सुनसान बन्दै हिमाली क्षेत्र
News Desk
Nov-22 , 2021 तारिख 01:52 बेलुका

ताप्लेजुङ — ६ मंसिर २०७८   

ताप्लेजुङ , फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्साका डन्डु शेर्पाले चौंरीको गोठ ग्याब्ला पुर्‍याएका छन् । ठाङ्गेन पुर्‍याउने उद्देश्यले झारेको गोठ उनले एक सातादेखि ग्याब्लामा राखेका हुन् । ठाउँ/ठाउँमा चराउँदै ओरालो झारेका उनको गोठमा डेढ सयको संख्यामा चौंरी, याक र बाच्छाबाच्छी छन् ।  लेकमा चिसो बढ्दै गएपछि ओरालो झारेको गोठ अम्जिलेसासम्म पुर्‍याउने उनको योजना छ । सामान्यमात्रै हिउँ झर्‍यो भने ठाङ्गेनमा राख्ने नत्र अम्जिलेसा लैजाने योजनामा डन्डु छन् । ठाङ्गेनबाट चार/पाँच घण्टाको दूरीमा रहेको अम्जिलेसा पारिलो र घमाइलो छ । बर्खायाममा ४ हजार २ सय मिटर उचाइको खम्बाछेनसम्म गोठ पुर्‍याएका उनले हिउँदमा २७ सय मिटर तलसम्म झार्ने गर्छन् । ठूलै हिउँ परे अझ तल लेलेप पुर्‍याउनुपरे पनि त्यसको तयारीमा रहनुपर्ने चौंरी पालकहरू बताउँछन् । सामान्य परे ठाङ्गेन वा ग्याब्लादेखि फेरि उकालो फर्काउँछन् । भेडाको बथान डुलाउँदै हिँड्ने फुङलिङ नगरपालिका–११ फावाखोलाका गोपाल विष्ट ‘अन्तरे’ ले भने फक्ताङलुङ–६ लेलेपको बगरमा पुर्‍याइसकेका छन् ।

झन्डै एक महिना ग्याब्लामा राखेका उनले अम्जिलेसामा केही दिन राखेर लेलेप झारेका हुन् । भेडाका पाठापाठी हुर्किरहेकाले न्यानो दिलाउन पनि चाँडै गरेर ओरालो झारेका हुन् । चौंरीलाई हिउँले छोपे पनि केही नहुने तर भेडालाई असर गर्ने भएकाले हिउँ पर्ने सिजन सुरु हुनै लाग्दा हिउँले नभेट्ने ठाउँमा पुर्‍याउने गरेका छन् । गोठालाले नधपाए आफैं गोठ छोडेर हिँड्ने भएकाले मौसमको अनुकूलतालाई विशेष ध्यान दिनुपर्ने अन्तरेको अनुभव छ । उनी अघिल्ला वर्षझैं हेल्लोक, लिङखिम हुँदै फावाखोला पुर्‍याउने र हिउँको सिजन सकिएपछि उकालो लाग्ने योजनामा छन् । फक्ताङलुङबाट फावाखोला पुर्‍याउँदा भने पुस या माघ महिना लाग्छ । फागुनदेखि मात्रै हिउँको सिजन कम हुने भएकाले त्यसपछि उकालो धपाउँछन् । विगतमा औलको खोला बगरसम्मै पुर्‍याउने भेडा अहिले माथिबाटै फर्काउन थालेका छन् । चौंरी र भेडामात्रै नभएर रूखमा बस्ने, आकाशमा डुलिहिँड्ने चराचुरुङ्गीले पनि हिमाली क्षेत्र छोड्न थालेका छन् । एक सातादेखि कागको आवाज नसुनेको डन्डु बताउँछन् । हिउँ पर्न थालेपछि मात्रै हिँड्ने काग यो वर्ष अलि चाँडो हिँडेको उनले सुनाए । कुखुरा टिप्ने चीललगायतका पन्छीले लेक छोडेको घुन्साका डन्डुले बताए ।

