गाँसबास माग्दै गमगढीका अग्निपीडित
News Desk
Nov-18 , 2021 तारिख 04:02 बेलुका

मुगु — गमगढीका छिरिङ तामाङ बुधबार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग भक्कानिए । ‘हाम्रो न खाने गाँस छ, न बस्ने बास नै,’ उनले भने, ‘आगोले सबै खरानी बनायो हामी कसरी बाँच्ने ?’ उनकी छिमेकी झोवा तामाङले पनि जसोतसो ज्यान बचाए पनि अरू केही बचाउन नसकिएको गुनासो पोखिन् । ‘पाल देउला कहाँ गाड्ने ?,’ उनले भनिन्, ‘नुन चामल दिए कहाँ बसेर खाने ?’ भएको एउटा घर पनि आगोले ध्वस्त बनाएपछि उनलाई अब कसरी परिवार पाल्ने भन्ने पिरलो छ । उनले चिसोमा बालबालिका बचाउन समस्या भएको गुनासो गरिन् ।  बुधबार बिहान सुर्खेतबाट राहत सामग्री लिएर सेनाको हेलिकोप्टरमार्फत गमगढी पुगेका मुख्यमन्त्री शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीलगायतसँग स्थानीयले रुँदै आफ्ना समस्या राखे ।

मुख्यमन्त्रीको टोलीले आगलागी प्रभावित क्षेत्रको निरीक्षण गरी विद्युत् कार्यालयको प्रांगणमा बसेका पीडितहरूसँग भेटेको थियो । ‘छोराछोरी पाल्न ऋण सापटी गरी गमगढीमा टेलरिङ व्यवसाय गर्दै आएका थिए,’ श्रीनगर छत्यालबाडाका काला नेपालीले मुख्यमन्त्रीसँग भने, ‘आगोले सबै जलाइदियो, अब कसरी परिवार पाल्ने ?’ उनले व्यवसाय गर्दा लागेको झन्डै एक लाख ऋण तिर्न नसकेको बताए । सोमबार राति गमगढीमा आगलागी हुँदा २१ घर जलेर खरानी भएपछि स्थानीयले विस्थापित जीवन बिताइरहेका छन् । कोही सामुदायिक विद्यालयका चौरमा रात काट्न बाध्य छन् भने केही परिवार आफन्तका बारीमा टेन्ट हालेर बसिरहेका छन् । मुख्यमन्त्री शाहीले पीडितका लागि गाँसबासको व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको बताए । ‘तपाईंहरूका लागि सरकार छ, धेरै पीर नमान्नुस्,’ उनले भने, ‘तपाईंहरूको पुनर्बासका लागि प्रदेश सरकारले छिट्टै निर्णय गर्नेछ ।’ उनले असोज २६ गते पिनामा बस दुर्घटना परी मृत्यु भएका परिवारलाई राहतस्वरूप एक/एक लाख रुपैयाँ दिने निर्णय गरिसकेका जानकारी दिए ।

गमगढीका सोमबार राति भीषण आगलागी हुँदा करिब ३५ करोड रुपैयाँको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आगलागीपछि ८० परिवार विस्थापित भएका छन् । प्रहरीका अनुसार २१ घरधनीको २१ करोड २५ लाख र भाडामा बस्ने व्यक्तिसहितको १२ करोड ३० लाख रुपैयाँको क्षति भएको हो । विस्थापित परिवारको निवेदनका आधारमा क्षतिको विवरण यकिन गरिएको प्रहरी निरीक्षक चित्र भट्टराईले बताए । उनका अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार रुपैयाँ र ३ वटा कम्मल तथा भाडामा बस्ने परिवारलाई १० हजार रुपैयाँसहित ३ कम्मल राहत वितरण गरेको छ । रेडक्रसले पीडित परिवारलाई कम्मल, पाल र भाँडाकुँडा उपलब्ध गराएको छ ।                

( कान्तिपुर दैनिक )