका थिए । पार्कमा सहिदहरूलाई माल्यार्पण गरेपछि ओली कार्यक्रमस्थलमा फर्किए । कार्यक्रमस्थलमा प्रवेश गर्दा ओलीको अघि थिए, प्रसाईं । प्रसाईंको पोसाक सेतो सुट र सेतै इस्टकोटमा पनि सबैको नजर थियो । ओली कार्यक्रमस्थलमा प्रवेश गरेपछि सांसद राजेन्द्र राईले अध्यक्षता गर्दै सुरुमा छोटो मन्तव्य राखे । प्रमुख अतिथि र विशिष्ट अतिथिपछि सञ्चालकले प्रसाईंलाई अतिथिका रूपमा आसन ग्रहण गराए । सञ्चालकले उनलाई प्रदेश १ का मेडिकल व्यवसायी तथा एमाले नेताका रूपमा चिनाएका थिए । आसन ग्रहणपछि सञ्चालकले छोटो मन्तव्य राख्न भन्दै पहिलो वक्ताका रूपमा प्रसाईंलाई आमन्त्रण गरे । लिखित भाषण गरेका उनले आफूलाई राजनीतिक समझ भएको व्यक्तिका रूपमा प्रस्तुत गर्न चाहेको देखिन्थ्यो ।
उनले ओलीकै शैलीमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतलाई आक्रमण गरे । सुरुमै उनले पार्टी एकीकरणका लागि आफूले खेलेको भूमिकाको व्याख्या गरे । ‘दुईवटा कम्युनिस्ट पार्टीका अध्यक्षलाई पार्टी एकीकरणका लागि बडो शुभेच्छाका साथ आफ्नै निवासमा राखेर जस्तो सकिन्छ त्यस्तो भूमिका खेल्ने मान्छे हुँ म,’ उनले भनेका थिए, ‘प्रचण्ड भन्ने मान्छेलाई कहिल्यै देख्दै नदेखी उनका लागि सैनिक हिरासत बस्न र जीवन दिन तयार भएर बसेको मान्छे हुँ म कुनै बेला । तर, आज मलाई दुःख लाग्छ– प्रचण्ड कहाँ पुगे ।’ त्यसपछि उनी खोकु–छिन्ताङ हत्याकाण्डका बारेमा प्रवेश गरे । ‘खोकु–छिन्ताङ हत्याकाण्ड कसले मच्चायो ? सूर्यबहादुर थापाहरूले मच्चाएको होइन ?’ प्रसार्इंले यसो भन्दै गर्दा ताली र हुटिङ भएको थियो ।
उनले ‘सूर्यबहादुरको राजनीतिक लिगेसी बोकेका उनका छोरा सुनिलबहादुर थापा अहिले नेपाली कांग्रेसमा हुनुहुन्छ’ भन्दा पनि दर्शकदीर्घाबाट हुटिङ भएको थियो । प्रसाईंले समाजवादको व्याख्या पनि गर्न भ्याए । माओवादी केन्द्रका अध्यक्ष दाहालबारे प्रसाईंले विश्लेषण सुनाए, ‘प्रचण्डलाई नजिकबाट चिनेको छु । म दाबीका साथ भन्न सक्छु– प्रचण्डलाई शेरबहादुर देउवाको हैसियतभन्दा ठीकमुनि दियो भने उनी तुरुन्तै चारतारे झन्डा लगाउन तयार हुनेवाला छन् ।’ उनले करिब १५ मिनेट भाषण गर्दा सहभागीले पटक–पटक ताली बजाएका थिए । मञ्चमा नेम्वाङ र थापा मुस्कुराउँदै कानेखुसी गर्थे । ओली पनि बेला मुसुमुसु हाँस्थे । सञ्चालकले बीचबीचमा भाषण छोट्याउन आग्रह गरे पनि प्रसाईं थामिएनन् । लामो भाषणपछि अध्यक्षता गरेका राईले उनलाई सक्न आग्रह गरे । मञ्चमा हल्लीखल्ली भयो तर ओलीले हातले अरूलाई रोके । प्रसाईंले ‘अब मेरो दुई पन्ना छ, त्यसो भए म लास्टमा गएँ’ भन्दा हाँसो गुन्जिएको थियो ।
( कान्तिपुर दैनिक )