छिन्ताङको घाउ : आफन्तलाई दुख्यो, नेतालाई दुखेन
News Desk
Nov-17 , 2021 तारिख 12:48 बेलुका

छिन्ताङ, धनकुटा — १ मंसिर २०७८    

छिन्ताङ, धनकुटा, धनकुटाको सहिदभूमि गाउँपालिकाअन्तर्गत छिन्ताङको पञ्चकन्यामा सहिदको स्मृतिमा पार्क र सालिक छन् । लाग्छ– ती सालिक राजनीतिक इतिहासका विरासत हुन्, तर राजनीतिक नेतृत्वका लागि चुनावका बुख्याँचा । एमालेका तत्कालीन नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललगायतले यहाँ पुगेर सहिद परिवारलाई धेरै आश्वासन दिइसकेका थिए । यसपालि पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि बने । हेलिकोप्टरमा आइपुगेका ओलीले सुरुमा सहिदको सालिकमा माल्यार्पण गरे र आश्वासन बाँडेर हिँडे । निरंकुशताविरुद्ध आवाज उठाएबापत तत्कालीन पञ्चायती शासकले २०३६ सालमा यहाँ १६ जनालाई मारेको थियो । यसैको सम्झनामा बर्सेनि कात्तिक २९ गते ‘सहिद स्मृति दिवस’ मनाइन्छ । यस पटकको दिवस एमालेका लागि पूर्वी नेपालको पहाडी जिल्लामा शक्ति प्रदर्शनको अवसर बन्यो । ओली चुनाव प्रचारकै शैलीमा देखिए ।  आफ्नै कदमले संघ र प्रदेश सरकारबाट बहिर्गमनमा परेका उनले दलबलसहित सोमबार छिन्ताङ आएर ४२ वर्षअघिको घटनालाई राजनीतिक रंग दिने प्रयास गरे ।

छिन्ताङ घटनाको जिम्मा कांग्रेसले लिनुपर्नेसम्म उनले बताए । कारण थियो– छिन्ताङ घटना हुँदा प्रधानमन्त्री सूर्यबहादुर थापा थिए, उनका छोरा सुनिलले कांग्रेसमा प्रवेश गरेर राजनीति गरिरहेका छन् । पारिवारिक विरासत देखाएर ओलीले घटनालाई नयाँ मोड दिन खोजे र प्रहार कांग्रेसमाथि गरे । ओलीले भनेका थिए, ‘छिन्ताङ हत्याकाण्डको भागिदार अब कांग्रेस भएको छ । कांग्रेस नेतृत्वको सरकार राष्ट्रियता र जनताको पक्षमा सफल हुनबाट चुकेको छ ।’ छिन्ताङका सहिदको पुनर्जीवन नभए पनि ओलीले चुनावी प्रचारका लागि इतिहास उत्खननको नयाँ अध्याय सुरु गर्न खोजे । ‘यहाँ हरेक वर्ष नेता आउँछन् आश्वासन मात्रै दिन्छन् । एमाले, माओवादी सबैले चुनावका बेला एजेन्डा बनाउँछन् । हामी त भर्‍याङमात्रै । सहिदको सपना यति मात्रै हो त ?’ सहिद पुत्रमान थुलुङका छोरा बलराम थुलुङले प्रश्न गरे । छिन्ताङ घटना हुँदा बलराम ७ वर्षमा थिए । बहिनी ६ महिनाकी थिइन्, भाइ ४ वर्षका थिए । बलराम अहिले एमालेको जिल्ला कमिटी सदस्य पनि हुन् । छिन्ताङ हत्याकाण्ड पनि राजनीतिक महत्त्वको एउटा चुनावसँग जोडिन्छ । र, त्यसपछि सहिद परिवारलाई राहत दिने विषय पनि जिम्मेवारीसँग होइन, चुनावसँगै ठोक्किन्छ ।

000

पञ्चायतविरोधी आन्दोलन तीव्र बन्दै जाँदा तत्कालीन राजा वीरेन्द्र शाहले बाध्य भएर २०३६ जेठ १० मा जनमत संग्रह गराउने घोषणा गरे । सुधारिएको पञ्चायत वा बहुदलीय शासन व्यवस्थामा २०३७ वैशाख २० मा जनमत संग्रह हुने निश्चित भयो । जनमत संग्रहको घोषणापछि पनि प्रहरीको धरपकड र दमन जारी थियो । जनमत संग्रहभन्दा केही महिना अगाडि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको गृहजिल्ला धनकुटाको खोकु छिन्ताङ गाउँमा राज्यले अप्रेसन चलायो । २०३६ सालको कात्तिक अन्तिम साताको त्यस अप्रेसनमा दुई दिनकी सुत्केरीसहित १६ जनाको ज्यान गयो । तत्कालीन भूमिगत मालेको कार्यक्रममा थापाको प्रत्यक्ष निर्देशनमा गोली चलाइएको थियो । तर, थापाले छिन्ताङ काण्डको अन्तरवस्तु कहिल्यै खोलेनन् । छिन्ताङ काण्डको कलंकको प्रस्टीकरण नदिँदै उनको अवसान भयो ।

