News Desk
चितवन — २ मंसिर २०७८
चितवन , प्रमुख प्रतिपक्ष दल एमाले १०औं महाधिवेशनको संघारमा छ । मंसिर १०–१२ मा हुने उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा गर्ने र पाँच लाख जनालाई सहभागी गराउने एमालेको तयारी छ । महाधिवेशनका लागि नारायणगढ कम्युनिस्टको नजरमा पहिलो पटक परेको हैन । ६१ वर्षअघि पनि यहीं महाधिवेशन गर्ने तयारी थियो । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन नारायणगढमा हुँदै थियो । चितवनको कम्युनिस्ट इतिहासबारे सोध गरेका वीरेन्द्र बहुमुखी क्याम्पसमा इतिहास पढाउने राजेन्द्रप्रसाद रेग्मीका अनुसार कम्युनिस्ट पार्टीको २०१७ भदौको केन्द्रीय समिति बैठकले तेस्रो महाधिवेशन त्यही वर्ष फागुन ७ बाट चितवनको नारायणगढमा गर्ने निर्णय गरेको थियो । त्यसबेला केन्द्रीय समितिमा रहेका अहिले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नारायणगढमा महाधिवेशन गर्ने निर्णय भएपछि तयारी पनि धेरै अगाडि बढेको सम्झिए । तर पुस १ मा तत्कालीन राजा महेन्द्रले कांग्रेसको जननिर्वाचित सरकार अपदस्थ गरे । ‘त्यसपछि पार्टी गतिविधि ठप्प भयो । नेताहरू समातिए । म पनि समातिएर कपिलवस्तु जेलमा परें । पछि २०१९ सालमा भारत बनारसमा तेस्रो महाधिवेशन भयो,’ टेलिफोनमा नेता सिंहले भने । देशको केन्द्र भाग र पार्टीको आधार पनि रहेकाले नारायणगढ रोजेको उनले बताए ।
कम्युनिस्ट पार्टीमा सुरुदेखि नै मतमतान्तर रहे पनि ििवभाजनको शृंखला तेस्रो महाधिवेशनपछि सुरु भएको हो । नेताहरू कोही जेलमा, कोही भारत निर्वासनमा हुँदा जिल्ला–जिल्लामा विभिन्न समूह अस्तित्वमा आउन थाले । जेल परेका कारण तेस्रो महाधिवेशनमा सहभागी हुन नपाएका सिंह २०२७ सालमा जेलबाट छुटे । उनले पार्टी संगठन निर्माणका लागि २०२८ मंसिरमा ‘केन्द्रीय न्युक्लियस’ बनाए । त्यसले विभिन्न जिल्लाका कम्युनिस्ट समूह र समर्थकलाई समेट्दै २०३१ सालमा बनारसमा पार्टीको चौथो महाधिवेशन गर्यो । त्यो बेला यो समूह अन्यभन्दा प्रभावकारी देखिएको र नेकपा (चौम) का नामले चिनिएको शोधकर्ता रेग्मीले बताए । २०२८ सालेखि नै झापामा संघर्ष गर्दै आएका युवाले पनि अनेक समूह र समर्थकलाई समेट्दै २०३५ सालमा नेकपा (माले) गठन गरे । ‘त्यतिबेला कम्युनिस्टका अरू समूह भए पनि चौम र मालेको प्रभाव देशव्यापी थियो,’ रेग्मीले भने ।
नेपालमा अहिले विभिन्न नाम गरेका कम्युनिस्ट पार्टी छन् तर मुख्य दल भनेर चिनिने एमाले माले समूहबाट तयार भएको हो । त्यसैगरी माओवादी पार्टी चौम समूहबाट टुटफुट र जुट पनि हुँदै अस्तित्वमा आएको हो । चौम समूह २०४० को दशकमै तीन चिरा भएको थियो । बहुदलीय व्यवस्थाको पुनर्बहालीपछि २०४७ मंसिरमा चौमबाट विभाजित भएका दुई घटक निर्मल लामा र पुष्पकमल दाहालको सूमहमा अन्य घटक मिसिएर नेकपा (एकता केन्द्र) गठन भएको थियो । सो पार्टी गठन हुने महाधिवेशन चितवनकै माडीमा भएको थियो । केही समयपछि एकताकेन्द्र फुट्यो । पुष्पकमल दाहालले नेकपा (माओवादी) गठन गरे । सीपी मैनालीले नेतृत्व गरेको मालेको आठौं महाधिवेशन केही दिनअघि चितवनमै भएको थियो । एकातिर केन्द्रीय न्युक्लियस हुँदै नेकपा (चौम) बन्यो । अर्कातिर झापाली समूहबाट कोअर्डिनेसन केन्द्र (कोके) हुँदै माले जन्मियो र कालान्तरमा एमाले भयो । केन्द्रीय न्युक्लियसका लागि चितवनमा मोहनविक्रम सिंह, निर्मल लामा जस्ता केन्द्रीय नेताले नै चासो र सक्रियता देखाए । तर को के हुँदै माले गठन गर्न केन्द्रीय नेतृत्वको त्यो अनुपातको पहल रहेन ।
