News Desk
काठमाडौँ — नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले नेपाल विभिन्न पाँच कारणले गर्दा संयुक्त राष्ट्रसंघ (यूएन) को आह्वानमा भइरहेको शान्ति मिसनमा उत्कृष्ट रहेको बताएका छन् । कोन्राड एडेनउर स्टिफ्टङ (कास), कन्सोर्टियम अफ साउथ एसियन थिंक ट्यांक (कोसाट) र इन्टिच्युट अफ साउथ एसियन स्टडिज (आईएसएएस) द्वारा संयुक्त रूपमा बिहीबार आयोजित कार्यक्रममा सैनिक प्रवक्ताले यूएनमा नेपाल सफल हुनुमा पाँच कारण रहेको स्पष्ट पारेका हुन् । नेपाल यस वर्ष यूएनमा शान्ति सैनिक पठाउने मुलुकको सूचीमा बंगलादेशपछि दोस्रो नम्बरमा छ । प्रवक्ता पौडेलले उत्कृष्ट हुनुको पहिलो तत्त्व नेपाली सैनिक सधैं मिसनमा जानका लागि तयारी अवस्थामा रहने प्रस्ट पारे । ‘हाम्रो पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ४ देखि ५ हजारसम्म सैनिक तालिम लिएर सधैं तयारी अवस्थामा हुन्छन् । उनीहरुलाई आवश्यक पर्दा जुनसुकै अवस्थामा शान्ति मिसनमा खटाउन सकिन्छ,’ उनले भने ।
पौडेलले दोस्रो तत्त्वको रूपमा नेपाली सेनासँग मिसनमा जानका लागि आवश्यक सामग्री सधैं तयारी अवस्थामा रहने प्रस्ट पारे । ‘हामी उत्कृष्ट हुनुको तेस्रो तत्त्व भनेको कुनै पनि आग्रह वा पूर्वाग्रह नराखीकन शान्ति मिसनमा परिचालन हुन्छौं,’ उनले भने, ‘चौथो तत्त्व भनेको हामी निश्चित मुलुकमा परिचालित हुनेबित्तिकै त्यहाँको समुदायसँग मिलेर शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका खेल्छौं । जसले गर्दा त्यहाँका सरकार पनि हाम्रो कामलाई लिएर सन्तुष्ट छन् ।’ पौडेलले अन्तिम तथा पाँचौं महत्त्वपूर्ण तत्त्व भनेको नेपालको शान्ति मिसनमा व्यावहारिक तत्परता रहेको प्रस्ट पारे । पौडेलले नेपालका तर्फबाट यूएनका माथिल्लो तहमा पुग्नका लागि पहल हुनुपर्ने बताए । उनले भने, ‘हामी अहिले माथिल्लो तह भनेपछि फोर्स कमान्डरको मात्र कुरा गछौं तर त्यहाँभन्दा माथि पनि यूएन हेडक्वार्टरमै सुरक्षा सल्लाहकारहरु पनि हुन्छन् । त्यसमा नेपाली पनि नियुक्त हुनु उचित हुन्छ ।’
यूएनले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा सन् १९४८ देखि शान्ति सैनिक र पर्यवेक्षक खटाउँदै आएको छ । यूएनको आह्वानमा नेपालले सन् १९५८ देखि नेपाली शान्ति सैनिक द्वन्द्वग्रस्त मुलुकमा पठाउन थालेको हो । परराष्ट्र मामिलाविज्ञ दिनेश भट्टराईले अहिलेको अवस्थामा साना मुलुकको भूमिका पनि ठूला मुलुकको जत्तिकै महत्त्वपूर्ण रहन सक्ने बताए । उक्त अवसरमा भट्टराईको समेत लेख समेटिएर सार्वजनिक गरिएको ‘नेपाल्स कन्ट्रिब्युसन टु यूएन पिसकिपिङ’ (यूएन शान्ति मिसनका लागि नेपालको योगदान) नाम विशेष रिपोर्ट सार्वजनिक गरिएको थियो ।
भट्टराईले नेपालले आफ्नो क्षमता बनाउनुका साथै परराष्ट्र सम्बन्धमा व्यावसायिक क्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिए । अर्का सुरक्षा जानकार चिरनजंग थापाले नेपालको तर्फबाट यूएनमा कुनै एउटा संस्था मात्र नभएर सम्पूर्ण मुलुकको ‘होलिस्टिक एप्रोच’ ले काम गर्नुपर्ने बताए । उनले भने, ‘बंगलादेशले जसरी सम्पूर्ण संयन्त्र प्रयोग गरेर एक ढिक्का भएर यूएन मिसनमा सफलता हात पारिरहेको छ, नेपालले पनि त्यसरी नै काम गर्न आवश्यक हुन्छ ।’ कोसाट नेपालका प्रमुख निश्चलनाथ पाण्डेले सार्वजनिक रिपोर्टले नेपालको यूएन मिसनका सम्बन्धमा जानकारी दिने र यसबाट धेरै लाभान्वित हुने बताए ।
( कान्तिपुर दैनिक )