गाउँले भने त्यसबेलाका घटना एक–एक गरेर सम्झन्छन् । ७३ वर्षका सुवानसिंह राई छिन्ताङ घटनाका ‘जिउँदा सहिद’ हुन् । अहिलेसम्म राज्यबाट कुनै राहत नपाएको उनी बताउँछन् । त्उनले आफ्ना माग कार्यक्रमका प्रमुख अतिथि ओलीलाई लिखित दिएका छन् । ‘मैले त्यत्रो गोली खपेर एउटा धोती पनि पाएको छैन । जिउँदो सहिद भन्छन् । कि जिउँदो सहिद नभन्न पर्‍यो । मैले त्यो बन्दुक खपेको तिम्रो मनमानीले भन्न पर्‍यो । म पार्टीबाट खटेको थिएँ । गोली खान रहर थिएन,’ सुवानसिंहले भने । उनी अहिले एमालेमा आस्था राख्छन् । उनले ओलीसँग पार्टीको कुनै कमिटीमा आफूलाई राख्न पनि माग गरेको बताए । माओवादी शान्ति प्रक्रियामा आएपछि अरूले २५ हजार पाएको तर आफूले नपाएको गुनासो उनले गरे ।

000

२०३६ कात्तिक २९ । गाउँमा महिला र साना केटाकेटी मात्रै थिए । ‘त्यतिखेर आमा घरमा नै हुनुहुन्थ्यो । साइँलो दाइसँग म पनि घाँस काट्न गएको थिए । घर नजिकैको आँखीसल्लामा सेना छिरेको थाहा पायौं । लगत्तै हामी घर फर्कियौं । घरमा बस्न जोखिम भएकाले आमा र म दुई दिनकी बहिनी लिएर घरभन्दा पर पुगेर लुक्यौं,’ सहिद श्रीमाया राई अर्थात् हाङ्खीमा साइँलीका काइँला छोरा भलकमान राई त्यस दिनको घटना सम्झिन्छन्, ‘केहीबेरपछि साइँलो दाइ त्यही ठाउँमा आउनुभयो । उहाँ सेनाको फायरिङबाट जोगिएर आउनुभएको रहेछ ।’ त्यतिखेर भलकमान ७ वर्ष र साइँलो दाजु करिब १२ वर्षका थिए । ‘दाइले अलि पश्चिमतिर लुकेर बस्दा ठीक हुन्छ भन्नुभयो । त्यहाँबाट निस्केर आमा, बहिनी र म एउटा खनिमको रूखमा लुकेका थियौं । तर, सेना त्यहीं आइपुग्यो,’ उनले घटना सुनाए ।

त्यसपछि सुरु भयो हक्की स्वभावकी श्रीमायामाथि क्रूरतापूर्ण दमन । ‘सैनिकहरूले तेरो श्रीमान् कहाँ छ, आज तेरो श्रीमान्को मुटु कलेजो झिकेर खान्छौं भने । आमाले त्यो सुन्न सक्नुभएन । उनीहरूलाई झम्टिन जानुभयो । त्यसपछि आमालाई बन्दुकको कुन्दाले हान्न थाले । पछि गोली हाने,’ भलकमानले भावुक हुँदै सुनाए । दुई दिनमै आमा गुमाएकी बहिनीलाई भलकमान र उनका दाजुले स्याहारसुसार थाले, तर ४५ औं दिनमा बहिनी बितिन् । यसबीचमा उनीहरूले अनेक कष्ट र अपमान बेहोरे । तर, अचेल सहिद परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । उनीहरूलाई सम्मान हुने गरेको छ । ‘समाज परिवर्तन र जनताको मुक्तिका लागि आमाले लडेको लडाइँ सगरमाथाभन्दा अग्लो रहेछ । अहिले गर्व लाग्छ,’ भलकमानले भने ।उनका अनुसार त्यो बेला किसान आन्दोलन चलिरहेको थियो । पञ्चायतविरुद्ध छिन्ताङका किसान एकताबद्ध भए । आन्दोलनमाथि दमन भयो । ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा छिन्ताङ त्यस्तो गाउँ हो, जहाँ कात्तिकको चार दिन (२५ देखि २९) मा १५ जना मारिए,’ भलकमानले भने, ‘एक जनाले तीन महिनापछि ज्यान गुमाए ।’

२०४६ मा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भयो । २०७४ सम्म आउँदा कांग्रेस र कम्युनिस्टका तर्फबाट धेरै नेता प्रधानमन्त्री भए । तर, उनीहरू कसैले पञ्चायतले छिन्ताङमा मारिएकालाई सहिद घोषणा गरेनन् । तर, छिन्ताङका सहिद चुनावी मौसममा पूर्वी पहाडी जिल्लामा वामपन्थी शक्तिका लागि ‘हटकेक’ र मतदाता आकर्षण गर्ने मुद्दा बनेका छन् । सहिद परिवारका सदस्य बलराम थुलुङ राईका अनुसार २०४७ कात्तिक २७ गते तत्कालीन माले महासचिव मदन भण्डारीले छिन्ताङ पुगेर सहिदहरूको स्मृतिमा पार्कको शिलान्यास गरेका थिए । ‘उहाँको मन्तव्य सुन्दा साँच्ची नै यो देशमा के–के न होला, छिन्ताङको मुहार फेरिएला भन्ने लागेको थियो । उहाँले राष्ट्रिय सहिद घोषणा गर्ने, एकीकृत बस्ती बनाउने, राहत दिने बताउनुभएको थियो,’ बलरामले भने ।

