News Desk
गोरखा — बूढीगण्डकीमाथिको यारुभीर । लहरै अड्याइएको स्टिलको पुल । भीर खोपेर भिन्न शैलीमा निर्माण गरिएको यहाँको क्यान्टिलिभर पुलले जिल्लामा मात्र नभई देशभर नै चर्चा बटुल्यो । आफ्नो क्षेत्रभित्रका पर्यटकीय स्थल पहिचान गरी प्रचार गर्ने क्रममा धार्चे गाउँपालिकाले क्यान्टिलिभर पुललाई प्राथमिकता दिएको छ । नौलो प्रकृतिको पुल देखाएर पर्यटकलाई लोभ्याउने गाउँपालिकाको लक्ष्यलाई यसै वर्षको बाढीले ठूलो धक्का दिएको छ । जिल्लाको एक मात्र पैदलमार्गमा रहेको उक्त पुलको झन्डै डेढ सय मिटर पहुँचमार्ग असार तेस्रो साताको बूढीगण्डकीमा आएको बाढीले कटान गरेको हो । क्यान्टिलिभर पुल छ, तर त्यसबाट हिँड्न मिल्दैन । पुलबाट हिँड्न नमिलेपछि मनास्लु पदमार्ग आउजाउ गर्ने पर्यटक अनौठो मान्छन् । स्थानीय बासिन्दा तथा चुमनुब्रीमा उपभोग्य सामग्री ढुवानी गर्ने खच्चड यारुखोलामा हेलिँदै बूढीगण्डकी बगर भएर यात्रा गर्छन् । देशमै चर्चा बटुलेको यारुबगरको यो क्यान्टिलिभर पुलमा असारयता हिँड्न रोकिएको हो ।
उत्तरी गोरखाको दुर्गम स्थानीय तह हो चुमनुब्री । यो सवारी चल्ने सडक सञ्जालमा जोडिएको छैन । विकटका पदमार्ग पनि भत्किँदा चुमनुब्रीका बासिन्दा निकै मर्कामा छन् । ‘अर्को बाटो छैन, सानो पानी परेर बूढीगण्डकी बढ्यो भने बगरबाट पनि हिँड्न सकिँदैन,’ खच्चड व्यवसायी सुन्दर गुरुङले भने, ‘हिउँदमा बूढीगण्डकी सुकेर मात्र हिँड्न पाएका हौं ।’ पुलसँगैको बाढीले बगाएको पहुँचमार्ग भासिने क्रम अझै नरोकिएको उनले बताए । ‘यो वर्ष जता हेर्यो, त्यतै बाढीपहिरो छ, बगरको बाटो हिँड्दा पनि यारु भीरबाट ढुंगा खसिरहन्छ,’ उनले भने, ‘कुनाबाट हिँड्यो पहिरोको डर, छेउतिर बूढीगण्डकी छ ।’ सात वर्षको अन्तरालमा पुनः यारुभीरको बाटोको सास्तीले स्थानीय चिन्तित छन् । २०७२ वैशाख १२ को भूकम्पले मनास्लु पदमार्ग क्षतविक्षत बनायो । यारुबगरमा पदमार्गको ट्र्याकसम्म पनि नरहेपछि केही महिना उत्तरी गोरखा आउजाउ नै ठप्प बन्यो । प्राविधिक अध्ययनपछि यारुभीरमा क्यान्टिलिभर पुल निर्माणको योजना पर्यो । यूके एडको सहयोगमा बनेको १ सय ९५ मिटर लम्बाइको पुल २०७३ जेठबाट सञ्चालनमा आएको थियो । हिँड्ने बाटो पाएर स्थानीय उत्साहित थिए । अजंगको भीर खोपेर विशेष बोल्टहरूले जोडेर पुल निर्माण भएको छ ।
मनास्लु पदमार्गमा पुगेका विदेशी पर्यटकले समेत यो पुलमा निकैबेर बिताउँथे । क्यान्टिलिभर पुल प्रयोगमा आएको ५ वर्ष नबित्दै प्रयोगविहीन बनेको यारुबगरका गोपाल घलेले बताए । ‘बगरबाट पुल करिब १० मिटरमाथि भीरमा छ, कसरी पुल चढ्ने,’ उनले भने, ‘दुर्गमको विकास भनेको यस्तै रहेछ, पुल हेर्दै बगरबाट हिँड्ने हो ।’ भित्तामा झुन्डिएर बसेको पुलको स्थलगत अध्ययनका लागि सरकारका कुनै पनि तहका प्राविधिक यारुबगर पुगेका छैनन् । ‘हिउँदमा बुढीगण्डकी सुकेर धन्न बगरबाट हिँड्न मिलेको छ, पानी बढे के गर्ने ?’ उनले चिन्ता जनाए । पुल सञ्चालनका लागि कटानमा परेको क्षेत्रमा थप क्यान्टिलिभर पुल नै बनाउनुपर्ने स्थानीयको बुझाइ छ । ‘अब कति भत्किएको छ, त्यो ठाउँमा भीर खोप्नुपर्यो, वाल लगाउन मिल्ने ठाउँ ग्याविन भरेर यही हिउँदमै बाटो बनाउनुपर्छ,’ घलेले भने, ‘नत्र बर्खा लागेपछि यही बाटोले अर्को विपत्ति निम्ताउँछ ।’
