साझा उम्मेदवार तयार गर्न पौडेल समूहलाई सकस
News Desk
Nov-19 , 2021 तारिख 01:11 बेलुका

काठमाडौँ — ३ मंसिर २०७८   

काठमाडौँ , चार वर्ष अघिदेखि नै शेरबहादुर देउवाले कांग्रेस चलाउन नसकेको निष्कर्षका साथ नेतृत्व परिवर्तनको मुद्दा उठाउँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई महाधिवेशनको मुखमा साझा उम्मेदवार तयार गर्नै सकस परेको छ । नेतृत्व दोहोर्‍याउन देउवा रणनीतिका साथ अघि बढिरहेका बेला पौडेल समूहभित्रका नेताहरू भने आ–आफ्ना लागि दौडधुपमा छन् । संस्थापनइतर पक्षका मुख्य आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालामध्येबाट एक जना साझा उम्मेदवार बन्नुपर्ने दबाब तीव्र छ । तर एकले अर्कोलाई स्विकार्ने परिस्थिति हुन सकेको छैन । समझदारी जुटाउन पौडेलले बिहीबार चाक्सीबारी गएरै गणेशमान पुत्र प्रकाशमान सिंहसँग करिब एक घण्टा छलफल गरेका थिए । मन्त्री छनोटको विषयलाई लिएर पौडेल र सिंहबीच बोलचालसमेत भएको थिएन । सिंहले सांसद राजन केसीलाई मन्त्रीका लागि अघि सारेका थिए । पौडेल र महामन्त्री शशांक कोइरालाले दिलेन्द्र बडू र मीनेन्द्र रिजाललाई मन्त्री बनाएपछि सिंह पौडेलसँग रुष्ट बनेका हुन् । त्यसपछि टुटेको संवादहीनता बिहीबार निवासमै पुगेर ‘ब्रेक’ गरे पनि पौडेल साझा उम्मेदवार बनाउने प्रयासमा सफल हुन सकेनन् ।

गत शनिबार सिंह अनुपस्थित रहेको संस्थापनइतर पक्षको बैठकमा पौडेलले कोइरालाद्वय र सिंहबीच सहमति बने आफू उम्मेदवार नहुने बताएका थिए । समझदारी नबने तीनै जनाले आफूलाई स्विकार्नुपर्ने पौडेलको प्रस्ताव थियो । ‘तीन जनाबीच सहमति हुन सकेन भने एक वर्षका लागि मलाई सहयोग गर्नुहोस् । सभापति बनेपछि तीनै तहका निर्वाचन सम्पन्न गराएर एक वर्षमै नेतृत्व तपार्इंहरूलाई सुम्पिन्छु । म प्रधानमन्त्री पनि बन्दिनँ,’ पौडेलको प्रस्ताव थियो, ‘साझा उम्मेदवारी दिन सकेनौं भने हामीले लिएको अभियान पूरा हुन सक्दैन ।’ त्यही कुरा पौडेलले बिहीबार चाक्सीबारीमा सिंहलाई सुनाएका थिए । तर, सिंहले त्यसलाई स्वीकार गर्न नसकिने भन्दै आफू उम्मेदवारीबाट पछि नहट्ने जनाउ दिए ।

‘जिल्ला–जिल्लाबाट आम साथीहरूले शेरबहादुरजीले पार्टी चलाउन सक्नु भएन, सँगै रामचन्द्र पौडेलबाट पनि पार्टी चल्न सक्दैन भनेका छन् । मैले तपाईंलाई होच्याउन र चित्त दुखाउनका लागि यो भनिरहेको छैन । तपाईंसँग प्राइभेट कुराकानी र समूहको बैठकमा पनि प्रस्टताका साथ भनेको हुँ, यही भावनालाई लिएर तपाईं निर्णय लिनुहोस् । तपाईं सिनियर नेता पनि हो, अग्रज पनि हो । तपाईंले बोक्दै आएको भारी अब मलाई बोकाउनुहोस् । तपाईंलाई सम्मानसाथ कहाँ कसरी राख्नुपर्छ म तयार छु,’ आफ्नै निवासमा भेट्न आएका पौडेलसँग सिंहले भनेका थिए, ‘१३ औं महाधिवेशनमा तपाईं कार्यवाहक सभापति हुनुहुन्थ्यो । तपाईंलाई जिताउन जीउज्यान लगाएर सहयोग गरेकै हो । विभिन्न कारणले सफल हुन सकिएन । अहिले त्योभन्दा प्र्रतिकूल परिस्थिति छ । तपाईंले सक्नु हुन्न । मलाई सहयोग गर्नुहोस् ।’

सिंहले थपेका थिए, ‘तत्कालीन राजा ज्ञानेन्द्रले शाही आयोग गठन गर्दा कोही बोलेनन् । म एक्लै यो असंवैधानिक छ भनेर लडें । २०५६ मा काठमाडौंसहित १६ जिल्लाको कार्यसमिति भंग गर्दा पार्टीभित्र आन्तरिक लोकतन्त्र र विधिका लागि लडेको मान्छे हुँ । अरूजस्तो म छैन ।सार्वजनिक रूपमा बोलिसकें । बोलेपछि पछि हट्ने बानी छैन । म उम्मेदवार हुन्छु । तपाईंले सहयोग गर्नुहोस् ।’ सिंहसँगको भेटपछि निराश बनेर फर्केका पौडेललाई कोइराला दाजुभाइबीचको अन्तरसंघर्षले पनि सन्तोष दिन सकेको छैन । शशांक र शेखर दाजुभाइबीच नै उम्मेदवार बन्ने होड छ । दुई दाजुभाइबीच समझदारी भत्किएपछि पौडेल समूहभित्र नेतृत्वको विषयले अन्योल ल्याएको छ ।

शेखर निवासमा मंगलबार साँझ भएको समझदारीअनुसार शशांकले आफ्नो दाबी छाड्ने भन्ने थियो । शशांकले दाबी छाडेर शेखरलाई सघाउने घोषणा पत्रकार सम्मेलनमार्फत गर्ने भइरहेकै बेला शशांकले ‘युटर्न’ लिएका थिए । पौडेल समूहभित्र समझदारी नबने युवाले चारमध्ये एक जनालाई छानेर देउवासँग प्रतिस्पर्धा गर्ने टिम घोषणा बनाउने नेता चन्द्र भण्डारीले बताए । ‘१४ औं महाधिवेशन सम्झौता हो । १५ औं महाधिवेशन हाम्रो नेतृत्व हो,’ उनले भने, ‘समझदारी बने जो आए पनि हामीलाई स्वीकार्य छ । सहमति भएन भने हामी हस्तक्षेप गरेर नेता नै रोज्छौं । गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्री पाण्डे, जीवन परियारलगायतका युवा एउटै टिममा हुन्छौं ।’              

( कान्तिपुर दैनिक )