News Desk
काठमाडौँ — नेपाल र भारतमा कोरोनाको नया भेरियन्ट ओमिक्रोन संक्रमण फेला परेसँगै वीरगन्ज नाकामा सतर्कता बढाइएको छ । मंसिर २० देखि यहास्थित सीमामा भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य परीक्षणसँगै एन्टिजेन परीक्षणसमेत गर्न थालिएको हो । सीमास्थित हेल्थ डेस्ककी प्रमुख डा. अनिशा महतोले भारतका विभिन्न सहरमा ओमिक्रोन संक्रमितहरू फेला पर्न थालेदेखि नै नाकामा विशेष सतर्कता अपनाइएको बताइन् । उनका अनुसार हाल दैनिक १ सयदेखि १ सय १५ जनासम्मको एन्टिजेन परीक्षण भइरहेको छ । ‘हाम्रो लक्ष्य दैनिक कम्तीमा १ सय ५० जनाको एन्टिजेन परीक्षण गर्ने छ, बिस्तारै बढाउँदै पनि लग्छौं,’ उनले भनिन्, ‘जेठयता हालसम्म यो नाकामा भारतबाट प्रवेश गर्नेहरूमध्ये एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।’
एन्टिजेन परीक्षणमा पनि भारतका विभिन्न सहरबाट आई लगत्तै नेपाल प्रवेश गर्नेहरूलाई बढी लक्षित गरिएको उनले बताइन् । ‘दैनिक भारतका विभिन्न सहरबाट सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेसनमा रेल आइरहेको हुन्छ, ती रेलमा मजदुरी तथा अन्य प्रयोजनले भारत गएर फर्कने नेपालीहरू पनि ठूलो संख्यामा हुन्छन्,’ उनले भनिन्, ‘त्यसरी सीमा पारि रेल आउने समय मिलाएर हामीले बढी सतर्कता अपनाउने गरेका छौं ।’ शंकास्पद र भारतको ठूला सहर तथा ओमिक्रोन संक्रमित भेटिएका राज्यहरूबाट फर्किनेहरूलाई अनिवार्य रूपमा एन्टिजेन परीक्षण गर्ने गरिएको उनले बताइन् ।
कोरोनाको पहिलो लहरदेखि नै यो सीमामा भारतबाट आउनेहरूको एन्टिजेन परीक्षण गर्ने गरिएको थियो । पछिल्लो समय नेपाल र भारत दुवै मुलुकमा कोरोनाको दोस्रो लहरको प्रभाव घटेपछि एन्टिजेन परीक्षण पनि घटेकामा फेरि बढाइएको उनले बताइन् । ‘जेठपछि दैनिक ५० देखि ५५ जनासम्मको एन्टिजेन परीक्षण गर्दै आएका थियौं,’ उनले भनिन्, ‘मंसिर २० यता भने बढाएर दैनिक १ सय १५ सम्म पुर्याएका छौं ।’ डेस्कको टिममा हेल्थ असिस्टेन्ट, ल्याब कर्मचारीसमेत गरी १० जना छन् । वीरगन्ज महानगरले डेस्क सञ्चालन गरेको हो । यता, धनुषाको नाकामा भने कुनै सतर्कता अपनाइएको छैन । सीमा नाकामा सहजै आउजाउ भइरहेको छ । बुधबार जनकपुरमा आयोजित रामसीता विवाहोत्सवमा पनि बिना कुनै स्वास्थ्य जाँच भारतबाट ठूलो संख्यामा भक्तजन आएका थिए । उनीहरू कसैले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएका थिएनन् । स्वदेशी भक्तजनहरूले पनि त्यस्तो मापदण्ड अपनाएको पाइएन । यसले संक्रमणको जोखिम बढाउने विज्ञहरूको चिन्ता छ ।
सरकारले नेपाल–भारत बोर्डर खुला गर्ने निर्णय गरेपछि नेपाल प्रवेश गर्दा हुने स्वास्थ्य परीक्षणसमेत रोकिएको छ । नाकामा हेल्थ डेस्क राखिएको छैन । नेपाल प्रवेश गर्नेको विवरण र तथ्यांकसमेत छैन । अन्य जिल्लाको ठूलो नाकामा हेल्थ डेस्क सञ्चालन भए पनि धनुषाका नाकामा हाल हेल्थ डेस्क सञ्चालनमा नआएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले बताए । ‘धनुषामा कोरोना रोकथाम तथा नियन्त्रणको कुनै प्रयास भएको छैन’, सीडीओ बाँस्तोलाले भने, ‘यहाँ संक्रमितको संख्या न्यून छ । तर, नयाँ भेरियन्ट आएपछि सतर्कता अपनाउनुपर्ने देखिएको छ ।’ उनले केही दिनभित्रै नाकामा हेल्थ डेस्क स्थापना गरी नेपाल आउनेको स्वास्थ्य परीक्षण गरिने जानकारी दिए ।
( कान्तिपुर दैनिक )