News Desk
बिर्तामोड — ५ मंसिर २०७८
बिर्तामोड , अढाई दशकअघि बनाएको काठको सानो टाँडेघर जीर्ण भइसकेको छ । पानी पर्दा चुहिन्छ, हिउँदमा चिसो सिरेटोले कोठाभित्र बस्न सकिन्न । घरका बेरा पनि भत्किन थालेका छन् । शौचालयमा छाना छैन, टाटीबेरा भत्किएको छ । एक रात बिताउन कठिन हुने यही घरमा ७५ वर्षीय मानकुमार तामाङ ६८ वर्षीया बिरामी पत्नी फूलमायासँग दिन काटिरहेका छन् । झापा र इलामको सीमावर्ती बस्ती अर्जुनधारा नगरपालिका–१ खुदुनाबारीका मानकुमार ‘झापा विद्रोह’ का योद्धा हुन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंगै उनले कठोर जेल जीवन बिताए । तत्कालीन शासन पद्धति तथा शोसक–सामन्तविरुद्ध लड्दा १७ वर्ष जेलमा बस्नुपरेको उनी सुनाउँछन् । भूमिहीन तामाङले राधाकृष्ण मैनाली, सीपी मैनाली, ओलीलगायतका कम्युनिस्ट नेताको नीति निर्देशनमा रहेर काम गरे । घरपरिवार, बालबच्चा छाडेर भूमिगत युद्ध लडेका उनी २०२९ सालमा पक्राउ परेका थिए । पैसा कमाउने उमेर र समय कम्युनिस्ट पार्टी निर्माणमा खर्चिएका उनी यतिबेला सुकुम्बासीसरह बनेका छन् । ‘पक्राउ परेपछि जेलमा साह्रै दुःख पाइयो । कठोर यातना पनि भोगियो,’ उनको चाउरिएको अनुहार मा गम्भीरता झल्किन्छ, ‘नेताहरूसँग भूमिगत भएर हिँड्दा जिन्दगीले यो उमेरसम्म दुःख पाउँछ भन्ने कहाँ सोचियो र ! शोषक, सामन्तहरूलाई समाप्त गरेपछि देशमा हाम्रो दिन आउँछ भन्ने लाग्थ्यो । कहिल्यै आएन ।’
उनी जेल परेपछि जेठी श्रीमती शोभालाई ‘ब्रेस्ट क्यान्सर’ ले भेट्यो । एक छोरा, दुई छोरीको बिचल्ली भयो । ‘देश बनाउन हिँडेको मैले आफ्ना लागि एउटा घर बनाउन सकिनँ,’ उनले दुःख सुनाए । २०४९ मा शोभाको निधन भयो । कान्छी फूलमायापट्टि एक छोरा एक छोरी भए । छोरीको पनि दुई वर्षअघि निधन भयो । पैसा कमाउन दशकअघि भारतको कोइलाखानी गएका छोराको अहिलेसम्म अत्तोपत्तो छैन । पाँच कट्ठा ऐलानी जमिनमा उब्जाएको बालीले मानकुमार दम्पतीलाई वर्षभरि खान पुग्दैन । मानकुमारलाई चोयाको ढोको, नाङ्लो बुनेर गाउँमा बिक्री गरेर खर्च जुटाइरहेका छन् । वृद्ध शरीरको कमाइले वर्षभरि खानै धौधौ हुने भएकाले जीर्ण घरलाई टालटुलसम्म गर्न सकेका छैनन् । उनले नगरपालिकालाई पनि गुहारे । तर, तदारुकता देखाएन । एमाले–माओवादीका पुराना नेतासमक्ष दुखेसोसमेत पोखे । तर, कसैले सुनुवाइ गरेनन् ।
जीर्ण घरमा वृद्ध दम्पतीलाई बसोबास गर्न कठिन भएको देखेका अर्जुनधाराका पत्रकारले उनको घर बनाउने अभियान सुरु गरेका छन् । टिनको छाना भएको एक तलाको पक्की घर बनाइदिन लागेको घर निर्माण समितिका संयोजक पत्रकार कुमार भट्टराईले बताए । उनका अनुसार दुइटा लिभिङ रुम, एउटा सिटिङ रुम, किचन र शौचालयसहितको घर बनाउन लागिएको छ । तीन महिनाभित्र हस्तान्तरण गर्ने योजना छ । ‘करिब १२ लाख रुपैयाँ खर्च लाग्छ,’ भट्टराईले भने, ‘व्यक्तिगत तथा संस्थागत रूपमा आग्रह–अनुरोध गरेर जिन्सी तथा नगद सहयोग जुटाइरहेका छौं ।’ घर निर्माण समितिका सहसंयोजक पत्रकार दीपिन राई मुलुकको पद्धति बदल्न जेलनेल भोगेका व्यक्ति वृद्ध अवस्थामा पनि घरविहीन हुनु विडम्बना भएको बताउँछन् । ‘सँगै युद्ध लडेका सहकर्मी मुलुकको मन्त्री, प्रधानमन्त्री हुँदा मानकुमारहरू सामान्य घरसम्म बनाउन नसक्नु राज्यकै लागि लज्जास्पद कुरा हो,’ उनले भने ।
( कान्तिपुर दैनिक )