News Desk
इलाम — सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को परीक्षाकै लागि झापा तथा सुनसरी जानुपर्ने बाध्यता अब भने हटेको छ । सदरमुकाममा रहेको यातायात व्यवस्था सेवा कार्यालयमार्फत लाइसेन्सका लागि लिखित र प्रयोगात्मक (ट्रायल) इलाममा नै हुने भएपछि पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज हुने अपेक्षा लिइएको छ । यसअघि सवारी लाइसेन्स लिन झापा, सुनसरीलगायत स्थान जानुपर्ने र महिनौं कुर्नुपर्ने पूर्वी पहाडी जिल्लाका सेवाग्राहीहरूलाई समय र खर्च दुवैको बचत हुने भएको छ । इलामसहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीले यहाँबाट सेवा लिन सहज हुनेछ । यसअघि झापाको बिर्तामोड र सुनसरीको इटहरीको यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यता थियो । सातामा तीन पटक परीक्षा सञ्चालन गरिने सवारी लाइसेन्सको अनलाइन फाराम भर्न तथा परीक्षा सञ्चालन गर्न मन्त्रालयबाट अनुमति प्राप्त भइसकेको कार्यालयले जनाएको छ ।
गत कात्तिक २७ बाटै अनलाइन फाराम भर्न सुरु भइसकेकाले एक चरणमा ‘ए’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडका लागि १ सय, ‘क’ वर्गको स्कुटर र मोपेडका लागि ४०, ‘बी’ वर्गको कार, जिप र डेलिभरी भ्यानमा ३०, ‘सी’ वर्गको टेम्पो र अटोरिक्साका लागि २०, ‘जे १’ वर्गको एस्क्साभेटरका लागि २०, ‘जे २’ को भ्याकहुलोडरका लागि १५ र ‘ई’ को ट्र्याक्टरमा १५ जनाको कोटा आएको कार्यालयका सूचना अधिकारी रवीन्द्र श्रेष्ठले जनाए । भौतिक पूर्वाधार मन्त्रालयबाट सवारी लाइसेन्सको परीक्षा सञ्चालन गर्ने अनुमति प्राप्त भए पनि पर्याप्त कर्मचारी नभएको कार्यालय प्रमुख छविलाल खतिवडाले बताए । ‘सेवा प्रभावलाई छरितो बनाउन अझै कर्मचारी कम छ,’ उनले भने । प्रयोगात्मक परीक्षामा कार्यालयले आफ्नै ट्रायल सेन्टर नहुँदा एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
‘कार्यालयसँगको सम्झौता बमोजिम सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्ने तयारीमा छौं,’ सेन्टरका सञ्चालक सुमन काफ्लेले भने । इलाममा रहेको यातायात कार्यालयले यसअघि लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण, बाटो इजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने, सवारीसाधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारीसाधनको प्रदूषण परीक्षण गर्ने, सेवाग्राहीबाट सवारीसाधनको कर राजस्व बुझिलिने लगायतको काम गर्दै आएको छ ।
( कान्तिपुर दैनिक )