News Desk
काठमाडौं र दार्चुला — ३ मंसिर २०७८
काठमाडौं र दार्चुला, दार्चुलाको सीमावर्ती भारतीय प्रशासनले केन्द्र सरकारको आदेशबिना आफ्नो भूमि हुँदै नेपालीलाई छाङरु र टिंकर जाने पास दिन नसकिने बताएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय बाटो हुँदै छाङरु जानका लागि अनुमति माग्दै पिथौरागढस्थित भारतीय प्रशासन ‘डिस्ट्रिक मेजिस्ट्रेट’ (जिल्लाधिकारी) लाई कात्तिक २५, ३० र मंसिर १ मा पत्र पठाएको थियो । भारतीय बाटो हुँदै छाङरु र टिंकर जान नपाएपछि कात्तिक २५ बाट केन्द्रीय तथ्यांक विभागका कर्मचारी सदरमुकाम खलंगामा रोकिएका छन् । तर, सरकारले जनगणनामा खटिएका कर्मचारीलाई नेपाली भूमिबाटै त्यसतर्फ पठाउने विकल्पका बारेमा छलफलसम्म गरेको छैन । गणकलाई सैनिक वा निजी हेलिकोप्टर चार्टर गरेर छाङरु पठाउन सकिने विकल्प सरकारसँग छ ।
स्रोतका अनुसार पिथौरागढका जिल्लाधिकारी आशिष चौहानले केन्द्र सरकारको आदेश नआएसम्म अनुमति दिन नसक्ने व्यहोरासहितको पत्र पठाइसकेका छन् । दार्चुला प्रशासन भने अझै पनि भारतीय अनुमति पर्खेर बसेको छ । तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले यस विषयमा छलफल भइरहेको बताए । गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको उनले दाबी गरे । ‘अझै समय छ, भारतीय पक्षले अनुमति दिन्छ होला, दिएन भने अरू विकल्पमा पनि छलफल भइरहेको छ,’ लामिछानेले कान्तिपुरसँग भने, ‘अहिले नै आत्तिइहाल्नु पर्दैन ।’
उनले त्यहाँ जाने विकल्पको टुंगो लाग्नेबित्तिकै एक/दुई दिनमै त्यस क्षेत्रको जनगणना सकिने बताए । यसअघिको अनुमानित तथ्यांकअनुसार छाङरुमा करिब १ सय २५ र टिंकरमा करिब ७५ घरधुरी छन् । टिंकर नेपाल–चीन सीमा क्षेत्र हो भने छाङरु नेपाल–भारत सीमावर्ती गाउँ हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यससम्बन्धी के–के विकल्प हुन्छन् भन्नेमा विभागबाट मन्त्रालयमा जानकारी नआएको बताए । जनगणनाको सबै जिम्मेवारी विभागको भएका कारण गृह मन्त्रालयले आवश्यक सहजीकरण र समन्वय गर्ने उनले स्पष्ट पारे ।
‘जिल्ला तहबाट दार्चुला प्रशासनले यसबारे समन्वय गरिरहेको छ तर भारतीय बाटोको विकल्पमा के–के हुन सक्छ भनेर विभागबाट मन्त्रालयमा औपचारिक जानकारी आएको छैन,’ प्रवक्ता पोखरेलले कान्तिपुरसँग भने, ‘विभागले यससम्बन्धी सहयोगका लागि माग गरेमा विकल्पबारे आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्छौं ।’ विभागले कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणनाका लागि तथ्यांक संकलन सक्ने तालिका बनाएको छ । सोहीअनुसार देशभर गणक खटिएका छन् तर दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिंकर नेपाली बाटो भएर जान भौगोलिक कठिनाइ छ ।
( कान्तिपुर दैनिक )