News Desk
पोखरा — २६ मंसिर २०७८
पोखरा , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफ्नै कार्यकालमा पर्यटनको राजधानी पोखरा घोषित हुने बताएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले शनिबार पोखरामा गरेको कार्यक्रममा उनले पर्यटन व्यवसायीलाई यसका लागि प्रक्रियामा लाग्न सुझाए । ‘म काठमाडौं फर्किएपछि बजेटको व्यवस्था हुनेछ,’ उनले भने, ‘हरेक कारोबार उधारोमा होइन, नगदमा गर्न चाहन्छौं ।’ उनले पहिले पनि स्थानीयका मागबमोजिम पञ्चासे, बाराही मन्दिर, विन्ध्यवासिनी र फेवातालमा बजेट विनियोजन गरेको बताए ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाला व्यवस्थापन गर्न सिँचाइ कार्यालयले दिएको फाइल आफूले ऊर्जामन्त्रीलाई बुझाएको उनले सुनाए । पर्वतारोहण संघ मातहतको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा शनिबार वक्तृत्वकला प्रतियोगिता, अन्तर्क्रिया कार्यक्रम भएको थियो । संघका अध्यक्ष सन्तवीर लामाले कोभिडले थलिएको पर्यटनलाई उकास्न सरकारीस्तरबाटै सहयोगको खाँचो रहेको औंल्याए । कार्यक्रममा २५ पल्टका सगरमाथा आरोही कामीरिता शेर्मा र सञ्चारकर्मी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई संघले सम्मान गरेको थियो । संयुक्त राष्ट्रसंघले सन् २००३ देखि अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ । १८ औं दिवसमा यस वर्षको नारा ‘दिगो पर्वतीय पर्यटन’ रहेको छ ।
( कान्तिपुर दैनिक )