यसरी मोडियो कोइराला बन्धुको समझदारी
News Desk
Nov-18 , 2021 तारिख 11:56 बिहान

काठमाडौँ — २ मंसिर २०७८    

काठमाडौँ , प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई कांग्रेस सभापतिमा चुनौती दिन कोइराला परिवारबीच भएको समझदारी १२ घण्टामै अन्योलमा परेको छ । महामन्त्री शशांकले सभापतिको उम्मेदवारका रूपमा शेखरलाई प्रस्ताव गर्ने गरी बुधबार बिहान गर्ने भनिएको पत्रकार सम्मेलन अचानक स्थगित भएको छ । मंगलबार राति शेखर निवासमा समझदारी भए पनि शशांक बुधबार बिहान संखुवासभा पुगेका छन् । देउवाइतर समूहबाट एकमात्र उम्मेदवार बन्न कोइराला परिवार, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहबीच चरणबद्ध रूपमा छलफल भइरहेको छ । तर, कोइराला परिवारले नै एकताको सन्देश दिन सकेको छैन । यही क्रममा मंगलबार साँझ बसुन्धरास्थित शेखर निवासमा दाजुभाइबीच समझदारी भएको र बुधबार बिहान पत्रकार सम्मेलनबाट सार्वजनिक गर्ने तयारी भएको शेखरनिकट एक नेताको दाबी छ । ‘पार्टी सभापतिमा शेखर उठ्ने, घोषणा शशांकले गर्ने, त्यसका लागि बुधबार बिहान साढे १० बजे पत्रकार सम्मेलन गर्ने समझदारी भएको थियो,’ ती नेताले भने ।

पत्रकार सम्मेलनको तयारीका लागि शेखर बुधबार बिहान सवा ९ बजे शशांक निवास महाराजगन्ज पुगेका थिए । माथिल्लो तलामै गएर शेखरले शशांकलाई भेटे । ‘दाजुभाइबीच करिब डेढ मिनेटमात्र कुरा भएको जानकारी आएको छ । लगत्तै शेखरले स्वकीय सचिव दिनेश थपलिया र शशांकका सहयोगी सुरज उप्रेतीलाई १०ः३० बजे जम्मा हुन सञ्चारकर्मीलाई खबर गर्न अह्राउनुभयो,’ स्रोतले भन्यो । केहीछिनका लागि शेखर बाहिरिएका मात्र थिए, शशांकका प्रमुख स्वकीय सचिव भरत तिवारीले नवलपुरमै खबर पाए । यो खबर कांग्रेसवृत्तमा फैलियो । लगत्तै तिवारी र अन्य नेताहरूले घोषणा कार्यक्रम स्थगन गर्न र उम्मेदवारका विषयमा केही नबोल्न शशांकलाई सुझाए । उनले शेखरलाई टेलिफोन गरेर ‘प्रधानमन्त्री शेरबहादुरजीले बोलाउनुभयो, बालुवाटार जानुपर्ने भयो, घोषणाको काम मंसिर ८ गते गरौंला’ भने । लगत्तै निवासबाट निस्किएका उनी केहीबेरपछि संखुवासभामा देखिए । शशांकलाई पूर्वसांसद एवं संखुवासभाका पार्टी सभापतिसमेत रहेका व्यवसायी दीपक खड्काले हेलिकोप्टरमा आफ्नो गृह जिल्ला पुर्‍याएका थिए । ‘महाधिवेशनका बेला कार्यकर्तासँग भेटघाट गर्न महामन्त्री आउनुभएको हो,’ खड्काले कान्तिपुरसँग भने, ‘यसमा अन्यथा केही छैन ।’

