गुप्तचरहरूलाई सूचना प्रविधिको चुनौती
News Desk
Dec-12 , 2021 तारिख 02:03 बेलुका

काठमाडौँ — जासुसी वा गुप्तचरलाई विश्वको दोस्रो पुरानो पेसा मानिन्छ । तर, सूचना प्रविधिको जमानामा गुप्तचरका रूपमा काम गर्नु चुनौतिपूर्ण बन्दै गएको यस क्षेत्रमा आबद्धहरूले बताउन थालेका छन् । हरेक व्यक्तिको डिजिटल पदचाप सजिलै ट्रयाक गर्न सकिने भएकाले अहिले पहिचान लुकाएर वा भेष बदलेर काम गर्नु असम्भव जस्तै भएको तिनको अनुभव छ । अमेरिकी पत्रकार वारेन स्ट्रोबेलले यस विषयमा लामो खोजी गरेका छन् । केही समयअघि वाल स्ट्रिट जर्नलमा छापिएको उनको लेख अनुसार सूचना प्रविधि, इन्टरनेट, पत्रकारिता र निजी गुप्तचर संस्थाहरूका कारण अहिले विश्वमा गोप्य कुरा धेरै बाँकी छैनन् । ‘एयरपोर्टमा बायोमेट्रिक स्क्यानरहरू राखिएका हुन्छन्,’ उनले एक पडकास्टमा भनेका छन्, ‘रेटिना, औंठाछापहरू स्क्यान गरिने भएकाले सीमा सुरक्षा हेर्नेहरूले हरेक व्यक्ति को हो भनेर ठ्याक्कै पत्ता लगाइहाल्छन् ।’

आफ्ना गोप्य मिसनमा जासुसहरूको मूल उद्देश्य नै कसैबाट नचिनिइकन सूचनाहरू संकलन र सम्प्रेषण गर्ने हुन्छ । तर, आधुनिक प्रविधिले यो काम गर्न अप्ठ्यारो पारेको तिनले बताउने गरेका छन् । मान्छेका हरेक गतिविधि उसले बोक्ने मोबाइल फोनबाटै निगरानी हुने र कार तथा गाडीहरूको टेलिमाटिक्स डिभाइसले को, कहाँ, कुन गतिमा, कुन दिशातर्फ गइरहेको छ भन्ने थाहा हुन्छ । यस्तोमा देश र राजनीतिकर्मीमाथि जासुसी गर्ने स्वदेशी तथा विदेशी जासुसलाई चुनौति थपिनु स्वभाविकै हो । उदाहरणका लागि– सन् २०१७ मा उत्तर कोरियाली नेता किम जोन–उनका सौतेनी भाइको मलेसियामा हत्या हुनुभन्दा केही दिनअघि उनी संदिग्ध अमेरिकी गुप्तचर अधिकारीसँग बैठकमा रहेको कुरा बसेकै होटेलको सुरक्षा क्यामरामार्फत् थाहा भएको थियो । गत डिसेम्बरमा बेलिङक्याट नामक खोजमूलक वेबसाइटले रुसका विपक्षी नेता एलेक्सी नभाल्नीको ‘विष सेवन’मा रुसी जासुसहरूको संलग्नता रहेको देखाउन फोन र यात्रा डाटाको प्रयोग गरेको थियो ।

जासुसी क्यामरा, मोबाइल ट्रयाकिङ, बायोमेट्रिक्स स्क्यान, साइबर ह्याकिङ लगायत विविध प्रविधिबाट गरिने निगरानीले काममा व्यवधान थपेपछि जासुसहरूले यसको पनि समाधान खोजेका छन् । तर, समाधानका ती उपायबारे आफूले रिपोर्टिङ गर्ने क्रममा सीआईए र अन्य अमेरिकी गुप्तचर निकायका अधिकारीले धेरै खुलाउन नचाहेको पत्रकार स्ट्रोबलले पडकास्टमा भनेका छन् । ‘मलाई लाग्छ अचेल थुप्रै प्रतिनिगरानी (काउन्टरसर्भेलन्स) प्रविधि विकास भइरहेका छन्,’ उनले भनेका छन्, ‘एक ठाउँमा भएको बेला अर्कै ठाउँको लोकेसन देखाउने मोबाइल फोन, सीसी क्यामरा कहाँ–कहाँ राखिएका छन् भनेर नक्सांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सका डिभाइसहरू बनेका छन् ।’ जासुसी गर्ने र जासुसीबाट जोगिन चाहने, दुवैतर्फका सदस्यले एआई प्रविधिको व्यापक प्रयोग गर्ने गरेको स्ट्रोबलको भनाइ छ । जासुसीको काममा प्रविधिले सहजता र अप्ठ्यारो दुवै थपेको देखिन्छ । कतिपय काम प्रविधिले नै गर्ने वा प्रविधिमार्फत् गरिने भए पनि गुप्तचर अधिकारीको आवश्यकता सधै रहिरहने बताइन्छ । उदाहरणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको सिमानामा हाल कुन आशयले सेना तैनाथ गरेका हुन् भनी बुझ्न गुप्तचर नै चाहिने स्ट्रोबलको भनाइ छ ।

‘यो काम साइबर ह्याकिङबाट सम्भव छैन,’ उनले भनेका छन्, ‘यसका लागि फस्र्ट–ह्यान्ड सूचना हात पार्न सक्ने मानवीय स्रोतकै खाँचो पर्छ ।’ जासुसीको यो नयाँ युगमा अधिनायकवादी देश वा खुफिया एजेन्सीलाई बढी फाइदा हुने स्ट्रोबेलको लेखमा भनिएको छ । इन्टरनेट, देशको सिमाना वा मानिसका व्यक्तिगत विवरणमा उनीहरूको अधिक नियन्त्रण हुने भएकाले जासुसी वा गुप्तचरीको काम त्यस्ता देशमा पक्कै सहज हुँदैन । त्यो अवस्थामा कपितय देशले आफ्ना गुप्तचरलाई कुटनीतिज्ञका रूपमा गन्तव्यमा पठाउने गरेको स्ट्राबेललको भनाइ छ । ‘उनीहरू दिनभर दूतावासमा काम गर्छन् तर वास्तविक काम गुप्तचर अधिकारीको हुन्छ,’ उनले पडकास्टमा भनेका छन्, ‘स्मार्टफोन, बायोम्याट्रिक्स, क्यामराहरूद्वारा गरिने निगरानीका कारण यस्तो उपाय अपनाइएको हुन सक्छ ।’               

( कान्तिपुर दैनिक )