News Desk
ताप्लेजुङ — ५ मंसिर २०७८
ताप्लेजुङ , १० औं राष्ट्रिय महाधिवेशनका लागि नेकपा एमाले ताप्लेजुङले शनिबार प्रतिनिधिको टुंगो लगाएको छ । कात्तिक ३० मा पार्टी सदस्यलाई मतदान गराएको एमालेले ५ दिनपछि गणना सक्दै प्रतिनिधिको टुंगो लगाएको हो । जिल्ला संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेबे आ–आफ्नो समूह बनाएर निर्वाचनमा होमिएका थिए । निर्वाचनबाट थेबे समूहका अधिकांश विजयी भएका छन् । खुलातर्फको ८ पदमा थेबेसहित उनको समूहका दीपेन पोमु, छत्रपति प्याकुरेल, आशिष केदेम, ओङिद शेर्पा र गोपाल थोप्रा विजयी भएका छन् भने साम्सोहाङ समूहका साम्सोहाङ र डम्बरध्वज तुम्बाहाम्फे विजयी भएका छन् ।
खुलामा १६ जना प्रतिस्पर्धामा थिए । दलितको एक कोटामा थेबे समूहकै मनकुमार नेपाली विजयी हुँदा ४ महिला प्रतिनिधिमा पनि थेबे समूहकै भीमाकुमारी ओझा, मीनाकुमारी केदेम, टीकादेवी दाहाल र उर्मिला थेबे विजयी भएका छन् । महिलातर्फ साम्सोहाङ समूहकी एकमात्र उम्मेदवार निर्मला इजम पराजित भएकी हुन् । निर्वाचनमा दुवै उम्मेदवारले आफ्नो क्षेत्रमा भने पकड देखाएका थिए । एक पक्षले अर्कोलाई शून्य हुने गरी मतदान गराएको स्वयं नेताहरू बताउँछन् । थेबेको निवास रहेको सिरिजंगा गाउँपालिकाबाट सुरु गरिएको गणनाबाटै थेबे समूहले अग्रता लिएको थियो ।
साम्सोहाङको निवास रहेको पाथीभरा याङवरक र तुम्बाहाम्फेको निवास रहेको मेरिङदेन पुग्दा साम्सोहाङ समूह थेबे समूहको हाराहारीमा आएको थियो । फुङलिङ नगरपालिकामा समेत थेबे समूह हाबी भएपछि नतिजा थेबे समूहमै देखिएको हो । आफ्नै निवास रहेको फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाको गणनापछि जिल्ला समन्वय समितिका संयोजक धनेन्द्र मादेन भने पराजित भएका छन् । नगरपालिकाको गणना हुनुअघिसम्म मादेन सातौं र थोप्रा नवौं नम्बरमा थिए । गणना सकिँदा थोप्रा आठौंमा अटाए र मादेन बाहिरिए ।
( कान्तिपुर दैनिक )