राजनीतिमा रुचि राख्ने एक व्यक्तिको हुटहुटीले चितवनमा माले भित्रियो । तनहुँमा जन्मेका विष्णु घिमिरे २०१७ सालमा चितवन आए । उनी २०२५ सालतिर हालको वीरेन्द्र क्याम्पस र त्यस बेलाको वीरेन्द्र इन्टर कलेजमा अर्थशास्त्र पढ्थे । अर्थशास्त्रमा अर्थतन्त्र र समाजवादका विषयमा पढाइ हुन्थ्यो । समानता जस्ता कुराले उनको मन तान्यो । सोही इन्टर कलेजमा प्रिन्सिपल भएर आनन्ददेव भट्ट आए । चितवनमा बुद्धिजीवीमाझ वामपन्थी प्रभाव विस्तारमा उनको योगदान देखिने रेग्मी बताउँछन् । चितवनमा २०२४ सालमा कम्युनिस्ट पार्टीको केन्द्रविहीन समूह (नन–सेन्टर) गठन भएको थियो । आनन्ददेव भट्ट योसँग नजिक थिए । उनी यसको प्रभाव विस्तारका लागि सक्रिय थिए । ‘भट्ट सरको प्रभावले म पनि नन–सेन्टरमा लागें,’ घिमिरेले सुनाए । केन्द्रविहीन समूह २०२९ मा केन्द्रीय न्युक्लियसमा आबद्ध भयो । महाधिवेशनपछि यस समूहमा आबद्ध भएकाहरूले नेकपा चौमको जिल्ला समितिमा रहेर काम गरे । घिमिरे पनि सदस्य थिए । शिक्षाशास्त्र पढ्न घिमिरे काठमाडौं लागे । त्यहीँ पढ्ने ईश्वर पोखरेलसँग उनको भेट भयो । कोअर्डिनेसन केन्द्रका अन्यसँग पनि उनको सम्पर्क हुन थाल्यो । ‘जनकपुरका शीतल झासँग सम्पर्क भयो ।
उनी कोकेका जिम्मेवार मान्छे रहेछन् । उनले पार्टीका प्रकाशन र डकुमेन्ट पढ्न दिए । कोकेप्रति मेरो झनै आकर्षण बढ्यो । पढाइ सकेर फर्कने बेला निर्मल लामालाई भेटेर चौम परित्याग गरेँ भनें,’ घिमिरेले सुनाए । २०३२ सालतिर उनी चितवन आएर कोके समूहको वकालत गर्न थाले । संगठन निर्माणमा खटे । चौम समूहलाई संशोधनवादी भन्दै झापाली समूहमा मान्छे आबद्ध गर्न थाले तर चितवन आएसँगै कोकेका प्रतिनिधिसँग उनको सम्पर्क टुट्यो । ‘काठमाडौंमा रामकुमार श्रेष्ठ भन्ने साथी हुनुहुन्थ्यो, चौम समूहप्रति उहाँ पनि सहमत हुनुहुन्थेन, उहाँलाई कोकेको सम्पर्क खोज्न भनें,’ उनले भने । २०३४ सालमा श्रेष्ठले बल्ल पार्टीको सम्पर्क सूत्र फेला पारे । त्यस वर्षको असोजमा अशोक राईसँग घिमिरे र श्रेष्ठ बसेर चितवनमा कोकेको संगठन विस्तारको ठोस योजना बनाए । राईसँग भेटेर फर्केपछि घिमिरेले नरबहादुर खाँडलाई भेटेर कोकेको सचिव बनाए । २०३५ मंसिरमा घिमिरेको घरमा नै भेला भएर संगठन निर्माण भएको थियो । त्यो समितिले २०३५ सालको फागुनमा मान्यता पायो । कोके त्यो बेला मालेमा रूपान्तरित भइसकेको थियो । तर जनमत संग्रहका विषयमा पार्टीको भूमिका अन्योलग्रस्त भयो भन्दै खाँडले राजीनामा दिएपछि मालेमा संकट आयो । पार्टीले केदार न्यौपाने, मुकुन्द न्यौपाने जस्ता अनुभवी कार्यकर्ता चितवन पठायो ।
एमालेले चितवनमा १० औं महाधिवेशन गर्ने तय गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आक्रोशपूर्ण अभिव्यक्ति दिँदै आएका छन् । एमालेले आफूविरुद्ध प्रहार गर्न चितवनमा महाधिवेशन गर्न लागेको उनको बुझाइ छ । दाहाल चितवनकै हुन् । चितवनमा माले गठन हुँदा दाहाल नेकपा चौमको जिल्ला समितिमा सक्रिय थिए । हाल पार्टी राजनीतिमा नरहेका र अध्ययन अनुसन्धानमा संलग्न साहित्यकार डीआर पोखरेल र पुष्पकमल दाहाल एकै समितिमा थिए । ‘२०३५ सालमा अमिक शेरचनको घरमा नेकपा चौमको दोस्रो चितवन सम्मेलन भएको थियो,’ पोखरेलले भने । सम्मेलनले शेरचनलाई सचिव र कार्य समितिको सदस्यमा पोखरेल, दाहालसहित १० जना चयन गर्यो । त्यसपछि फड्को मार्न दाहाललाई समय लागेन । चौममा फुट हुन थालेपछि २०४६ कात्तिकदेखि मशाल, एकताकेन्द्र हुँदै माओवादीसम्मको नेतृत्वमा उनी ३२ वर्षदेखि कायम छन् । फुट लगत्तै नारायणगढमा महाधिवेशन गर्न लागेको एमालेले नारायणीमा आफ्ना अप्ठ्याराहरूलाई बगाउँछ वा साख र हैसियतलाई ? आउँदै गरेका चुनावमा प्रकट हुने जनमतले प्रस्ट्याउनेछन् ।
( कान्तिपुर दैनिक )