राजधानीमै छैनन् पर्याप्त सार्वजनिक शौचालय
News Desk
Nov-19 तारिख 02:32 बेलुका

काठमाडौँ — घर–घरमा शौचालय भएको विश्लेषण गर्दै दुई वर्षअघि नै काठमाडौं जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको थियो । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले ०७६ असोजमा काठमाडौंलाई खुला दिसामुक्त जिल्ला घोषणा गरेको थियो । खुला दिशामुक्त घोषणा गरिएको दुई वर्ष बितिसक्दा पनि काठमाडौंका प्रमुख बजार क्षेत्र भने पर्याप्त शौचालय छैनन् । भएका शौचालयहरु पनि प्रयोगलायक छैनन् । अत्यधिक भिडभाड हुने ठाउँ रत्नपार्क क्षेत्रमा पहिले ४ वटा शौचालय थियो । अहिले २ वटा मात्र शौचालय छन् । तर, भएका शौचालय छिरिसक्नु छैनन् । केहीको चुकुल लाग्दैन, कुनैमा ढोकाको पाता फुटेको छ । केहीमा पानी छैन । दिसापिसाबको दुर्गन्ध पनि उस्तै छ । घरदेखि बाहिर निस्कनसाथ हरेक मानिसले दैनिक सार्वजनिक शौचालयका कारण विविध समस्या भोग्न बाध्य छन् । बुधबार त्यस्तै समस्या भोग्न बाध्य भइन्, काठमाडौं बानियाटारकी सम्झना महर्जन ।

त्रिपुरेश्वरको मल घुमेर सम्झना सुन्धारातर्फ लागिन् । तर, सुन्धारा नपुग्दै उनलाई पिसाबले च्याप्यो । रत्नपार्क नै जानु पर्ने सम्झना शौचालय हेर्दै वीर अस्पतालको अगाडि पुगिन् । तर, त्यहाँ पनि उनले शौचालय देखिनन् । शौचालय नेदेखेकै कारण उनी खुलामञ्ज अर्थात विद्युत प्राधिकरण तर्फ लागिन् । विद्युत प्राधिकरण अगाडि शौचालय देखेकी उनले त्यसदिन भेटिनन् । महानगरले रत्नपार्क क्षेत्रमा रहेका वीर अस्पताल अगाडि र प्राधिकरण अगाडिको शौचालय भत्काइ सकेको थियो । त्यहाँ पनि शौचालय नभेटाएपछि उनी शान्तबाटिका तर्फ लागिन् । उनले शौचालय भेटिन्, तर अध्याँरो । शौचालयको दुर्गन्ध बाहिरसम्मै थियो । ‘करिब २० मिनेट देखि पिसाब च्यापे, यहाँ आइपुगे पछि पिसाब नफेरी फर्कु जस्तो लाग्यो,’ उनले भनिन् । शौचालय नहुँदा खुलामञ्च भित्रै खुला रुपमा शौच गरेको उनले नदेखेकी भने होइन । महिला भएकै कारण उनले खुल्ला ठाउँमा शौच गर्न सकिनन् । सम्झना मात्र होइन्, शौचालय अभाव हुँदा घरबाट बाहिर निस्केपछि हरेक महिला तथा व्यक्तिले यस्ता समस्या भोग्नु पर्छ ।

एक त उपत्यकामा कम शौचालय छन्, भएका पनि महिला र अपांगता भएका व्यक्तिका लागि उपयुक्त छैनन् । भद्रकालीमा महिलाका लागि एउटा मात्र शौचालय छ । धेरै महिला भए लाइन बसी शौचालय जानुपर्ने बाध्यता छ । शौचालयमा आफ्नो पालो पर्खिरहेकी बानेश्वरकी मञ्जु ओझाले भनिन्, ‘कहिले पालो आउने हो, थाहा छैन ?’ भृकुटीमण्डप घुम्न आएकी मञ्जु बुधबार घुम्न छोडेर लाइन बसिरहेकी थिइन् । सार्वजनिक शौचालय नहुँदा पर्यटकहरुले पनि समस्या भोग्नु परेको पर्यटन व्यवसायीहरु सुनाउँछन् । पर्यटकीयस्थल ठमेल समेत सार्वजनिक शौचालयविहिन छ । ठमेलका पर्यटन व्यवसायी राजु डंगोल भन्छन्, ‘पर्यटक आउँछन्, शौचालय नहुँदा गुनासो गर्छन्, जान्छन् ।’ शौचालय जानकै लागि क्याफे जानुपर्ने अवस्था बाह्य र आन्तरिक पर्यटक दुवैलाई रहेको उनले बताए । पर्यटकहरु भएका शौचालयमा पनि जान सक्ने अवस्था नरहेको उनले बताए । सार्वजनिक शौचालयलागि पहल गरेपनि हालसम्म बन्न नसकेको उनले जानकारी दिए ।

