मंगलबारको संसद् बैठक एमालेले अवरोध गर्ला ?
News Desk
Dec-14 , 2021 तारिख 11:07 बिहान

काठमाडौँ — २८ मंसिर २०७८   

काठमाडौँ , सरकारले मंगलबारबाट सुरु हुने संसद् अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौता अघि बढाउने अनुमान सांसदहरूले गरेका छन् । संसद् सचिवालयले सोमबार सार्वजनिक गरेको बैठकको कार्यसूचीमा भने एमसीसीलाई राखिएको छैन । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार २ बजे १० औं अधिवेशन आह्वान गरेकी छन् । संसद् सचिवालयले बैठक बस्नु दुई घण्टाअघि १२ बजे संसद् भवन बानेश्वरमै कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको छ । बैठकमा पेस हुने विषयको प्राथमिकता तथा समयावधिको निर्धारण गर्न सभामुखको अध्यक्षतामा परामर्श समितिको बैठक राख्ने गरिन्छ । प्रमुख प्रतिपक्षी एमालेले भने आफ्ना माग पूरा नभएको भन्दै संसद्मा अवरोध जारी राख्ने जनाएको छ ।

संसद्को नवौं अधिवेशन सुरु भएको भदौ २३ देखि अन्त्य भएको कात्तिक ११ सम्म नै एमालेले अवरोध गरेको थियो । अवरोधका बीच सरकारले संसद्बाट बजेटसम्बन्धी चार विधेयक पारित गरेको थियो । एमालेले आफ्ना १४ सांसदलाई कारबाहीको सूचना सभामुखले नटाँसेको विरोधमा संसद् अवरोध गरिरहेको हो । सभामुख एमालेप्रति पूर्वाग्रही बनेकाले संसद् अवरोध यथावत् राख्ने एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए । ‘संसद् अधिवेशन आह्वान भएको छ, बैठकमा हाम्रो अवरोध यथावत् रहन्छ,’ उनले भने । संसद् अधिवेशन अन्त्य भएको साढे दुई महिनामा पनि सरकार, संसद् र प्रमुख प्रतिपक्षबीच अवरोध अन्त्य गर्नेबारे छलफलसमेत हुन सकेको छैन । 

‘हामीले राखेको माग सुनुवाइका लागि अहिलेसम्म कुनै छलफल नै भएन,’ नेम्वाङले भने । एमालेले संसद्मा कस्तो रणनीति अपनाउने भन्ने छलफल गर्न मंगलबार संसदीय दलको बैठक बोलाएको छ । संसद् सचिवालयले सोमबार जारी गरेको कार्यसूचीअनुसार मंगलबारको बैठकमा दुई साताअघि जारी भएको नेपाल प्रहरी, तेजाब तथा घातक रासायनिक पदार्थसम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने, रेल्वे, यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने र सामाजिक सुरक्षा अध्यादेश पेस गर्ने कार्यसूची छ । त्यस्तै अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची छ ।    

 ( कान्तिपुर दैनिक )