News Desk
काठमाडौँ — उनले जब श्रीलंकाको यात्रा गरेका थिए, त्यसबेला राहदानी थिएन । सरकारी छापसहितको कागजमा ‘जोसँग सम्बन्धित’ को एउटा सिफारिस पाए । यात्रा गर्न मिल्यो । संस्कृतिविद् सत्यमोहन जोशीको राहदानी बन्यो २००७ सालमा । उक्त राहदानी लिएर चीनको यात्रा गर्दा पत्नी र छोराका लागि छुट्टै राहदानी थिएन, बरु उनकै राहदानीमा परिवारको फोटो टाँस्दा काम चलेको थियो । उनै शताब्दी पुरुष जोशीले नेपालमा बुधबारदेखि जारी भएको ‘थर्ड जेनेरेसन’ को पहिलो राहदानी प्राप्त गरेका छन् । विद्युतीय संस्करणमा सुधारिएको प्रविधिसहितको ई–पासपोर्ट उनलाई परराष्ट्रमन्त्री नारायण खड्काले हस्तान्तरण गरे । राजधानीमा आयोजित कार्यक्रममा ई–पासपोर्ट पाउँदा परिवर्तनका साक्षी जोशीले पहिलो राहदानी र राहदानीबिनै विदेश यात्राको सात दशकअघिका क्षण स्मरण गरे । राहदानीले नेपालको पहिचान बोक्ने उल्लेख गर्दै उनले निकै महत्त्व हुने बताए ।
राहदानी विभागले ई–पासपोर्ट बुधबारदेखि प्रयोगमा ल्याएको हो । सन् २०१० सम्म नेपालमा राहदानी हस्तलिखित थियो । त्यसपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोगमा आयो । अब त्यसमा सुधारिएको प्रविधिसहितको ल्याइएको हो । ‘हस्तलिखित फर्स्ट र एमआरपी सेकेन्ड जेनेरेसनको पासपोर्ट हो,’ राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भने, ‘अहिलेको विद्युतीय राहदानीलाई थर्ड जेनेरेसनको पासपोर्ट भनिन्छ ।’ विद्युतीय पासपोर्टमा चिप हुन्छ, जुन प्रविधिमैत्री र बढी सुरक्षित हुने दाबी गरिएको छ । बायोमेटिक (जैविक) सूचनाहरू तस्बिर र औंठा छाप हुन्छन् । विद्युतीय चिप कार्बोनेट अर्थात् बुकलेटको बीचको पानामा हुन्छ । विद्युतीय राहदानीलाई गृह मन्त्रालयसँग समन्वय गरेर सरकारले अघि बढाएको राष्ट्रिय परिचयपत्रसँग पनि आबद्ध गरिएको महानिर्देशक अर्यालले बताए । उनका अनुसार विभागले एक घण्टामा एक हजार विद्युतीय राहदानी निकाल्न सक्नेछ ।
विभागले साधारण, कूटनीतिक, विशेष, अस्थायी, सिम्यास रेकर्ड बुक र सर्भिससहितका ६ प्रकारका विद्युतीय राहदानी उपलब्ध छन् । यस अघि कूटनीतिक राहदानी रातो रङमा, विशेषलाई आकाशे नीलो, साधारणलाई हरियो रङको थियो । अब भने कूटनीतिक राहदानी सिम्रिक रातो, विशेष आकाशे नीलो, सर्भिस सुन्तले, साधारण राहदानी चकलेटी खैरो, ट्राभल डकुमेन्ट कालो, सिम्यान्स अभिलेख किताब स्लेट खैरो तथा अस्थायी राहदानी चकलेटी खैरो रंगका जारी हुने विभागले जनाएको छ । महानिर्देशक अर्यालले अबका तीन सातापछि सम्पूर्ण रुपमा विद्युतीय राहदानी सर्वसाधारणले लिन सक्ने बताए । ७ हजार ५ सय वटा जारी गरेर विद्युतीय राहदानीको परीक्षण गरिएको र सबै ठीक भएको उनले प्रस्ट पारे । ‘अहिलेका लागि एमआरपी र विद्युतीय दुवै पासपोर्ट लिन सकिन्छ । तीन सातापछि नेपालका सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट पनि विद्युतीय राहदानी पाउन सकिन्छ,’ उनले भने । अब विद्युतीय राहदानी लिन धेरै समय नलाग्ने पनि उनले बताए । ‘पहिलेको भन्दा ७० प्रतिशत समय कम लाग्छ । अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्नुपर्ने समस्या हुन्न,’ उनले भने ।
परराष्ट्रमन्त्री खड्काले विद्युतीय राहदानीको कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविलाई उचो बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । परराष्ट्र सचिव भरत पौड्यालले हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीयसम्म आइपुग्नु सुखद भएको बताए । नेपालले सन् २०१० को डिसेम्बर २६ देखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । एमआरपी लागू गरेको बेलामा कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी जम्मा ७० लाखवटा छापेको थियो । विश्वका विकसित मुलुकहरूले लागू गरिसकेको इ–पासपोर्ट प्रयोगमा आउन थालेपछि नेपालले पनि लागू गरेको हो ।
सरकारले तीन पटक टेन्डर आह्वानपछि एक वर्ष अघि फ्रेन्च कम्पनी आइडिमियासँग नयाँ एनआरपी छाप्न सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार नेपालले ५० लाख इ–पासपोर्ट प्राप्त गर्छ । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छोटो समयमै विद्युतीय राहदानी ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे । ‘मेरो कार्यकालमा यसलाई ल्याउनका लागि प्रयास गरेको थिए । यसमा मन्त्रालय र राहदानी विभागले महत्त्वपूर्ण भूमिका खेलेको छ,’ उनले भने, ‘कोरोना भाइरस संक्रमणका बाबजुद पनि सबैले काम गरेर यो अवस्थामा आइपुग्नु सुखद कुरा हो ।’
( कान्तिपुर दैनिक )