देउवालाई चुनौती दिन उम्मेदवार को हुने हो भनेर शीघ्र निर्णय गर्न अनुरोध गर्न गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङलगायत युवाले मंगलबार बिहान शशांकलाई भेटेका थिए । लगत्तै शशांकले शेखरलाई टेलिफोन गरी साँझ भेट्न आउने बताएका थिए । ‘समझदारी दुई दाजुभाइबीच मात्रै नभई कोइराला परिवारबीच नै भएको थियो । सुजाता कोइरालालाई समेत सँगै राखेर घोषणा गर्ने कार्यक्रम तय भएको थियो,’ शेखरनिकट एक केन्द्रीय सदस्यले भने, ‘तर महामन्त्रीलाई कताबाट दबाब आयो, थाहा भएन, अन्तिम समयमा कार्यक्रम स्थगन गर्न लगाउनुभयो ।’ दुई दाजुभाइबीचको समझदारी पारदर्शी नभएको भन्दै शशांकनिकट नेताहरूले प्रदेशसभाको क्षेत्रीय अधिवेशन (मंसिर ६) अघि त्यस्तो घोषणा नगर्न सुझाएका थिए । क्षेत्रीयस्तरको अधिवेशन सम्पन्न नहुँदासम्म उम्मेदवार घोषणा नगर्ने समझदारी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पनि भएको थियो । शेखरलाई उम्मेदवारी छाड्दा स्वयं शशांकको राजनीतिक ‘पोजिसन’ के हुने, शशांकका पक्षमा लागेका नेताहरूको व्यवस्थापन कसरी गर्नेजस्ता सवाललाई लिएर आफ्नै निकटवर्तीले प्रश्न उठाएपछि उनी पछि हटेको एक नेताको दाबी छ ।

शशांकले भने आफूले सभापतिमा दाबी छाड्ने सहमति नभएको र आफू नै बलियो उम्मेदवार रहेको दाबी गरेका छन् । ‘सहमति हुनुपर्छ, त्यसका लागि म लागिरहेको छु तर अहिल्यै शेखर दालाई छाडिसक्यो भन्ने सत्य होइन,’ संखुवासभामा रहेका उनले भने, ‘सभापतिका लागि हाम्रो टिमबाट सबैभन्दा बलियो उम्मेदवार नै मै छु,’ उनले संखुवासभामा दुई दिन बसेर राजधानी फर्कने बताए । उनका प्रमुख स्वकीय सचिव तिवारीले शशांकसँग बुधबार बिहान टेलिफोनमा कुराकानी भएको स्विकारे । ‘सँगै नभएपछि दिनमा चार–पाँचपटक फोन हुन्छ । शेखर दाइकहाँ जानुअघि र पछि पनि फोन भएको हो । दाजुभाइको पारिवारिक एकता मैले किन भड्काउने ? पारिवारिक एकता गर्छौं भनेर बोल्ने विषय ठीक हो,’ उनले भने, ‘तर, उम्मेदवार को हुने भन्ने विषय दुई जनाबीच मात्रै नभई रामचन्द्र पौडेल र प्रकाशमान सिंहसमेतको उपस्थितिमा घोषणा गर्न राम्रो हुन्छ भन्ने सुझाव दिएको हुँ । समूहको समझदारी पनि क्षेत्रीय तहको अधिवेशन सकिएपछि नै घोषणा गर्ने भन्ने थियो ।’ शशांकले सोमबार सर्लाहीको हरिवनमा पार्टी कार्यकर्तामाझ आफू सभापतिका लागि उम्मेदवार नहुने संकेत गरिसकेका थिए । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई हराउनुपर्ने ‘मिसन’ रहेको बताउँदै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट एक जना मात्र उम्मेदवार बन्नुपर्ने धारणा दोहोर्‍याएका थिए ।

वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहले नसक्ने निष्कर्षसहित उनले कोइराला परिवारबाट शेखर नै उम्मेदवार हुने संकेत गरेका थिए । ‘शेखर दाले अरूलाई पनि कन्भिन्स गराउन सक्नुपर्छ, उहाँले मलाई त गराइहाल्नु हुन्छ,’ उनको भनाइ थियो । शशांकको साथ पाउनासाथ अरूलाई पनि समझदारीमा ल्याउन सकिने विश्वास शेखरको छ । संस्थापन पक्षबाट सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई टक्कर दिन उपसभापति विमलेन्द्र निधिले पनि तयारी अघि बढाएका छन् । नेता गोपालमान श्रेष्ठले आफूलाई उत्तराधिकारीका रूपमा अघि बढाउन आग्रह गर्दै देउवालाई उम्मेदवार नबन्न सुझाउँदै आएका छन् । तर देउवाले आफ्नै समूहका निधि र श्रेष्ठको उम्मेदवारीलाई भन्दा वरिष्ठ नेता पौडेल नेतृत्वमा रहेको संस्थापनइतर पक्षमा सहमति जुट्छ कि जुट्दैन भन्नेमा बढी चासो राखेका छन् । स्थापनाकालदेखि अहिलेसम्म कोइराला परिवारको ठूलो प्रभाव कांग्रेसमा रहेकाले देउवाको मुख्य चासो दुई दाजुभाइमा को हुने भन्नेमा रहेको हो ।

