News Desk
मोरङ — २८ मंसिर २०७८
मोरङ , विराटनगर महानगरका प्रमुख भीम पराजुलीले एक निजी गुठीको जग्गा हडपेर स्थानीय पोखरिया माध्यमिक विद्यालयलाई भाडामा दिएका छन् । सितलु मडर राजवंशीले खरिद बिक्री नहुने गरी सत्यनारायण मन्दिरको नाममा निजी गुठीमा दिएको विराटनगर–३ कञ्चनबारीस्थित जग्गामा उक्त विद्यालयले भवन बनाउन लागेको हो । मन्दिरको नाममा रहेको ७ बिघा १० कट्ठा १७ धुर जग्गामध्ये औषधि व्यवस्था विभागको कार्यालयसँगै जोडिएको पश्चिमपट्टिको कित्ता नम्बर ३(ख) २१८३ को १ बिघा ५ कट्ठा १३ धुरमा जग्गामध्ये पूर्व–उत्तरतर्फबाट ११ कठ्ठा १३ धुर जग्गा पराजुलीले विद्यालयलाई दिएका हुन् । उक्त जग्गा महानगरबाट ९० वर्षका लागि लिजमा लिएर पोखरीया माविले १२ करोड लागतमा भवन निर्माण थालेको छ । उक्त माविका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार मन्दिरका अध्यक्ष बल्लभप्रसाद अधिकारीबाट ९९ वर्षका लागि विराटनगर महानगरले लिजमा लिएको उक्त जग्गा विद्यालयलाई ९० वर्षका लागि हकभोग गर्न दिएको हो ।
उनले २०८२ सालसम्ममा संघीय, प्रदेश र महानगरको संयुक्त लगानीमा ५ वटा भवन निर्माण गर्ने योजना रहेको बताए । ‘विराटनगर ४ स्थित विद्यालय परिसर क्षेत्र साँघुरो रहेको र बर्सेनि विद्यार्थी संख्या बढ्दै गएकाले महानगरले उपलब्ध गराएको जग्गामा नयाँ भवन निर्माण गर्न लागेका छौं,’ प्रअ भट्टराईले भने, ‘दुवै ठाउँमध्ये एकमा आधारभूत तह र अर्कोमा माध्यमिक तहको कक्षा सञ्चालन गर्ने योजना छ ।’ महानगर प्रमुख पराजुलीले नमुना विद्यालय निर्माणका लागि संघीय सरकारले विनियोजन गरेको २ करोड बजेटले भवन निर्माण सुरु गरिएको बताए । उनले डीपीआर तयार गरेर भवन निर्माण थालिने बताए । अहिले उक्त जग्गा लिजमा लिएर विद्यालय भवन निर्माण सुरु गरिएको र पछि मन्त्रिपरिषद्को निर्णयबाट विद्यालयको नाममा कायम गर्ने योजना रहेको पराजुलीको भनाइ छ । विद्यालयले तत्काल उक्त जग्गामा पर्खाल लगाउने कार्य सुरु गरेको छ ।
पराजुलीले मंगलबार उक्त जग्गामा विद्यालय भवनको शिलान्यास गर्न लाग्दा राजवंशी समुदायले विरोध गरेका थिए । अवरोध हटाउन महानगर र विद्यालयले मन्दिरको पुजारी परिवारका लागि २ कट्ठा जग्गा र जागिर दिनेलगायतको सहमति गरेर शिलान्यास गरेको छ । मन्दिरको नाममा रहेको दुई अर्बभन्दा बढी मूल्य बराबरको ७ बिघा १० कट्ठा १७ धुर जग्गामा भूमाफिया, व्यापारी, उद्योगपति, विराटनगर महानगर कार्यालय र प्रदेश सरकारले आँखा गाडेको स्थानीयको आरोप छ । राजमार्गसँगै जोडिएको औषधि व्यवस्था विभाग जाने सडकभन्दा दक्षिणपट्टिको खाली जग्गा कित्ता नम्बर ३(ख) २२६ को २ बिघा ३ कट्ठा ४ धुर र विभागको पश्चिमपट्टिको कित्ता नम्बर ३(ख) २१८३ को १ बिघा ५ कट्ठा १३ धुर जग्गा अनेक प्रपञ्च गरेर महानगरले ९९ वर्षका लागि लिजमा लिएको खुलासा भएको छ । उक्त जग्गामध्ये दुई बिघा जग्गा उद्योग संगठन मोरङलाई औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि महानगरले ९९ वर्षका लागि लिजमा दिइसकेको छ । महानगर प्रमुख पराजुलीले जग्गा खाली गराउन अनेक डर, त्रास, धाकधम्की दिँदै आएको मन्दिरका पुजारी ताराचन्द राजवंशीले गुनासो पोखे ।
मन्दिरको नाममा रहेको ३(ख) को २२४ नम्बर कित्ताको १ बिघा जग्गा बाल सुधार गृह सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई दिएको छ । २०६३ भदौ १७ मा सत्यनारायण मन्दिरका संरक्षक तथा अध्यक्ष गणेशी राजवंशी र जिल्ला प्रशासन कार्यालय मोरङका तत्कालीन प्रमुख मोदराज डोटेलबीच उक्त जग्गा बाल सुधार गृह स्थापनाका लागि हकभोग गर्न दिने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रको ३ नम्बर बुँदामा ५ बर्षभित्र बाल सुधार गृह सञ्चालन नभए मन्दिरकै हकभोग कायम हुने उल्लेख छ । बाल सुधार गृह सञ्चालनकालागि मन्दिरसँग लिएको जग्गामध्ये केही जग्गामा महिला तथा बालबालिका कार्यालयको भवन निर्माण गरेर सञ्चालन गर्दै आएको थियो तर उक्त कार्यालय संघीयता कार्यान्वयनसँगै खारेज भइसकेको छ । कार्यालय खारेज भएसँगै घर र जग्गासमेत मन्दिरको हक भोगमा आउनुपर्ने हो तर अहिले प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले अवैध रूपमा बसोबास थालेको छ । २०३० मंसिर १३ मा तत्कालिन कञ्चन बारी गाउँ पञ्चायत–३ का निःसन्तान ६१ वर्षीय शीतलु मड्र राजवंशीले खरिद बिक्री नहुने गरी उक्त जग्गा सत्यनारायण मन्दिरको नाममा रजिस्ट्रेसन पास गरिदिएका थिए । कञ्चनबारीका तत्कालीन जमिनदार राजवंशीको अन्य ठाउँमा पनि धेरै जग्गा जमिन रहेको र उक्त जग्गा खाने कोही नभएकोले उनको घरमा काम गर्दै आएका गणेशी राजवंशीलाई धर्मपुत्र बनाएको स्थानीय बताउँछन् । शीतलुको मृत्युपछि मन्दिरको संरक्षकमा उनकी पत्नी मुन्द्रीदेवी राजवंशी रहेको उनले पनि गणेशीलाई विधिवत् धर्मपुत्र बनाएको कागजात छ ।
( कान्तिपुर दैनिक )