News Desk
काठमाडौँ — हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गत राति मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए । घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए । 'हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे,' उनले भने, 'खगिलाई भाग्ने क्रममा हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौं, अस्पताल पुर्याउँदा ज्यान गयो ।'
शिवरमा रानाका श्रीमती, बुहारी र नातिनतिनासँग बस्दैआएका थिए । हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइदिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८: ३० बजे १५ बढीका सङ्ख्यामा छावासहितको जंगली हात्तीको बथान शिविरमा छिरेको उनको भनाइ छ । हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै एकै ठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ । शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुङ्गाका बासिन्दाकोसमेत घर भत्काइदिएको वडाध्यक्ष फूलाराम चौधरीले बताए । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए ।
( कान्तिपुर दैनिक )