News Desk
काठमाडौँ — उमेर समूहमा प्रतिस्पर्धी प्रायः खेलाडीको जीउडालमा एकैखाले समानता जस्तै हुन्छ । यू–१९ वाग्मती प्रदेश छनोट प्रतियोगिता भए पनि अन्य खेलाडीको तुलनामा सूर्यांशु कोइरालाको जीउडाल अलिक सानै थियो । चितवनविरुद्ध खेल्दै गर्दा सम्भवतः यो तथ्य काठमाडौं जिल्लाका खेलाडीहरूले बुझेका थिए । चितवनका ओपनिङ ब्याटर सूर्यांशुलाई अलिक कलिलै खेलाडी देखेर होला काठमाडौंका बलरहरूले शर्ट बल बर्साइरहेका थिए । एउटा शर्ट बल उनको छातीमा लागेको थियो । दुई दिनसम्म उनलाई त्यो प्रहारले दुखाइरह्यो । सूर्यांशु १४ वर्षका मात्र भए र उनी १९ वर्षसरहका खेलाडीभन्दा कम निस्किएनन् ।
उनले काठमाडौंका कौशल रूपाखेतीको एउटा यस्तै शर्ट बलमा पुल गरे, जुन बल फाइन लेगको बाउन्ड्री लाइननजिक झर्दै चौका भयो । सूर्यांशु कस्ता खेलाडी हुन् भनेर देखाउन त्यही एउटा चौका काफी जस्तो देखिन्थ्यो । उनको त्यो शटमा छुट्टै विशेषता थियो, अनि स्तर पनि । उनलाई आफ्नो पहिलो चौका प्रहार गर्न २४ बल लागेको थियो । काठमाडौंसँगको सो खेलमा ७ रनमै आउट भए पनि वाग्मती प्रदेश छनोटमा उनले देखाएको प्रदर्शनले नेपाली क्रिकेटमा ठूलो आशा देखाएको छ । उनले प्रतियोगिताका चार खेलमा सर्वाधिक १ सय ५० रन बनाए । फाइनल पुरस्कार समारोहमा पाँचवटा व्यक्तिगत पुरस्कार थिए । प्लेयर अफ द फाइनल, उत्कृष्ट ब्याटर र इमर्जिङ खेलाडी गरी तीन पुरस्कार सूर्यांशुको नाममा रहे ।
चितवनले लिग चरणका दुई खेल, सेमिफाइनल र फाइनल गरी चार खेल लगातार खेलेको थियो । टोलीका लागि यो ‘मिनी टेस्ट क्रिकेट’ जस्तै बनेको थियो । सबै चार खेलमा पहिला ब्याटिङ गरेको चितवनले झन्डै १ सय ५५ ओभर खेल्यो, त्यसमा सूर्यांशुले ९० ओभर विकेटमा बिताए । यसको अर्थ हो उनी विकेटमा समय लिन्छन् र जमेर खेल्छन् । दुवै अर्धशतक उनले ललितपुरविरुद्ध बनाएका थिए । फाइनलमा उनले ६८ रनको इनिङ्स खेल्दै ३२ औं ओभरमा उनी रनआउट भए । उनी ‘रनिङ विटविन द विकेट’ मा केही स्लो छन् । मंगलबार सुरु हुने वाईवाई यू–१९ राष्ट्रिय प्रतियोगिता सूर्यांशुलाई आफ्नो कमजोरी सुधार्ने ठूलो अवसर हुनेछ । चितवन क्रिकेट संघका उपाध्यक्ष सुदीप पिया सूर्यांशुलाई ‘ब्याटिङ भर्सन अफ सन्दीप लामिछाने’ भन्छन् । चितवनमा ७–८ वर्ष प्रशिक्षणका लागि पुगेका लेग स्पिनर सन्दीप अहिले ग्लोबल स्टार बनिसकेका छन् । प्रहरी उपरीक्षक शान्तिराज कोइराला सरुवा भएर नारायणघाट पुगेपछि उनका छोरा सूर्यांशुको चितवन क्रिकेटसँग नाता जोडिएको थियो ।
उनी आफ्ना काकाहरू विक्रम र विशालसँग १० वर्षको उमेरदेखि घरमा टेनिस बलले खेल्थे । काकाहरू आफैं क्रिकेट खेल्नेभन्दा पनि मजाले टेलिभिजन हेर्ने स्वभावका थिए । यही लतले सूर्यांशुलाई छोइसकेको थियो । क्रिकेटका नियम उनले काकाहरूसँग खेल्दा र हेर्दा बुझ्न सुरु गरिसकेका थिए । उनलाई क्रिकेट खेल्ने इच्छा जाग्यो, खेल्दा रमाइलो लाग्न थाल्यो । बुबाले उनलाई गुह्येश्वरीको ओएसिस क्रिकेट एकेडेमीमा भर्ना गरिदिए । उनले राष्ट्रिय क्रिकेट खेलाडी राजेश पुलामीसँग डेढ वर्ष त्यहाँ प्रशिक्षण लिए । पारस खड्काबाहेक उनले अन्य नेपाली खेलाडीको नाम पनि सुनेका थिएनन् । एकेडेमीमा अभ्यास त भयो, म्याच खेल्न पाएका थिएनन् । भारत गएर होस्टलमा पढ्दै प्रशिक्षण लिने भनेर बुबाले प्रस्ताव राखे । एक्लै बस्नै डराउन उनले हिम्मत गरेर हुन्छ भनेको स्मरण गर्छन् ।
