News Desk
काठमाडौँ — थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले नि:शुल्क ओपीडी सेवा संचालन गर्ने भएका छन् । नर्भिक अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा.विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुन जोशीले नि:शुल्क ओपीडी सेवा दिने भएका हुन् । विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा. विनिता र हाडजोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाले डा. सगुनबाट नि:शुल्क स्वास्थ्य सेवाको लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।
बालरोग विशेषज्ञ डा. विनिताले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा. सगुनले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नि:शुल्क ओपीडी सेवा दिनेछन् । नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार नि:शुल्क ओपीडी सेवा संचालन गर्दै आएको छ । नि:शुल्क ओपीडी सेवामा सर्वसाधारणको आकर्षण देखिँदै आएको छ । नि:शुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
( कान्तिपुर दैनिक )