'अदालतलाई युद्ध मैदान बनाइयो, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संघसंस्थाले अनुगमन गरिदिउन्'
News Desk
Nov-18 , 2021 तारिख 04:08 बेलुका

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशविरुद्ध चलिरहेको आन्दोलनमा प्रहरी दमन गरेर अदालतलाई युद्ध मैदान बनाउन खोजेको भन्दै आपत्ति जनाएको छ । आन्दोलनका क्रममा बिहीबार प्रहरीले बल प्रयोग गरी केही कानुन व्यवसायीहरूलाई धरपकड गरेको थियो । त्यसक्रममा केही कानुन व्यवसायीहरू घाइते भएका थिए । बारले बिहीबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकार सम्मेलन गर्दै अब कुनै हालतमा प्रधानन्यायाधीशले राजनीनामा नदिँदासम्म नरोकिने उल्लेख गरेको छ ।

‘दंगा प्रहरीसाथ एसएलआर जस्तो युद्धका बेला प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्यको हामी घोर भर्त्सना र निन्दा गर्दछौं, अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले हामीलाई स्तब्ध बनाएको छ’, बारले जारी गरेको विज्ञप्तिमा छ,‘ अदालत युद्धमैदानमा परिणत भएको यो अवस्थामा न्याय प्रशासन र न्याय सम्पादन सुसंचालन गर्न सकिने कल्पना पनि गर्न सकिँदैन ।’ बारले बर्बरतापूर्ण आक्रमणको अनुसन्धान र आगामी कार्यक्रममा अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संघसंस्थालाई बारले अनुरोध गरेको छ । पत्रकार सम्मेलनमा सर्वोच्च बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले राजीनामा नहुँदासम्म आन्दोलन नरोकिने बताए ।   

( कान्तिपुर दैनिक )