यस वर्षको बर्खाले मनास्लु पदमार्गको दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ । पदमार्गमा गएको अन्य क्षेत्रमा पहिरो बीचबाट ट्र्याक खोलेर जोखिमसाथ आउजाउ गरे पनि यारुभीरमा स्थानीयको श्रमदानबाट बाटो बनाउन नसकिने लाक्पालका माइला गुरुङले बताए । ‘गाउँको बाटोको यस्तो अवस्था देख्दा हाम्रो मन कहाँ खुसी छ र,’ उनले भने, ‘हामी गाउँले मिलेर पनि बनाउन सम्भव छैन, थोरै बजेटले धान्दैन, यो काम सरकारले गर्नुपर्छ ।’ असार तेस्रो साताको बाढीले क्यान्टिलिभर पुलको पहुँचमार्ग भत्किएसँगै २ महिनासम्म उत्तरी गोरखा आवतजावत ठप्प थियो । साउन अन्तिम साता स्थानीयको सक्रियतामा बूढीगण्डकी बगरबाट ग्याविन वाल भरेर बाटो उक्लन मिल्ने बनाएको गुरुङले बताए । ‘तल बुढीगण्डकी, माथि बाटो भएको थियो, केही दिन भर्याङ राखेर उक्लन मिल्ने बनायौं,’ उनले भने, ‘पछि ग्याविन वाल भरेर बगर र माथि जोडेर हिँड्न मिल्ने बनेको छ ।’ हिउदमै क्यान्टिलिभर पुल सञ्चालनमा ल्याउन नसके बूढीगण्डकीको भेल बढेपछि आउजाउ ठप्प हुने भन्दै स्थानीयले चिन्ता जनाए । ‘नुन र चामल पुर्याउने अर्को बाटो छैन,’ खच्चड व्यवसायी सुन्दरले भने । चुमनुब्री सडक सञ्जालले नजोडिएकाले उपभोग्य सामग्री ढुवानीका लागि खच्चडको भर छ ।
पुल पुनः सञ्चालनका लागि गाउँपालिकाको बजेटले नधान्ने धार्चे गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले बताए । ‘अहिले आवतजावत गर्न मिल्नेमात्र बनेको छ,’ उनले भने, ‘क्यान्टिलिभर पुल सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग माग गरेका छौं । हाम्रो बजेटले धान्दैन, भौगर्भिक अध्ययन पनि चाहिन्छ ।’ गृह मन्त्रालय, गण्डकी प्रदेश सरकारसँग पुलको पहुँचमार्ग निर्माणका लागि निवेदन दिएको उनले बताए । ‘त्यो निवेदनउपर सुनुवाइ भएको छैन,’ उनले गुनासो गरे । प्राविधिक निरीक्षणपछि मात्रै पुल पुनः सञ्चालनका लागि खर्च हिसाब हुने उनले बताए । यूके एडको आर्थिक सहयोगमा चुमनुब्री–६ चुम्चेतको सदिर्भीरमा बनेको क्यान्टिलिभर पुल पनि बेकामे बनेको छ । चुमभ्याली प्रवेश गर्ने लोक्पामा भदौ पहिलो साताबाट गएको पहिरो अझै रोकिएको छैन । लोक्पाबाट करिब एक किलोमिटर दूरीको क्यान्टिलिभर पुललाई पनि सदिर्भिरबाट खसेको ढुंगाले क्षति पुर्याएको छ । ‘लोक्पाको पहिरो कट्न नसक्दा सदिर्भीरको क्यान्टिलिभर पुल मर्मत गर्न सकेनौँ,’ चुमनुब्री–६ का वडाध्यक्ष लोप्साङ लामाले भने, ‘फेरि यो पुलको मर्मत यहाँको प्राविधिकले हुँदैन ।’ सदिर्भीरको ९० मिटर लम्बाइको पुललाई खसेको ढुंगाले क्षति पुर्याएको उनले बताए ।
( कान्तिपुर दैनिक )