छिन्ताङमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल पुगेका थिए । उनीहरूले पनि भण्डारीले जस्तै आश्वासन बाँडे । तर, एमाले नेतृत्वको सरकारले राष्ट्रिय सहिद घोषणा गरेन । ‘राज्यले राष्ट्रिय सहिद त घोषणा गर्‍यो, तर चिठी आएको छैन, राहत पनि पाएका छैनौं,’ बलरामले भने । छिन्ताङ घटना हुँदा राजबहादुर राई १३ वर्षका थिए । ‘केही परिवर्तन भएको छ, तर जति राज्यले गर्नुपर्ने थियो, गरेको छैन,’ उनले भने, ‘सबैले चुनावको मौसममा छिन्ताङ सम्झन्छन् ।’ २०७४ असोज ३१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गरे । त्यसबेला उद्योगमन्त्रीका रूपमा देउवाको मन्त्रिपरिषद्मा छिरेका थिए सूर्यबहादुरका छोरा सुनिलबहादुर । मन्त्री भएको तीन महिनापछि उनले २०७४ पुस २८ मा मन्त्रिपरिषद्मा प्रस्ताव लगे– सहिद घोषणा र मृतक परिवारलाई १०–१० लाखका दरले राहत उपलब्ध गराउने । उनको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भयो ।

सुनिलले ३८ वर्षपछि सहिद घोषणा गराएकाहरूमा गोपाल आनन्द राई, गंगाबहादुर तुर्हाङ राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, टंकबहादुर विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर विश्वकर्मा, हाङखीमा साइँली राई, झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाईं, रामकुमारी राई, गम्भीरमान दर्जी, केशरमान राई र लाखमान साधु राई छन् । २०७६ कात्तिक २१ मा प्रदेश १ सरकारले छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएकाको परिवारलाई ५ लाखका दरले दिने निर्णय गरेको थियो । त्यसबेला एमालेका शेरधन राई मुख्यमन्त्री थिए । केन्द्रले १० र प्रदेश सरकारले ५ लाख उपलब्ध गराउने यसअघिको घोषणा हालसम्म कार्यान्वयन नहुँदा सहिद परिवारले आफूहरूलाई राज्यले उपेक्षा गरेको गुनासो गर्दै आएका छन् । २०७४ सालमा छिन्ताङका १६ जनालाई राष्ट्रिय सहिद घोषणा गरेका प्रधानमन्त्री शेरबहादुर देउवा अहिले पनि सरकारको नेतृत्वमा छन् । रित पुर्‍याएर राष्ट्रिय सहिद घोषणा गरिनुपर्ने पीडित परिवारको मुख्य माग छ । यससँगै सहिदका नाममा १६ घरको एकीकृत बस्ती बनाउन र एक घर एक रोजगार, उनीहरूको अर्को माग हो । सहिद परिवारले २०४६ र २०६२/६३ का राजनीतिक परिवर्तनपछिका सबैजसो प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेर माग अघि सार्दै आएका छन् ।

सहिदभूमि गाउँपालिकाको एमालेको गाउँ कमिटी अध्यक्ष नीर राई भने राज्यले सहिदमाथि सम्मान गरेको दाबी गर्छन् । ‘सुरुमा एक लाख सहयोग प्राप्त भयो । माधव नेपाल प्रधानमन्त्री हुँदा २५ हजार र गत वर्षमात्रै शेरधन राई नेतृत्वको प्रदेश १ सरकारले पाँच–पाँच लाखका दरले सहयोग प्रदान गरेको थियो,’ उनले भने, ‘सहिद परिवारलाई पार्टी र प्रदेश सरकारका तर्फबाट ८ वटा घर बनाइदिएका छौं । केहीलाई रोजगारीको व्यवस्था गरेका छौं । उहाँहरूको योगदानको सम्मानमा गाउँपालिकाको नाम नै ‘सहिदभूमि’ गरिएको छ ।’ उनका अनुसार राजनीतिक हिसाबले पछि पारियो भन्ने सहिद परिवारहरूको गुनासो छ । ‘दुई/चार जना साथी गाउँपालिकाको जनप्रतिनिधि हुनुहुन्छ । उहाँहरूको गुनासो आर्थिक र राजनीतिक हिसाबले हामी पछि पर्‍यौं भन्ने छ,’ उनले भने । छिन्ताङको फेदीमा बग्ने सुन्दर नदी अरुण र तमोरमा धेरै पानी बगिसकेको छ । तर, सालिकमाथिको राजनीति जारी छ ।    

( कान्तिपुर दैनिक )