News Desk
तनहुँ — २६ मंसिर २०७८
तनहुँ , लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सहरी क्षेत्रमा हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम बाक्लै भइरहेका छन् । यस्ता कार्यक्रम बर्सेनि गरिँदै आए पनि हिंसाजन्य गतिविधि भने घट्न सकेका छैनन् । पछिल्ला ३ वर्षयताको तथ्यांकलाई अध्ययन गर्दा जिल्लाभित्र लैंगिक तथा घरेलु हिंसाका घटनामा बढोत्तरी देखिन्छ । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रमसहित अभियान चलिरहेको छ । वर्षको १६ दिन यस्ता अभियान सञ्चालन गर्दै आए पनि जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र न्यायिक समितिमा आउने लैंगिक तथा घरेलु हिंसाका निवेदन भने बढ्दो छ । चालु आर्थिक वर्षको मंसिर २३ सम्म जिल्ला प्रहरीमा लैंगिक तथा घरेलु हिंसासम्बन्धी ७५ निवेदन दर्ता भएका छन् । जसमध्ये ६६ निवेदक महिला र ८ पुरुष रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । दर्ता भएका निवेदनमध्ये ३८ वटा मिलापत्र गरिएको, २२ वटा अदालत पठाइएको र बाँकी प्रक्रियामा रहेको उनले बताए ।
यस्तै, २०७७/७८ मा १ सय ५० पीडित महिला र २० जना पीडित पुरुषद्वारा निवेदन दिइएका थिए । जसममध्ये १ सय ३२ मिलापत्र, ३५ वटा अदालत पठाइएको थियो भने ३ वटा प्रक्रियामा छन् । त्यस्तै, २०७६/७७ मा १ सय १६ पीडित महिला र १३ जना पीडित पुरुषको निवेदन परेको थियो । जसमध्ये ३७ वटा अदालतीय प्रक्रियामा गएका छन् भने अन्य मिलापत्र गराइएको नायव उपरीक्षक खड्काले बताए । महिलाको हकमा श्रीमान्द्वारा कुटपिट, शारीरिक तथा मानसिक तनाव, झैझगडा र पुरुषको हकमा धनसम्पत्ति हिनामिना, परपुरुषसँगको सम्बन्धजस्ता कारणहरू देखाएर निवेदन दर्ता गर्ने गरेको उनले बताए । ‘विगत ३ वर्षको तत्थ्यांक हेर्ने हो भने वार्षिक रूपमा लैंगिक तथा घरेलु हिंसा बढेको देखिएको छ,’ उनले भने, ‘तर अहिले नागरिकस्तरमा सचेतना बढेको छ, उनीहरू सहेर बस्न चाहँदैनन् । त्यसैले कानुनी उपचारका लागि प्रहरीकहाँ आउने गर्छन् ।’ वैदेशिक रोजगारी, सामाजिक सञ्जालको गलत प्रयोग, बाह्य सम्बन्धजस्ता कारणले गर्दा हिंसा बढ्ने देखिएको उनले बताए ।
त्यस्तै, पालिकाका न्यायिक समितिमा पनि वार्षिक लैंगिक तथा घरेलु हिंसाका निवेदन दर्ता गर्नेको संख्या बढ्दो छ । बन्दीपुर गाउँपालिकामा चालु आर्थिक वर्षमा १८ निवेदन दर्ता भएकोमा ९ वटा निवेदन घरेलु हिंसासम्बन्धी रहेको गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक करुणा गुरुङले बताइन् । २०७७/७८ मा २६ वटा हिंसासम्बन्धी निवेदन दर्ता भएका थिए । ‘समाजमा हिंसा पहिले पनि हुने गर्थ्यो तर, अशिक्षा, सचेतनाका कमीका कारण बाहिर आउँदैनथे’, उनले भनिन्, ‘अहिले महिला र पुरुष दुवै हिंसामा परेपछि न्याय खोज्दै हामीकहाँ आउनुहुन्छ र हामी दुवै पक्षको कुरा सुनेर दुवै पक्षलाई मिलाउने कोसिस गर्छौं । श्रीमान् र श्रीमतीको झगडामा परिवारका अन्य सदस्य र बढी बालबालिकालाई असर पर्ने हुनाले मिलापत्रमै हाम्रो जोड हुन्छ ।’ यस्तै, ग्रामीण क्षेत्रका महिलालाई सचेत गराउनका लागि नगरपालिकाबाट अन्य समयमा पनि विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको भिमाद नगरपालिकाकी उप–प्रमुख एवं न्यायिक समितिका संयोजक शारदा खनालले बताइन् । उनले भनिन्, ‘सबैलाई कार्यक्रममा बोलाउन नसके पनि टोलटोलका अगुवा महिलालाई कार्यक्रममा सहभागी गराई उनीहरूलाई नै टोलमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लगाएका हुन्छौं ।’
( कान्तिपुर दैनिक )