भारतको हरियाणामा वीरेन्द्र सहवाग क्रिकेट एकेडेमी उनको गन्तव्य बन्यो । खेल्न, क्रिकेट सिक्न र पढ्न पाउने भए । १ वर्ष त्यहाँ बसे । दुई घण्टामात्र अभ्यास गराउने तर पढाइमा केन्द्रित गराउने दैनिकीले उनको खेल स्तर नउकस्ने भयो । कोभिड–१९ को संक्रमण र लकडाउन लागेसँगै उनी नेपाल आए । बुबाको चितवन सरुवा भएपछि उनी त्यतै लागे । चितवन जिल्लाको क्रिकेट एकेडेमीमा उनले राजु खड्कासँग प्रशिक्षण लिन थाले । लकडाउन पातलिएसँगै बिहान पढ्न मिल्ने, ट्युसनबाट पढ्न मिल्ने भए अझ राम्रो, प्रशिक्षण र खेल्न पाउने एकेडेमीको खोजीमा कोइराला परिवार लागे । भारतको भोपालमा लालबहादुर शास्त्री एकेडेमी फेला पर्यो । दिल्लीबाट सारेर भर्खर यसलाई भोपाल लगिएको रहेछ । ६ दिन क्रिकेट प्रशिक्षण गर्न र खेल्न पाउने तथा अन्य बेलामा पढ्न पाउने यस एकेडेमीमा उनले उतै बसेर पछिल्लो सात वर्ष प्रशिक्षण लिइरहेका छन् । सञ्जय भारद्वाजले सिकाउने यस एकेडेमीमा विगतमा गौतम गम्भीर, नितिश राना र उन्मुक्त चन्दले प्रशिक्षण लिएका थिए ।
एक्लै बस्न डराउने सूर्यांशु यू–१९ को प्रशिक्षणका लागि चितवनको ट्रायलमा दिल्लीबाट गोरखपुर हवाईमार्ग हुँदै एक्लै नेपाल आएका थिए । भोपालको प्रशिक्षणले उनमा यो आत्मविश्वास थपिदिएको थियो । उनलाई आफ्ना एकेडेमी प्रशिक्षक भारद्वाजको प्रशिक्षण निकै फरक लाग्यो । ‘आफ्नो जुन खेल हो त्यसैमा छाडिदिनुहुन्छ, उहाँले क्रिकेटलाई ९० प्रतिशत घाँटीमाथि र १० प्रतिशत घाँटीमुनिको खेल हो भन्नुहुन्छ,’ सूर्यांशुले भोपालको प्रशिक्षणको बारेमा भने, ‘त्यहाँ नेटमा भन्दा पनि खेलमा केन्द्रित गराइन्छ । एउटा खेलमा सय रन हान्नु, नेट्समा एक महिनाभन्दा बढी अभ्यास गरेको भन्दा बढी हो भनेर सिकाइन्छ ।’ ‘कसैलाई प्रमाणित नगर्न कहिल्यै नखेल्नु, आफ्नो खेल इम्प्रुभ गर्न खेल्नु,’ भोपालमा प्रशिक्षणमा पाएको यही दर्शन लिएर उनी नेपाल आएका हुन् । भोपाल जानुअघि नै उनले गत वर्ष सिनियर खेलाडीले खेलेको चितवन च्याम्पियनसिप खेलेका थिए । ३ खेलमा उनले क्रमशः ३८, ७ र १५ को स्कोर बनाएका थिए । त्यो ३८ रन उनले ९० बल खेली बनाएका थिए । अलिकति राम्रो बलर हुँदा उनलाई खेल्न सक्दिनँ जस्तो लाग्यो ।
स्पिनरविरुद्ध ‘स्टेप आउट’ गर्दैनथे । सूर्यांशुले यो शट नसिकेको त होइन, तर स्टेप आउट हान्नका लागि आत्मविश्वास थिएन उनीसँग । भोपाल गएपछि उनले स्टेप आउटको ड्रिल गर्न लागे । त्यही शट म्याचमा प्रयास गर्न उनलाई डर लागिरहयो । १–२ खेलमा उनले सामान्य खेल्दै अर्धशतक बनाए । तर त्यसपछिको दुई महिनामा २० भन्दा बढी म्याच खेल्दा उनले कुनैमा ३० रनभन्दा माथिको स्कोर बनाउन सकेनन् । अधिकांश खेलमा स्पिनरमै आउट भए । उनले प्रयास गर्न छाडेनन् । पाँचौं पटकमा उनी स्टेप आउट गरेर खेल्न सक्ने भए । उनको आत्मविश्वास बढ्न लाग्यो त्यसपछि । उनको इम्प्रुभमेन्टको नतिजा मैदानमा देखियो । १० खेलमा उनले ५ सय रनको हाराहारी रन बनाए । हरियाणाबाट जे उद्देश्य बोकेर उनी भोपाल पुगेका थिए, त्यो पनि पूरा गरे । उनले यो ७ महिनामा आफूले झन्डै १ सय अभ्यास खेल खेलेको जनाउँछन् । नेपाली क्रिकेटमा यही म्याच एक्सपोजरको कमी देख्छन् । भारतबाट उनी चितवनमा ‘ट्रायल दिन्छु भनेर मात्र आएका थिए । अनुभव हुन्छ, रमाइलो हुन्छ भन्ने उनमा थियो । ‘ट्रायल’ बाटै चितवन जिल्लाको खेलाडी छनोट गरिएको थियो, जुन उनले रमाइलोलाई खेलेका थिए ।
( कान्तिपुर दैनिक )