कांग्रेसको दुईपक्षबीच विवाद
News Desk
Nov-18 , 2021 तारिख 04:12 बेलुका

सर्लाही — नेपाली कांग्रेसको संस्थापन र इतर पक्षको कार्यकर्ताबीच बिहीबार अपरान्ह विवाद भएको छ । सर्लाही सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा दुई पक्षबीच विवाद भएको हो ।  पार्टीका कार्यकर्ताबीच कुटाकुट हुँदा दुवै पक्षका आधा दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता समान्य घाइते छन् । संस्थापन पक्ष पार्टी अफिस भित्र छन् भने इतर पक्ष पार्टी कार्यालय बाहिर छन् । बीचमा प्रहरीले घेरा हालेर बसेको छ । जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् । रायद्वय दुवै पार्टीका सभापतिका दाबेदार हुन् ।

यसअघि भएको दुई पक्षको सहमतिअनुसार जिल्लामा बिहीबार वडाअधिवेशनको मिति तोकिएको थियो । तर मतदान अधिकृत खटनपटनमै विवाद चुलिएको थियो । निर्वाचन अधिकृत दिवाकर पाण्डेले बिहीबार एकपक्षीय रूपमा नामावली सूची सार्वजनिक गरेपछि विवाद भएको थियो । उनीहरूले रातारात निर्वाचन कार्यालय पार्टी कार्यालयबाट सभापति निकट होटेलमा राखेकोमा पनि आपत्ति जनाए । विवादको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले कांग्रेस इतर पक्षका नेताद्वय विनोद खनाल र बलिराम झा माथि पेस्तोल ताकेपछि झडप भएको पूर्व सभापति लक्ष्मण रायले बताए ।

यता सभापति नागेन्द्र कुमार रायले वडाअधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा कुराकानी भइरहेको बेला निर्वाचन अधिकृतलाई घेरा हालेर हातपात गरेको दाबी गरे । जारी विवादका कारण बिहीबारका लागि तय गरिएको कांग्रेसको वडा अधिवेशन अझै पनि अनिश्चित नै बनेको छ । बिहीबार अपरान्हसम्म पनि मतदान अधिकृत वडामा पुग्न सकेका छैनन् । मतदान अधिकृत नपुग्दा निर्वाचनको अन्य गतिविधि बढ्न सकेको छैन ।    

( कान्तिपुर दैनिक )