औंसाकिराले सुन्तला किसान पीडित
News Desk
Dec-12 , 2021 तारिख 12:49 बेलुका

बागलुङ — २६ मंसिर २०७८    

बागलुङ , बारीमा दुई सयभन्दा बढी सुन्तलाका बोट लगाएका बागलुङ नगरपालिका–८ का अनन्त खड्का सिजन सुरु हुँदा पनि त्यति खुसी छैनन् । बोटमा सेतो रंग देखिने पोतो लागेपछि गत वर्षको तुलनामा सुन्तला उत्पादन घटेको छ । दानामा औंसाकिरा लागेर झरेका छन् । जसले गर्दा गतवर्ष भन्दा यसपटक १५ देखि २० प्रतिशत उत्पादन घट्ने खड्काको अनुमान छ । भने, ‘बिहान उठ्दा बारीमा सुन्तला झरेर थुप्रो लाग्ने गरेको छ । झरेका सुन्तलामा औंसाकिरा देखिन थालेका छन् ।’ गत वर्ष केही स्थानमा मात्रै देखिएको औंसाकिराको समस्या अहिले भने बागलुङका अधिकांश बस्तीमा पुगेको छ । खड्काकै छिमेकी टोपबहादुर खड्का, भकुन्डेका देवीराम थापा, बिहुँका भवानी कँडेलको बारीमा पनि उस्तै समस्या छ । बागलुङ बजारदेखि तमानखोला र निसीखोलासम्मका किसानको बारीमा सुन्तला कुहिने साझा समस्या भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताए । ‘सबै ठाउँमा एउटै समस्या देखियो, त्यसैले तत्काल रोकथामका उपाय खोजी गर्दै छौं,’ पुनले भने, ‘त्यसका लागि निःशुल्क प्लास्टिकका झोल वितरण गरेर झरेका सुन्तला प्याक गर्ने र नष्ट गर्ने काम थालिएको छ ।’

तत्काल अन्य औषधि गरेर औंसाकिरा रोक्न नसकिने भएपछि झरेका सुन्तला नष्ट गर्ने मात्रै उपाय लगाएको उनले बताए । औंसाकिराकै कारण यो वर्ष जिल्लाको कुल उत्पादनमा २० प्रतिशत गिरावट आएको पुनको भनाइ छ । यकिन तथ्यांकका लागि भने अझै खोजी भइरहेको उनले बताए । केही वर्षअघिदेखि सिगानाका किसानले मात्रै २ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्थे । गाउँमै सुन्तला महोत्सवसमेत गरेका किसानले अहिले भने नोक्सानी व्यहोर्नुपर्ने चिन्तामा छन् । ‘खबर गरेपछि कृषिका प्राविधिक आउनुभएको छ, तर तत्कालको उपचार नभएकोले बाँकीलाई किराबाट बचाउने उपाय खोजेका छौं,’ खड्काले भने, ‘अर्को वर्षको उत्पादन राम्रो बनाउन सुन्तला टिपेपछि उपचार पद्धति थाल्ने कुरा छ ।’ झरेका सुन्तलाबाट निस्कने औंसाकिरा बारीको माटोमै बस्ने र फागुन चैतमा फूलमा पुग्ने भएकोले तत्काल रोकथाम चाहिएको पुनले बताए । त्यसका लागि सुन्तला टिपेपछि विषादी छर्कने तयारीसमेत उनले सुनाए ।

बागलुङ नगरपालिकाले चार वर्षदेखि सिगानामा सुन्तला पकेट क्षेत्र बनाउन ५० हजार बिरुवा रोपेको थियो । हरेक वर्ष १० हजार बढी बिरुवा रोप्दै गएपछि सिगाना र बिहुँमा मात्रै बर्सेनि ५ करोड रुपैयाँ भित्रन थालेको थियो । आगामी ४ वर्षभित्र किसानले ३० करोड मूल्यका सुन्तला बेच्न सक्ने लक्ष्यले बिरुवा बढाएका छन् । ती वडामा सुन्तला उत्पादन बढाउन अन्य रुखबिरुवा काट्ने अभियानसमेत चलेको छ । काठेखोला गाउँपालिकाले बिहुँमा उत्पादन बढाउन सुन्तलामा लगानी गरेको छ । सिगानामा दुइवटा सुन्तला भण्डार केन्द्र पनि स्थापना भएका छन् । केही समयदेखि बिहुँ र जैमिनीमा सुन्तलाको हाँगासमेत मर्ने समस्या भएको किसानले बताए । यहाँका सुन्तलादेखि ज्यामिर र निबुवालगायत फलमा पनि किरा लाग्न थालेको छ । त्यसका लागि दिगो व्यवस्थापन गर्न ज्ञान केन्द्रलाई हम्मेहम्मे परेको छ । ‘किसानको समस्या र गुनासो धेरै नै आएको छ, हामीले प्राविधिक रूपमा जिल्लाभरि नै के गर्न सकिन्छ भन्ने सोचमा छौं,’ ज्ञान केन्द्र प्रमुख भानुभक्त भट्टराईले भने, ‘किसान निराश हुन नदिने गरी पहल गर्दै छौं ।’            

( कान्तिपुर दैनिक )