News Desk
परासी — २६ मंसिर २०७८
परासी , पछिल्लो समय दुना–टपरीको व्यावसायिक प्रयोग बढ्न थालेको छ । धार्मिक कार्यदेखि होटल तथा रेस्टुरेन्टमा प्लास्टिकको प्लेटको विकल्पका रूपमा यसको प्रयोग बढेपछि व्यावसायिक उत्पादन सुरु भएको हो । वनमा सहजै उपलब्ध हुने सालको पातबाट सामान्य प्रविधि प्रयोग गरेर दुना–टपरी उत्पादन गर्न सकिने भएपछि पश्चिम नवलपरासीको सुनवलका महिलाले उद्योग नै सञ्चालन गरेका छन् । बजारमा यसको माग उच्च भएकाले माग थेग्न हम्मेहम्मे परेको सुनवलकी शान्ति पुनले बताइन् । ‘सुरुमा के होला जस्तो लाग्थ्यो तर अहिले बुटवलदेखि काठमाडौंसम्म माग छ । मागअनुसारको उत्पादन गर्न सकेका छैनौं,’ उनले भनिन्, ‘जनशक्ति थप गरेर गाउँगाउँबाट महिलाले टिपेका पात खरिद गर्ने गरेका छौं ।’
प्लास्टिकका भाँडाकुडाको विकल्पमा पछिल्लो समय दुना–टपरीको प्रयोग बढ्दै गएको हो । प्राकृतिक वस्तु, वातावरणमैत्री र आकर्षक भएकाले दुना–टपरीको माग बढेको स्थानीयले बताए । सुनवलको दिदी–बहिनी टपरी उद्योगमा यहाँका महिलाले दिउँसोको समय उपयोग गर्दै आएका छन् । स्थानीय महिलाले रोजगारी पनि पाएका छन् । पूजा सामग्री पसल तथा होटल सञ्चालकहरूबाट दैनिक झन्डै ४० हजार दुना–टपरीको माग भएको भए पनि मागअनुसारको ५० प्रतिशतमात्र उत्पादन गर्न सकिएको दिदी–बहिनी टपरी उद्योगकी सञ्चालक शान्ति पुनले बताइन् । यस उद्योगमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ४० जना महिलाले सालका पात संकलन गरेर आय आर्जन गर्दै आएका छन् । जिल्लामा मेसिनको प्रयोग गरी दुना–टपरी उत्पादन गर्ने एउटा मात्र उद्योग भएकाले मागअनुसारको आपूर्ति हुन नसकेको हो ।
( कान्तिपुर दैनिक )