संस्थापनइतर खेमामा वरिष्ठ नेता पौडेल, कोइरालाद्वय र प्रकाशमान सिंह सभापतिका लागि मुख्य दाबेदार छन् । पौडेलले दोस्रो पुस्ताका तीन नेताबीच समझदारी जुट्ने नदेखेपछि आफैंलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । संस्थापनइतर पक्षको शनिबारको बैठकमा पौडेलले तीन जना (कोइरालाद्वय र प्रकाशमान) बीच सहमति भए आफूले छाडिदिने, सहमति नजुटे एक वर्षका लागि आफूलाई दिन प्रस्ताव गरेका थिए । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराएपछि आफू पार्टी नेतृत्वबाट अलग हुने प्रस्ताव उनको थियो । शेखरले प्रधानमन्त्री नबन्ने र एकपटक सभापति भएपछि फेरि नदोहोरिने प्रस्ताव गरेका छन् । शशांक र शेखर दुवै एउटै पृष्ठभूमिबाट राजनीतिमा होमिएका हुन् । शशांक आँखाका विशिष्ट चिकित्सक हुन्, शेखर फिजिसियन । कोइराला परिवारको विरासत धान्न यी दुवै दाजुभाइलाई राजनीतिमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ल्याएका हुन् । केन्द्रीय कार्यसमितिमा यी दुवैको प्रवेश एघारौं महाधिवेशनबाट भएको हो । १३ औं महाधिवेशनमा शेखरले पनि महामन्त्रीको दाबी गरेका थिए । शशांकले इच्छा गरेपछि शेखरले छाडिदिए । अहिले भाइले आफूलाई छाड्नुपर्ने तर्क शेखरको छ । उमेरका हिसाबले शशांक शेखरभन्दा ८ वर्ष कान्छा छन् । शेखर अहिले ७१ वर्षमा पुगेका छन् भने शशांक ६३ वर्षमा छन् । उमेरका हिसाबले पनि शेखरले यसै पटक आफ्ना लागि अन्तिम प्रतिस्पर्धा ठानेका छन् ।

दाजुभाइबीच सहमति भएको र तोडिएको सुनियो, खासमा के भएको हो ?

सहमति गराउनुपर्छ । सहमति भएन भने शेरबहादुरजीलाई हराउन सकिन्न । सहमति गराउने दिशामा म लागिरहेको छु । त्यसै सिलसिलामा मंगलबार शेखर दाको घरमा छलफल भएको हो । अहिले छलफलमै छौं ।

सभापतिमा तपाईंले आफ्नो दाबी छाडेको भनेर बाहिर आएको छ नि ?

मैले सभापतिको दाबी छाडिसकेको छैन । सभापतिका लागि अरूभन्दा बलियो म नै छु भन्दै आएको छु । भोलि परिस्थिति के हुन्छ भन्न सकिन्न । तर अहिले शेखर दालाई छाडिसकेको छैन ।

तपाईंले आफूलाई कसरी बलियो उम्मेदवार ठान्नुभएको छ ?

म उम्मेदवार भएँ भने शेरबहादुरजीतिर भएका धेरै नेता मेरो टिममा आउँछन् । त्यसैले पनि म अरू तीन जना (रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला) भन्दा बलियो छु ।

बिहान पत्रकार सम्मेलनमार्फत दाइ शेखरलाई तपाईंले सभापतिमा प्रस्ताव गर्ने भनेर तयारी भइरहेको थियो त ?

त्यस्तो होइन । पत्रकारहरूलाई मैले बोलाएको थिइनँ । शेखर दाले खबर गरेको भए थाहा भएन ।

तपाईं अचानक संखुवासभा किन जानुभयो ?

सभापति दीपक खड्काले कार्यकर्ता भेटघाट भनेर बोलाउनुभयो । म गएँ । अरू केही कारण होइन ।

तपाईंहरू एक हुन सक्नुहुन्छ त ?

अन्तिममा को–को हुन्छ भन्न सकिन्नँ । मिल्न सजिलो बाटो पनि छैन । रामचन्द्र दाइ, प्रकाशमानजी सबै लागिरहनुभएको छ । तर, नमिलीकन सुख छैन । मैले एक हुने सम्भावना अझै देखिरहेको छु ।             

( कान्तिपुर दैनिक )