News Desk
पर्सा — २६ मंसिर २०७८
पर्सा , दुई वर्षदेखि २ बिघा खेतमा व्यावसायिक केरा खेती गरिरहेका जिराभवानी–१ पिपराका किसान जितेन्द्र यादव अहिले मूल्य नपाउँदा निराश छन् । सस्तो मूल्यमा भित्रिने भारतीय केरासँग प्रतिस्पर्धा गर्न नसक्दा उनले लागत उठाउन नसकेको गुनासो गरे । ‘व्यापारीहरू खेतसम्मै केरा किन्न त आइपुग्छन्, तर भाउ उनीहरूले तय गर्छन्,’ यादव भन्छन्, ‘हामीसँग प्रतिदर्जन १२ देखि २० रुपैयाँमा किन्छन्, उपभोक्तालाई ८० रुपैयाँ दर्जनमा बेच्छन् ।’ बढी मूल्य तोक्न खोज्दा उनीहरूले भारतीय केरा खरिद गर्ने धम्की दिने गरेको यादव गुनासो गर्छन् । ‘व्यापारीले भारतीय केरा प्रतिकिलो ५ रुपैयाँमा सहजै पाइने बताएर धेरै मूल्य तिर्न खोज्दैनन्,’ यादव भन्छन्, ‘रहरले केरा खेती गरियो, अहिले सस्तोमा बेच्नुपरेको छ ।’ पछिल्लो समय केरा खेतीमा किसानको आकर्षण बढ्दो क्रममा रहे पनि मूल्य नपाउँदा किसान निराश भएर यो खेती नै त्याग्ने गरेको यादव बताउँछन् ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरका अर्का किसान सूर्य फिउवाले भारतीय केरासँगको प्रतिस्पर्धा अन्त्य नभएसम्म नेपाली केराले सहजै मूल्य नपाउने बताए । उनले १६ बिघामा केरा खेती गर्दै आएका छन् । आफूले मालभोग जातको केरा लगाएको र यसलाई बजारको समस्या नरहे पनि यसै जातको भारतीय केरा भित्रिँदा अत्यधिक प्रतिस्पर्धा गर्नुपरेको उनले बताए । भारतमा केरा खेतीको लागत तथा श्रमिकसमेत तुलनात्मक रूपमा सस्तो पर्ने भएकाले मूल्य पनि कम भएको उनको भनाइ छ । केराको न्यूनतम मूल्य निर्धारणका साथै बजार व्यवस्थापनको काममा सरकारी हस्तक्षेप भइदिए आफू जस्ता धेरै किसान लाभान्वित हुने फिउवा बताउँछन् । ‘यो नगदेबाली हो, यसलाई सरकारीस्तरबाटै संरक्षण र प्रोत्साहन आवश्यक छ,’ उनले भने, ‘यसो हुँदा नेपाल केरामा आत्मनिर्भर भई भारतबाट आयात प्रतिस्थापनसमेत हुन जान्छ ।’
केरा किसानले स्थानीय तहबाट कुनै पनि खाले प्राविधिक सहयोगसमेत पाएका छैनन् । यादवले आफूले २ वर्षयता पटकपटक गाउँपालिकाको कार्यालय धाउँदासमेत आवश्यक सल्लाह सुझाव दिने कृषि विज्ञ कर्मचारी नपाएको गुनासो गरे । ‘एक त हामीजस्ता किसानलाई बालीमा हुने समस्या तथा औषधि आदिबारे सही जानकारी दिने कृषि प्राविधिक नै भेटिँदैनन्,’ उनले भने, ‘त्यसमाथि बालीमा हाल्ने औषधि चितवन र काठमाडौंबाट ल्याउनुपर्ने बाध्यता छ ।’ हाल पर्सामा करिब ७५ बिघामा केरा खेती गरिएको कृषि ज्ञान केन्द्र पर्साको तथ्यांक छ । यस वर्ष थप २५ बिघामा खेती भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत श्यामकिशोर प्रसादले जानकारी दिए । उनका अनुसार जिल्लाका बहुदरमाई, फुलकौल, भेडिहारीमा यस वर्ष केरा खेती बढेको छ । तर वीरगन्ज महानगरबाहेक अन्य पालिकामा कृषि प्राविधिकको अभाव रहेको उनले बताए । किसानलाई सल्लाह सुझावको आवश्यकता परे कृषि ज्ञान केन्द्रमा नै आउन उनले आग्रह गरे ।
( कान्तिपुर दैनिक )