बस दुर्घटनामा एकको मृत्यु, २५ जना घाइते
News Desk
Dec-12 , 2021 तारिख 02:07 बेलुका

सिन्धुपाल्चोक — विवाहको जन्ती लिन काठमाडौंबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको बिन्जेल गाउँ जाँदै गरेको यात्रुवाहक बस शनिबार साँझ माझगाउँमा पल्टिँदा एकजनाको मृत्यु भएको छ । अरु २५ जना घाइते भएका छन् । अरनिको राजमार्गअन्तर्गत कोठे बिन्जेल सडकखण्डमा बा २ ख ५६१४ नम्बरको जुगल यातायातको बस अनियन्त्रित भएर सडकबाट तल खसेको हो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार बस सडकबाट ७ मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा बसका चालक बलेफी गापा ६ का ३५ वर्षीय लवाङदोर्जे तामाङ (राजु ) छन्। तामाङ आफैं बसका मालिक पनि हुन् । बसमा सवार २६ जनामध्ये टाउकोमा चोट लागेकी एक बलेफी गापा ६ की ६ वर्षीया सुप्रिया भुजेलको अवस्था गम्भीर भएपछि काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । ‘धुलिखेल अस्पताल नै लगिएका २५ घाइतेमध्ये ८ जना डिस्चार्ज भइसकेका छन्, बाँकीको स्वास्थ्य सुधारोन्मुख भएको पाइएको छ,’ उनले भने । अधिकांश घाइतेको अनुहार, हातमुख, खुट्टामा चोट लागेको छ ।         

( कान्तिपुर दैनिक )