News Desk
काठमाडौँ — बिहीबार काठमाडौं उपत्यका लगायत देशभरकै भू-भागमा आंशिक देखि सामान्य बदली भइरहेको छ । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा पनि देखिएका कारण देशभर नै बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर नै बदली भएपनि बिहीबार यस प्रणालीका कारण पानी पार्ने सम्भावना कम छ । पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार शुक्रबार रातिदेखि भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाकी वरिष् मौसमविद् अर्चना श्रेष्ठले जानकारी दिइन् । आइतबारदेखि बदली विस्तारै हट्दै जाने उनले बताइन् ।
यसका कारण उपत्यका लगायत देशभर नै चिसो बढ्ने हुँदा चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन आग्रह महाशाखाले गरेको छ । पानी नपरेपनि उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपातको सम्भावना देखिएको महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । मौसम बद्ली चारदिनसम्म रहने सम्भावना रहेको उनले बताइन् । दिउँसो राम्रोसँग घाम नलाग्ने र चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । अधिकतम् तापक्रम २ देखि ३ डिग्रीसम्म घट्ने महाशाखाले जनाएको छ । तराई क्षेत्रमा पनि तापक्रम घट्ने भएकाले धेरै गर्मी नहुने र, चिसो बढ्ने महाशाखाले जनाएको छ ।
( कान्तिपुर दैनिक )