गुठी संस्थानले ०७६ मा गरेको सर्भेअनुसार काठमाडौं महानगरभित्र ३७ वटा मात्रै सार्वजनिक शौचालय छन् । ती मध्ये पनि महानगरले यस वर्ष दुई वटा शौचालय भत्काइ सकेका छन् । त्यस्तै मठमन्दिरमा २२, सरकारी कार्यालय ५, पार्क ५, पेट्रोल पम्प ५६, निजि भवन १७, अस्पताल ९ वटा र सार्वजनिक शौचालयसहित काठमाडौं महानगरभित्र १५१ वटा शौचालय छन् । हालसम्म आइपुग्दा पार्कमा २ वटा शौचालय थपिएका छन् भने पेट्रोल पम्पमा एउटा शौचालय घटेको छ । महानगरले भने यस वर्ष मानिसको बढी भीडभाड हुने र सार्वजनिक शौचालयको अभाव रहेको स्थानका होटल, रेस्टुरेन्ट, पसलजस्ता व्यवसायले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत नि:शुल्क सेवा दिन सहमत भएर त्यस्ता व्यवसायमा लाग्ने करमा थप ५० प्रतिशत छुट दिने व्यवस्था गएिको जनाएको छ । तर, त्यो व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले नीति नियम अनुसार नै कार्यान्वयन गर्न पहल गरिरहेको बताए । पर्याप्त मात्रामा बजेट र लगानीको स्रोत हुँदा पनि जग्गा अभावको कारण सार्वजनिक शौचालय बनाउन नसकेको उनले दाबी गरे । ‘उपत्यकामा भएका शौचालय राम्रै छ, उनले भने, ‘शौच गर्न योग्य छैन भने पनि म पहल गर्छु ।’ सार्वजनिक शौचालयलाई लिएर अध्ययन/अनुसन्धान र फिल्डमै गएर पनि धेरै काम गरेको उनी बताउँछन् । शौचालय चाहियो भन्ने तर बनाउन खोज्दा बनाउन नदिने प्रवृत्तिका कारण बन्न नसकेको उनको भनाई छ । महानगरले शौचालय निर्माण गर्ने भन्दै ०७६/०७७ मा ३ करोड, गत वर्ष एक करोड र यो वर्षसमेत ५ करोड रुपैयाँ बजेट छुट्याएको छ । अहिलेसम्म स्वयम्भू, नयाँ बानेश्वरमा निजी क्षेत्रसँगको सहकार्यमा शौचालय बनेका छन् । त्यस्तै त्रिपुरेश्वरमा पनि निजि क्षेत्रकै सहकार्यमा शौचालय बन्दैछ ।

गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्य भन्छन्, ‘शौचालय निर्माण गर्नु ठूलो कुरो होइन, भएका शौचालय व्यवस्थापन गरेर चलाउनु अहिलको मुख्य चुनौती हो ।’ उनका अनुसार महानगरभित्र मात्रै ५५ वटा पेट्रोल पम्प छन् । ती पम्पमा भएका शौचालय प्रयोग गर्न सकियो भने पनि धेरै सहज हुने उनी बताउँछन् । शहर विस्तार गर्दा शौचालयलाई प्राथमिकतामा नै नराखेकै कारण समस्या देखिएको योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल बताउँछन् । सहरमा पुरुषले खुल्ला रूपमा शौच गरिरहँदा महिला भने च्यापेर नै हिड्न बाध्य रहेको उनले बताए । उनका अनुसार नेपालमा कार्यरत डिजाइनर (मानचित्रकार), शहरी योजनाकारहरुमा शौचालय पनि महत्वपूर्ण हो भन्ने विषयको सचेतना नभएको बताउँछन् । ‘शहरदेखि सडक, फुटपाथको डिजाइन बनाउँदा नै सार्वजनिक शौचालयलाई प्राथमिकतामा राख्नुपथ्र्यो,’ उनले भने, ‘तर, पहिलो चरणमा काम गर्ने मानिसहरुमा त्यो सचेतना नै छैन ।

‘दिसा पिसाब रोक्नु हानीकारक’

वीर अस्पतालका डा. अजित खनाल सरसफाई नहुँदा सार्वजनिक शौचालय छिर्नुभन्दा सर्वसाधारण दिसापिसाब च्यापेर हिँड्न बाध्य भएको बताउँछन् । त्यसरी दिसापिसाब च्यापेर हिड्नु स्वास्थ्यको लागि एकदमै हानीकारक भएको डा. खनालको भनाई छ । ‘धेरै बेरसम्म पिसाब रोक्दा मिर्गौलामा असर पर्छ । त्यस्तै पिसाब थैलीमा समस्या हुने, पिसाबको संक्रमण हुने गर्छ’ उनले भने ‘त्यस्तै धेरै बेरसम्म दिशा रोक्दा पायल्स, कब्जियत समेत हुन सक्छ । पेटभित्रै दिसा राखिरहँदा पेट ढुस्स हुने, खानामा अरुचि हुने र ग्यास भरिएर पेट फुल्ने समस्या हुन्छ । जसले गर्दा शारीरिकसँगै मानसिक रूपमा पनि असर पर्छ ।’               

( कान्तिपुर दैनिक )