News Desk
रोल्पा — बिहीबार सहिदमार्ग अन्तर्गत दाङको घोराहीबाट थबाङ जाँदै गरेको बस घर्तीगाउँ नजिकै दुर्घटना हुँदा मृत्यु भएका चार जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बसका चालक र मालिकसमेत छन् । दुर्घटनामा परी मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ का ४० वर्षीय वीरमान बुढामगर, परिवर्तन गाउँपालिका–६ का ५० वर्षीय कुमार पुनमगर, परिवर्तन गाउँपालिका–१ का २९ वर्षीय दीपक रोकामगर र त्रिवेणी गाउँपालिका–४ की १८ वर्षीया पुष्पा घर्तीमगर छन् । वीरमान बसका चालक र मालिक हुन् । दुर्घटनामा १९ जना घाइते भएका थिए । प्रहरीका अनुसार सुरुमा १७ जना मात्रै घाइते भएको ठहर गरेपनि दुई जनालाई राति घाइते भएको अवस्थामा फेला पारिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण राना मगरले अत्यधिक साँधुरो र भत्किएको सडक मार्गबाट बस चलाउँदा दुर्घटना भएको बताए । ना ३ ख ५५१८ नम्बरको बस बिहीबार बेलुका ६ बजेतिर माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङको जलजला होटल नजिकै सडकबाट करिब १ सय फिट तल खसेको थियो । बस ध्वस्त अवस्थामा छ । घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा पुर्याइएको छ । तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते अन्य ११ जनालाई रेउघास्थित रोल्पा जिल्ला अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । उनीहरुको अवस्था जटिल नभएकाले शुक्रबार डिस्चार्ज रोल्पा अस्पतालले जनाएको छ । अरु ३ जनालाई घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर पठाइएको छ ।
( कान्तिपुर दैनिक )