News Desk
काठमाडौँ — ७ मंसिर २०७८
काठमाडौँ , झोलुङ्गे पुल शिलान्यास कार्यक्रम सुरु हुनुअघि भूमिरमण नेपालले बिगुल तीन–चार पटक जोडले फुके । धादिङको नीलकण्ठ नगरपालिका–२ थोपल खोलामा पुल बनाइएको थियो । सोह्रघरे गाउँको चउरमा हुन गइरहेको कार्यक्रमबारे उनले वरपरका गाउँलेलाई बिगुल फुकेर भेला हुन खबर गर्दै थिए । कार्यक्रमस्थलमा गाउँलेको जमघट भयो । कार्यक्रम सुरु गरियो । सञ्चारमाध्यमको विकासपूर्व गाउँमा सूचना प्रवाहका लागि बिगुल प्रयोग गरिन्थ्यो । अहिले हात–हातमा मोबाइल छ भने अधिकांश सामाजिक सञ्जालमा जोडिएका छन् । सञ्चारका परम्परागत माध्यमहरू लोपोन्मुख हुँदा पनि नेपालले भने बिगुल फुक्न छाडेका छैनन् । झन्डै ४ दशकदेखि उनले बिगुल फुकेर गाउँलेलाई सूचना प्रवाह गरिरहेका छन् । नेपाल नीलकण्ठ–२ बसाहाका स्थानीय बासिन्दा मात्रै होइनन्, वन जोगाऔं अभियानका अगुवा हुन् ।
‘वनको खबर पुर्याउन मैले बिगुल फुक्ने कामलाई निरन्तरता दिँदै आएको छु,’ उनले भने, ‘कहिलेकाहीँ गाउँमा आपत्विपत् पर्दा या ठूलै घटना पर्दा भनेको बेला फोन सम्पर्क हुँदैन । सबैको फोन नम्बर पनि साथमा हुन्न, यस्तो बेलामा बिगुलले काम गर्छ ।’ विशेष गरी उनले वनमा आगलागी हुँदा फुकेर गाउँलेलाई सतर्कताको सूचना दिन्छन् । उनले बिगुल फुक्नेबित्तिकै वनमा केही भएको या आफ्नो ठाउँमा केही जमघट हुन लागेको गाउँलेले थाहा पाउँछन् । वन जोगाऔं अभियानकै क्रममा उनी एउटा सम्मेलनमा स्विट्जरल्यान्ड पुगेका थिए । त्यहींबाट वन संरक्षणमा बिगुल पनि एक सशक्त माध्यम बन्न सक्ने अवधारणा आएको नेपालले सुनाए । ‘२०४९ सालमा वन उपभोक्ता समूह र गाउँलेको अगुवाइमा ३५ वटाजति बिगुल भारतबाट ल्याएका थियौं,’ उनले भने, ‘त्यतिबेला सबै वन उपभोक्ता समूहलाई बाँडियो, धेरैले चलाउनै छाडे ।’
नेपालले धादिङमा वन संरक्षणको अभियानलाई समुदायको स्वास्थ्य र सरसफाइका कार्यक्रमसँग पनि जोडेका छन् । एकताका उनले गाउँको सूचना प्रवाहमा लागि डोके अडियो तथा भित्तेपत्रिका अभियानसमेत सञ्चालन गरेका थिए । सोह्रघरे, बसाहा, धोबेनी र आसपासका गाउँलेलाई उनले बिगुलमार्फत सचेत गराउँदै आएका छन् । हाल नेपाल आले छिरिङ सामुदायिक वन, भत्केपाखा सामुदायिक वन, केराबारी सामुदायिक वन, ओक्ले पाखा, डुँडे पाखालगायत धादिङका अधिकांश वन संरक्षण अभियानमा जोडिएका छन् । बिगुल फुक्ने चलनले वन संरक्षणमा गाउँलेको सहभागिता बढाउन मद्दत गरेको नीलकण्ठ–२ का वडाध्यक्ष भोजबहादुर गुरुङले बताए ।
( कान्तिपुर दैनिक )