शिक्षकको रकम फिर्ता
News Desk
Dec-12 , 2021 तारिख 01:22 बेलुका

रौतहट — २६ मंसिर २०७८   

रौतहट , कोरोना नियन्त्रणका लागि स्थानीय शिक्षकबाट सहयोग स्वरूप उठाएको रकम चन्द्रपुर नगरपालिकाले एक वर्षपछि फिर्ता गरेको छ । कोरोना नियन्त्रणमा रकम खर्च नभए पनि नगरपालिकाले त्यतिकै राखेको थियो । शिक्षकहरूको दबाबपछि रकम फिर्ता गरेको हो । संक्रमण बढेपछि नगरपालिकाको शिक्षा शाखाका उपसचिव कृष्ण सिग्देलको निर्देशनमा नगरक्षेत्रका विद्यालयमा कार्यरत शिक्षकबाट १० लाख २६ हजार रुपैयाँ उठाइएको थियो ।

तर संक्रमण नियन्त्रणमा रकम खर्च नभएपछि शिक्षकहरूले चासो लिएका थिए । तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई शिक्षकले मौखिक जानकारी गराएपछि उनले खर्च नभएको भए फिर्ता गर्न भने पनि नगरले आलटाल गर्दै आएको थियो । जनज्योति मावि चन्द्रनिगाहपुरका सहायक प्रधानाध्यापक देवनारायण हुमागाईंले पटकपटक ताकेता गर्दा कुनै सुनवाइ नभएको र आन्दोलन गर्ने भनेपछि रकम फिर्ता गरेको बताए ।     

( कान्तिपुर दैनिक )