News Desk
काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी एवम् समाजसेवी तेजेन्द्र शर्मा पौडेल नेपालका लागि न्यु स्पेनको अवैतनिक दुतमा नियुक्त भएका छन् । उनी आईयुकेएसी सरकार र उक्त साम्राज्यका सार्वभौम राजा लुइडविग, अस्ट्रो हङ्गारो साम्राज्यका राजा, एनएसईएसी र अन्य राजाबाट न्यु स्पेन नेपालको मानार्थ महावाणिज्यदूतको रूपमा नियुक्त भएका हुन । पौडेललाई २ बर्षका लागि मानार्थ महावाणिज्यदूतमा नियुक्ती दिईएको छ । उनको कार्यकाल २९ नोभेम्बर २०२१ देखी २९ नोभेम्बर २०२३ सम्मको लागि तोकिएको छ ।
को हुन पौडेल ?
तेजेन्द्र शर्मा पौडेल नेपालका प्रतिष्ठित व्यवसायी हुन । उनी विगत ३० बर्ष देखी यस क्षेत्रमा कृयाशिल छन् । उनको जन्म वि स २०३० सालमा साबिकको पर्वत स्थित आरुचौरमा भएको हो ( हाल आरुचौर स्याङजामा समेटिएको छ ) । उनका पिताको नाम हेम शर्मा पौडेल र आमाको नाम हेम कुमारी पौडेल हो । पौडेलले त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र कलेजबाट मानविकी संकायमा स्नातक गरेका छन् ।
गाउँले पर्यटन -नेपाल अर्थात भिटोनका राष्ट्रिय अध्यक्ष रहेका पौडेल एक्रस वर्ल्ड ट्राभल प्रालिका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत, एसिया नेपाल होलिडे प्रालिका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत र नेपाल भिलेज स्टे कम्पनीका अध्यक्ष हुन । पौडेल नेपालका लागि युक्रेनको सार्वभौम शाही सदनको बाणिज्यदुत र युनाईटेड नेसन्स पिस किपर फेडरल काउन्सिल अर्थात युएनपिकेएफसि (एसिया प्यासेफिक क्षेत्र) को बरिष्ठ सल्लाहकार समेत हुन । उनले नेदरल्याण्ड स्थित कुरोदैया इन्टरनेशनल फेडेरेशनको दुतका रुपमा पनि काम गर्दै आएका छन् । पौडेललाई नेपाल सरकार मन्त्री परिषदले नेपाल भ्रमण बर्ष २०२० को आयोजक कमिटि सदस्यमा नियुक्त गरेको थियो । गत महिना मात्रै उनी अन्तरराष्ट्रिय स्तरको युएन पिकेएफसी हुमेनिटेरियन लिडरशिप अवार्डबाट सम्मानित भएका थिए ।
प्रष्ट विचार भएका पौडेल स्पष्ट वक्ता समेत मानिन्छन् । हक्की स्वभाव र निडरपना उनका सबल पक्ष हुन । पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाका निकट पारिवारिक सदस्य उनी नेपालको शाही खानदान र राणा परिवारसँग पनि उत्तिकै नजिक छन् । यद्यपी उनी कही कतै जोडिएर भन्दा पनि आफुलाई स्वतन्त्र विचारक र राष्ट्रवादी व्यक्तीको रुपमा परिचित गराउन चाहन्छन् । उनी आफना पितालाई आदर्श मान्छन् । सैनिक अस्पतालमा कार्यरत पिताको मेहनत प्रति आफु नतमस्तक हुने गरेको उनको भनाई छ ।