रूपान्तरण चाहनेहरू एक ठाउँमा नबस्नु दुर्भाग्य : कोइराला
News Desk
Dec-16 , 2021 तारिख 12:05 बेलुका

काठमाडौँ — १ पुस २०७८  

काठमाडौँ , कांग्रेसको १४ औं महाधिवेशनमा प्यानल बनाएर निर्वाचनमा भाग लिएका शेखर कोइराला समूहका नेताहरूले पार्टीमा रूपान्तरण चाहने शक्ति एक ठाउँ बस्न नसक्नु दुर्भाग्य भएको बताएका छन् । आफूले पदका लागि नभएर विचार स्थापित गर्न चाहेको उनीहरूले बताए । महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिने क्रममा बुधबार राजधानीमा आयोजित कार्यक्रममा सभापतिका प्रत्याशी कोइरालाले आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु भएको बताए । उनले पार्टीलाई विगतमा जसरी सञ्चालन हुन नदिने तर्क गरे । आफूले युवालाई अवसरको ढोका खोलेको उनको भनाइ थियो ।

भागबन्डा र गुटबन्दीमा नलाग्ने प्रतिबद्धता जनाउँदै कोइरालाले आगामी पाँच वर्ष जनताको घर–घरमा पुगेर कांग्रेसको एजेन्डा तल्लो तहसम्म पुर्‍याउने बताए । ‘म आजैदेखि कांग्रेसको रूपान्तरणका लागि घरदैलो अभियानमा सहभागी हुनेछ,’ उनले भने । आगामी महाधिवेशनसम्म कांग्रेसलाई विचारको पार्टी बनाउन लाग्नै भन्दै उनले निर्वाचनका बेला कसले के भने आफू त्यता नलाग्ने बताए । निर्वाचनमा पाएको मतका आधारमा आफूहरूले उठाएको राजनीतिक मुद्दा र विचार स्थापित भएको दाबी उनले गरे । निर्वाचन आन्तरिक प्रतिस्पर्धा भएकाले आफूले त्यसमा कसैप्रति इगो नराख्ने उनले प्रस्ट पारे ।

शेखरको उदय

नेता अर्जुननरसिंह केसीले देउवालाई झुन्डको सभापति नबन्न सुझाए । उनले पार्टी नवधनाढ्य, तस्कर र भ्रष्टहरूले कब्जा गर्न खोजेको बताए । विचार र सिद्धान्त मर्दै गएको भन्दै केसीले धन र बलका कारण राजनीति गर्न नसक्ने अवस्था सिर्जना भएको धारणा राखे । देउवाप्रति इंगित गर्दै केसीले सत्तामा पुग्न सौदाबाजी गरेको आफूलाई जानकारी भए पनि अहिले सबै विषय नखोल्ने बताए । महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले पार्टीलाई मजबुत बनाउने विषयमा सभापति देउवासँग सहकार्य हुने र पार्टी हितविरुद्ध काम भए संघर्ष गर्ने बताए । उनले दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गर्नुको कारण अनुत्तरित रहेको बताए ।

नेता बलबहादुर केसीले शेखरलाई अघि बढिरहन आग्रह गर्दै आफूहरूले निर्माण गरेको विचार समूहले पाएको मत उत्साहजनक भएको दाबी गरे । उपसभापतिका उम्मेदवार धनराज गुरुङले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने नेताहरूप्रति आक्रोश पोखे । प्रकाशमान, शशांक, निधि र सुजाताप्रति लक्षित गर्दै गुरुङले बीपी, गणेशमान, निधि र गिरिजाप्रसादका छोराछोरीले राजनीतिक नैतिकता नदेखाएको बताए । उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले पार्टी सुधारका लागि नेता राम्रो हुनुपर्ने धारणा राखे । अहिले निष्ठावान कांग्रेसको जित भएको उनले बताए । नेता रामशरण महतले पार्टीमा गुट फस्टाएको भन्दै यसको अन्त्य गर्न सभापति देउवाले भूमिका निर्वाह गर्नुपर्ने बताए । महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजालले महाधिवेशनले कांग्रेस नेताहरूको मूल्यांकन गरेको धारणा राखे ।   

( कान्तिपुर दैनिक )