रौतहटमा नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ
News Desk
Dec-17 , 2021 तारिख 01:56 बेलुका

रौतहट — नेपाल भारत सीमा हुँदै नक्कली नोट बोकेर नेपाल प्रवेश गरेका दुई भारतीयलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित उनीहरु पक्राउ परेका हुन् । सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको परोहा नगरपालीका ८ स्थित नरकटियामा जाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित बिहारस्थित घोडासहन ग्राम श्रीपुर पंचायत कबैयाका विकाश जयसवाल र अजय प्रसादलाई पक्राउ गरेको जिल्ला प्रहरीका डिएसपि सुनील मल्लले बताए । डिएसपी मल्लका अनुसार उनीहरुको साथबाट १ हजारको दरको ६९ थान र ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो ।

दुवैलाई बुधबार साँझ पक्राउ गरे पनि प्रहरीले बिहीबारमात्रै सार्वजनिक गरेको हो । सीमाक्षेत्रबाट पैदल तथा सवारी साधनबाट आवतजावत गर्ने मानिसलाई रोकेर जाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका जयसवाल र प्रसादको साथबाट नेपाली नक्कली नोट फेला परेको हो । भारतमै नक्कली नोट बनाएर नेपालमा चलाउने हिसाबले उनीहरु आएको हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका दुवै जनालाई खोटासम्बन्धी कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरेको डिएसपी मल्लले बताए ।      

( कान्तिपुर दैनिक )