बार परिसरभित्र पसेर वकिलहरुलाई धम्की दिनेहरु पक्राउ
News Desk
Nov-19 , 2021 तारिख 11:03 बिहान

काठमाडौँ — ३ मंसिर २०७८    

काठमाडौँ , नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार राति बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।ढकाल र श्रेष्ठले बिहीबार कानुन व्यवयसायीहरुलाई दुर्व्यवहार गर्दै गालीगलौजमा उत्रिएका थिए । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिएका थिए । उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए । अपशब्द बाेल्दै उनीहरूले वकिलहरुलाई धम्की दिएपछि त्यहाँ उपस्थित वकिलहरुले प्रतिकार गर्न थालेपछि बाहिरिएका थिए ।

ढकाल काठमाडौं महानगरपालिका– ६ बाैद्ध र श्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेकाे प्रहरीले बताएको छ । काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको बताए । दुवै जना टेकुस्थित परिसरको हिरासतमा छन् । उनीहरुको पृष्ठभूमि र कसको निर्देशनमा बार परिसर छिरेका थिए भन्ने खुलेको छैन । यसैगरी कानुन व्यवसायीहरुलाई धम्की दिने थप दुई जना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रवक्ता एसपी बस्नेतले बताए ।उनीहरु मोबाइल अफ गरेर सम्पर्कविहीन भएका छन् ।           

( कान्तिपुर दैनिक )