२ महिनादेखि शव अस्पतालमै
News Desk
Dec-14 , 2021 तारिख 12:06 बेलुका

चितवन — २८ मंसिर २०७८   

चितवन , स्थानीयको कुटाइका कारण दुई महिनाअघि ज्यान गुमाएका भीमबहादुर विकको शव अझै भरतपुर अस्पतालको शवगृहमा छ । गत असोज २८ को बिहान विकको मृत्यु भएको थियो । भरतपुर–४ दुर्गाचोक घर भएका विकलाई दुर्गा मन्दिरआडका दुई जनाले कुटपिट गरेका थिए । मन्दिरमा बलि दिने विषयमा झगडा हुँदा घटना भएको भनिए पनि प्रहरी अनुसन्धानले भने त्यस्तो देखाएको छैन । उक्त घटनामा पक्राउ परेका स्थानीय सीताराम बस्नेत र मेडिकल सञ्चालक दिलीप श्रेष्ठविरुद्ध चितवन जिल्ला अदालतमा कात्तिक २२ मा ‘आवेश प्रेरित हत्या’ अभियोगमा मुद्दा दायर भयो । अदालतले कात्तिक २६ मा दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो । परिवारका सदस्यहरू राज्यले राहत वा क्षतिपूर्ति नदिँदासम्म शव नबुझ्ने अडानमा छन् ।

‘हामीले सुरुदेखि नै आन्दोलन गर्‍यौं । त्यही आन्दोलनको बलमा ती दुई जना धन्न कारागार गएका छन् । अब राज्यले दिनुपर्ने राहत वा क्षतिपूर्ति जे जति हो त्यो नआई कसरी शव बुझ्ने र सद्गत गर्ने ?,’ भीमबहादुरका छोरा किसनको प्रश्न छ । घटनापछि दलितसम्बन्धित विभिन्न राजनीतिक र सामाजिक संघसंस्थाले संघर्ष समिति नै बनाएर आन्दोलन गर्दै आएका छन् । समितिले जातीय विभेदका कारणले नै घटना भएको ठहर गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगको वाग्मती प्रदेश कार्यालयको अनुसन्धान प्रतिवेदनले भने ‘दुर्गा मन्दिरमा बलि चढाउने विषयमा विवाद भई जातीय विभेद भएको भन्ने कुरा हालसम्मको अनुगमनका क्रममा कहीं कतैबाट पुष्टि हुन आएको देखिएन’ भन्ने निष्कर्ष निकालेको छ ।

मृतकका परिवारको आर्थिक अवस्था नाजुक रहेको हुँदा अपराध पीडित ऐनअनुसार क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको छ । ‘सबै पक्षसँग छलफल गरी राहत तथा क्षतिपूर्तिका लागि गृहमा सिफारिस भइसकेको छ,’ प्रशासन कार्यालयका सूचना अधिकारी खेमराज पौडेलले भने । मन्त्रालयबाट राहत रकम उपलब्ध भए विकको अन्तिम संस्कार गर्ने संघर्ष समितिका   सदस्य देवीराम विकले बताए । ‘परिवार पाल्ने व्यक्तिको त्यसरी हत्या भएको छ । हामीहरू केही न केही राहतको प्रतीक्षामा छौं,’ भीमबहादुरकी श्रीमती विन्दुले भनिन् ।      

( कान्तिपुर दैनिक )