घटे नाक र याक
News Desk
Nov-22 , 2021 तारिख 01:35 बेलुका

देउढुंगा, सिन्धुपाल्चोक —  ६ मंसिर २०७८ 

देउढुंगा, सिन्धुपाल्चोक, याक, चौंरी या पहाडी गाईको बाच्छाबाच्छीजस्तै देखिन्छ । नाक वा बृमु, डिमु अर्थात् याकको आमा । याक र नाकलाई राजारानी या पशुको स्वरूपमा देवीदेवताजस्तै मान्छन् लेकका नाक–चौंरी गोठाला । तिब्बतीहरूले त एउटा सामान्य जातको नाकलाई ३० देखि ५० हजारमा किनेर लैजान्छन् भने उन्नतको एक लाखभन्दा बढीमा किनबेच हुन्छ ।  हेलम्बु गाउँपालिका–१ हेलम्बुका जम्लिङ शेर्पा नाक पाल्ने घट्दै गइरहेको सुनाउछन् । ‘चौंरी गाई पाल्ने अझै पनि धेरै छन् तर नाक पाल्ने एकदमै कम छन् । यो एरियामा त छँदै छैनन्, यहाँका उन्नत जातका नाक तिब्बतको लेकभेगमा पुगिसके । प्रायः चौंरीगाई नै पालेर जीविका चलाइरहेछन्,’ उनले भने । वर्षौंअघि हेलम्बुबाट ‘नाक’ पाल्न भनेर नै यहाँ आएका उनका बाबु सपरिवार यतैको गाउँमा बसे । पछि बाबुसहित परिवार हेलम्बु फर्कियो तर जम्लिङको मन भने यही लेकको हावापानीमा रमायो ।

सात वर्षअघि लाङटाङ क्षेत्र र सोलुखुम्बुबाट गरी दुई सय नाक खासा लगिएको उनले बताए । पहाडी गाई र याकबीच गर्भधारण गराउँदा या पहाडी बहरसँग नाकको प्रजनन भएर बसेको गर्भबाट चौंरीको जन्म हुन्छ । चौंरीभन्दा धेरै नै ठूलो हुने भएकाले याक छुट्याउन कठिन भने नहुने उनी सुनाउँछन् । याक र पहाडी गाई (किर्खो) बाट जन्मने चौंरीलाई ‘उराङ’ र पहाडी गोरुसँग नाकको सन्संर्गबाट जन्मने सन्तानलाई ‘डिम्जो वा झोप्क्यो’ भनिन्छ । डिम्जो त सामान्य चौरीजस्तै दूधालु हुन्छ, तर झोप्क्यो (भाले) भने नपुंशक हुन्छ, भारी बोक्न काम लाग्छ । ‘चौरी त ठिमाहा हो, शुद्ध जात त नाक र याक मात्रै हो, त्यही भएर सबैले यसलाई देवताजस्तै मान्छन् नि,’ शेर्पाले हौसिँदै भने । हिमालमुनि हुर्कने भएकाले यिनलाई घरपालुवा पशुजस्तो पालिराख्नु पर्दैन्, हिउँद महिनामा नुनपानी दिएर थोरै घाँसको जोहो गरिदिनुपर्ने उनको भनाइ छ । ५६ वटा नाक रहेकोमा ठूलो नभएसम्म बाघले खाने डर रहने भएकाले सचेत भएर रेखदेखमा जुट्नुपर्ने उनले बताए ।

भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो पांखाल खर्क झनै मनमोहक छ । गौरीपर्वत हिमालको काखको यो भेगमा हिउँद सुरु भएपछि घास चर्न याक, नाक र चौंरी तल्लो पाखाल खर्कमा झर्छन् । चीनको भूभाग लामटाङ, शेल्मीगिरिसँग जोडिएको यो ठूलो खर्कमा नाक, चौंरी पाल्ने उनी एक्ला हुन् । जेठदेखि असोजसम्म नाकको दूध दुहेर छुर्पी, घिउ बनाउने कृषकले यसैबाट मनग्ये आम्दानी गर्छन् । ‘जिल्लामा उन्नत जातका याक–नाक पाउनु मुस्किल भइसकेको छ, हेरविचार गर्ने त छँदै छैनन्,’ यारमाला क्षेत्रमा २० वर्षदेखि चौंरी पालिरहेका ५७ वर्षे लाम्छाङ शेर्पाले भने । चौंरी पाल्नेले याकलाई जोगाउँछन्, तर नाकलाई गोरु लगाउने झझन्ट देखेपछि नाकपालक घट्दै गएको उनले बताए । दुईवटा गोठमा ४३ वटा चौंरी पालिरहेका उनलाई चिन्ता नाक र चौंरीको छ ।

हिउँदयाममा दलथङ, लासिस, बगाम, दिङ्मा खर्क, शेर्मिघ्याङ खर्कजस्ता ५० वटा खर्कमा नाक, याक चौरी डुल्छन् । बर्खामा भने सुरक्षित मानिने छाराभन्दा माथिल्लो भूभाग चीनको रेल्देखर्क र दोलखाको जौलेडाँडाको सिमानामा तिचान्लेमा गोठ बसाउँछन् । गौरीपर्वतको फेदमै पर्ने खर्क याक र डिमुको प्रिय स्थानमा गनिन्छ । २७ वटा चौंरीका मालिक डाँडागाउँका तेन्जेन शेर्पाले बाबुको सिको गरेर गोठालो भएको बताए । ७ वर्षदेखि यही काममा व्यस्त उनको मन लेकमै रमाइरहेको छ । भोटेकोसी–१ लिस्तीकोट, फुल्पिङकट्टी र मार्मिङ गाउँको लेकाली क्षेत्रमा चार सय चौंरीका गोठ छन्, तर नाक पाल्ने केही मात्रै गोठाला छन् । पाकाकै भरमा चौंरी, नाकपालन भइरहेकामा पुस्तान्तरण नहुँदा केही वर्षयता पालक संख्या घट्दै आएको हो । भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले चौंरीपालकलाई प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइरहेको बताए ।                

( कान्तिपुर दैनिक )