जनगणना गर्न दुई रात जंगलको बास
News Desk
Nov-19 , 2021 तारिख 11:40 बिहान

दोलखा — ३ मंसिर २०७८   

दोलखा , चीनसँग सीमा जोडिएको जिल्लाकै अति विकट बिगु गाउँपालिका–१ लप्ची उपत्यकामा सरकारी उपस्थिति छैन । बिगु–१ कै लामाबगरबाट लप्ची पुग्न ३ दिन लाग्छ । लप्चीका बासिन्दा लामाबगर नझरेकै ६ महिना बित्यो । बाढीपहिरोले गोरेटो छिन्नभिन्न भएपछि सम्पर्कविहीन बनेको लप्चीमा जनगणना गर्न पहिलो पटक गणक पुगेपछि स्थानीय अचम्ममा परेका छन् । कात्तिक २५ बाट देशैभर जनगणना सुरु भयो । तर लप्चीवासीलाई जनगणना हुँदै छ भने पत्तोसमेत थिएन । २१ वर्षीय युवक नूतन बुढाथोकी गणना गर्न पुग्दा सबै अचम्ममा परे । गाउँपालिकाको ४ जनाको टोली जाँदै छ भन्ने पत्तो पाएपछि बुढाथोकी उनीहरूकै पछि लागेर जोखिम मोल्दै लप्ची पुगेका हुन् । कात्तिक २४ मा लामाबगरबाट हिँडेका उनी २६ गते लप्ची पुगे । पहिरो छिचोल्दै एकअर्काको हात समातेर ३ दिनमा लप्ची पुगेको उनले बताए ।

‘तामाकोसी नदीमाथिको भीरमा गलले भित्ता कोपेर साँघुरो बाटो बनाइएको रहेछ,’ उनले भने, ‘चिप्लिए सक्किगो । ५ वटा ठूला पहिरो एकअर्काको हात समातेर छिचोल्यौं ।’ बाटोमा कतै बस्ने ठाउँ नहुँदा उनीहरू २ रात जंगलमा बास बसेका थिए । ‘जंगली जनावरको त्रासमा रात काट्यौं,’ बुढाथोकीले भने, ‘१/२ जना मात्र भएको भए बाटैबाट फर्कन्थ्यौं ।’ कतै डोरी त कतै हातको सहारामा सीमासम्मै पुगेको उनले सुनाए । शेर्पा समुदायको बसोबास रहेको लप्चीमा ३० घरपरिवारको गणना गरिएको छ । २०५८ र २०६८ को जनगणनामा गणकहरू यहाँ पुगेका थिएनन् । नेपाली भाषा अलिअलि बुझ्ने र बोल्ने पेम्बा शेर्पाले अहिलेसम्म यहाँ जनगणना गर्ने टोली आएको थाहा नभएको बताए । लप्चीमा विद्यालय र स्वास्थ्य संस्था पनि छैनन् । ‘सञ्चारविहीन गाउँ रहेछ, कोही बिरामी पर्‍यो भने जडीबुटीकै भर रहेछ,’ बुढाथोकीले भने, ‘निको नभए भगवान् भरोसा रहेछ, स्वास्थ्य संस्था पुग्न त कल्पना पनि नगरे हुन्छ ।’

कात्तिक पहिलो साता घर गणनाका लागि सुपरिवेक्षक धनबहादुर तामाङ पनि त्यहाँ पुगेका थिए । तामाङकै अनुभव सुनेर जंगल छिचोली आफू लप्ची पुग्न सकेको बुढाथोकी बताउँछन् । बाटोमा खाने सबै सामान लिएर लप्ची पुगेका उनी सोमबार फर्किएका छन् । ‘गणक र सर्वेक्षक दुवै पठाएका थियौं,’ जिल्ला जनगणना प्रमुख सन्तोष कार्कीले भने, ‘नूतनले एक्लै भए पनि जान्छु भनेर आँट कसे ।’ तामाकोसी जलविद्युत् आयोजनाको बाँधको माथिल्लो भागबाट लप्ची पुग्ने गोरेटो बनिरहेको छ । लप्ची पुग्न बाँधस्थलमा राखिएको मोटरबोट चढेर जानुपर्छ । स्थानीय कर्मा शेर्पाका अनुसार बाढीपहिरोका कारण यसअघिको बाटो भत्किएकोले लप्चीवासी ६ महिनादेखि लामाबगर झरेका छैनन् ।           

( कान्तिपुर दैनिक )