‘अहिले त अब चराचुरुङ्गीको आवाज सुनिन छोड्यो,’ ३१ सय मिटर उचाइको घुन्सामा घर भएका स्थानीय धार्के शेर्पाले भने, ‘मान्छेहरूले पनि अबको १०/१५ दिनसम्ममा बस्ती छाड्छन् ।’ अहिलेसम्म ङिमा शेर्पाको परिवारले मात्रै बस्ती छोडेको उनले बताए । अलिअलि आएका पर्यटकहरू फर्किएको र अब जाडोको मौसम सुरु भएको धार्के बताउँछन् । अबको दुई/तीन महिना हिमाली क्षेत्र पूरै सुनसान हुने उनले सुनाए । ‘न चराचुरुङ्गीको आवाज आउँछ, न त पशुचौपाया हुन्छन्, हिउँले नजमाएसम्म खोलाचाहिँ स्याँ...गरेर बगिरहन्छ, त्यतिमात्रै हो,’ धार्केले भने । पहिला/पहिला जस्तो पूरै बस्ती खाली गरेर हिँड्ने चलनचाहिँ केही कम हुँदै गएको धार्के सुनाउँछन् । ‘कति घर बाहिर जाने कति घर बस्ने भन्नेचाहिँ टुंगो भएको छैन,’ उनले भने, ‘अबको १५ दिनमा हिँड्ने हिँडिसक्छन्, बस्ने बस्छन् ।’

घुन्साभन्दा माथिको बस्तीका बासिन्दा भने पूरै खाली गरेर घुन्सा झरिसकेको उनले बताए । घुन्सा र फलेका बासिन्दा होटल व्यवसाय गर्न अस्थायी घर बनाएर खम्बाछेन, पाङपेमा, रोनाक, सेलेले लगायतका ठाउँमा जाने गरेका छन् । घुन्साका बासिन्दा घरमा पूरै तालाचाबी लगाएर फले झर्ने गरेका थिए । फलेका आलु खेती लगाउने र पारिलो भएकाले हिउँ पर्ने समयसम्म उतै बस्ने गरेका थिए । सात वर्षअघि प्रहरी चौकी हिउँ पर्दा पनि गाउँमै बसेपछि गाउँले पनि क्रमिक रूपले बस्न थालेका हुन् । वरिपरि डाँडाको बीचमा रहेको घुन्साको बस्ती हिउँ परेको समय हिउँले पुरिने गरेको डन्डु बताउँछन् । पुस–माघ महिनामा दिउँसो १ बजेतिरमात्रै घाम बस्तीमा पुग्ने र ३ बजे ओझेल पर्ने हुन्छ । त्यतिबेला आगोको भरमा बस्नुपर्छ । पानी त अहिले नै जम्न थालेको धार्के बताउँछन् । हिउँ नपरेको तर चिसोले जमाएको उनले बताए । गत वर्षको मापनअनुसार यहाँको न्यूनतम तापक्रम माइनस १० डिग्री सेल्सियससम्म पुगेको थियो ।

यो वर्ष अहिलेसम्म हिउँ नपरेको स्थानीय बताउँछन् । कात्तिक पहिलो सातापछि पानी पनि परेको छैन । जिल्लाका हिमाली बस्ती घुन्सा, ओलाङचुङगोला, याङमाका बासिन्दाले हिउँदका लागि विशेष सावधानी अपनाउने गरेका छन् । पशु चौपायाका लागि पहिल्यै घाँसको व्यवस्थापन मिलाउने खोलेमा हाल्ने नुन, भुस, पिठो तयारी गर्ने गर्छन् भने मान्छेका लागि आवश्यक खाद्यान्नको जोहो भदौ असोजमै गरिसक्छन् । बर्खामा बिदा नहुने यहाँका विद्यालय हिउँदमा भने कम्तीमा अढाई महिना बिदा हुने गरेका छन् । पहिला मंसिर १५ देखि माघ अन्तिमसम्म बिदा हुने भए पनि पछिल्ला वर्ष चिसोको अनुपातअनुसार अभिभावकले निर्णय गर्न थालेका छन् । बालबालिकाले खप्न नसक्ने गरी चिसो बढे बिदा गर्न थालेका छन् ।  

( कान्तिपुर दैनिक )